धरान। हङ्कङ नेपाली महासङ्घले कोरोना महामारीको दोस्रो चरणमा सङ्क्रमित भएर सिकिस्त हुनपुगेका नेपालीहरूका लागि दुईसय थान अक्सिजन कन्सण्ट्रेटर पठाएको छ । ती अक्सिजन कन्सण्ट्रेटर चारदिन यता सुदूर पश्चिम कर्णाली प्रदेशका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा वितरण भइरहेको छ ।

नेपालका विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर कोरोना सङ्क्रमित गम्भीर बिरामीहरूका लागि पहिलो चरणमा सय थान अक्सिजन कन्सण्ट्रेटर पठाइएको महासङ्घले जनाएको छ । सुविधा सम्पन्न र सहरी क्षेत्रका अस्पताललाई भन्दा ग्रामीण र विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा वितरण गर्ने उद्देश्यले महासङ्घले पहिलो चरणमा सय थान अक्सिजन कन्सण्ट्रेटर पठाएको महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेकी संयोजक रीता गुरुङले बताइन् ।

उनका अनुसार नेपालका कोरोना सङ्क्रमणको दर र मृत्यु दरमा सोचेजति कमी नआएकाले महासङ्घले हङ्कङस्थित नेपाली महावाणिज्य दुतको कार्यालय, हङ्कङ सरकार, चिनियाँ दुतावास र त्यहीँको गैरसरकारी संस्था सोअर्स एक्सनबीच समन्वय गरेर नेपालमा सय थान अक्सिजन कन्सण्ट्रेटर पठाएको हो । उनले भनिन्, ‘महासङ्घलाई २ सय थान अक्सिजन कन्सण्ट्रेटर प्राप्त भएकोमा सबै एकै पटक नेपाल पठाउने प्रयास गरेका थियौं तर, एयर कार्गो समस्याले पहिलो चरणमा सय थानमात्र पठाउन सकिएको छ । नेपालमा छिटोभन्दा छिटो ती सामान पठाउने प्रयास जारी छ । बाँकी सय थान दुई–तीन भित्रमा पठाउनेछौं । नेपालबाट आउने जहाजको पर्खाइमा छौं ।’

हङ्कङको सरकारी स्तरबाट गठित याउ चिम मोङ डिस्ट्रीक फाइट क्राइम कमिटीका उपाध्यक्षसमेत रहेकी गुरुङका अनुसार नेपाल पठाइएका ती मेडिकल उपकरण वितरणको व्यवस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानीय गैरसरकारी संस्थाहरूको समन्वयमा भइरहेको छ ।

चीनको कुनमिन सहरबाट प्रतिकन्सण्ट्रेटर १ हजार १ सय ५० अमेरिकी डलरमा दुई सय थान खरिद गरिएको र एउटैको तौल करिब ३० केजी हुने भएकाले सबै एक साथ एयर कार्गो गर्न नसकिएको पनि गुरुङले बताइन् । अक्सिजन कन्सण्ट्रेटर उपलब्ध गराउने हङ्कङको गैरसरकारी संस्था सोअर एक्सनलाई धन्यवाद दिँदै उनले अर्को चरणमा सहयोग अन्तर्गत सय थान अक्सिजन कन्सण्ट्रेटरसहित १ लाख एण्टिजेन टेष्टी किट र हेल्थ वर्कर्स तथा फ्रण्टलाइन वर्कर्सका लागि पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट (पीपीई) पठाउने तयारी पनि भइरहेको बताइन् ।

महासङ्घका पूर्व अध्यक्ष प्रदीप थापाले सकेसम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकमध्ये कम्तीमा एक थान अक्सिजन कन्सण्ट्रेटर पु¥याउने लक्ष राखेको बताए । उनले भने, ‘कोरोना सङ्क्रमणबाट गम्भीर भएका बिरामीलाई त काम लाग्ने नै छ, कोरोनापछि अरू बिरामीका लागि पनि काम लाग्नेछ ।’

महासङ्घका अध्यक्ष टङ्क रानाले महासङ्घ र सोअर्स एक्सनको संयुक्त पहलमा वितरण भइरहेको अक्सिजन कन्सण्ट्रेटर दैलेख र कालीकोटको स्वास्थ्य चौकीहरूमा हस्तान्तरण सकेर सुदूरपश्चिमका जिल्लाहरूका लागि प्रस्थान गरेको बताए । उनले भने, ‘हाल हाम्रो कन्सण्ट्रेटर बोकेर हिँडेको गाडी मध्यपहाडी लोक मार्ग भएर अछामको मङ्गलसेन हुँदै कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको विकट ठाउँका कच्ची र अत्यन्त साँघुरो बाटो र कठिन भौगोलिक परिवेशलाई छिचोल्दै दूरदराजका स्वास्थ्य चौकीहरूमा हाम्रो टोली दिन–रात नभनी साहस र सेवाभावका साथ अगाडि बढिरहेको छ ।’

उनका अनुसार कोरोना महामारीले उत्पन्न गराएको विषम परिस्थितिमा ‘हेल्प नेपाल फाइट कोभिड १९’ नाराकासाथ महासङ्घले १० लिटर प्रतिमिनेट अक्सिजन आपूर्ति गर्ने अक्सिजन कन्सण्ट्रेटर वितरण चाँडो गर्न प्रत्येक प्रदेशका लागि एउटा ढुवानी ट्रकको व्यवस्थासमेत महासङ्घ आफैले गरेको अध्यक्ष रानाले बताए ।