जुन २३ मा ‘ओलपिम्क डे’ सकिए पनि ओलम्पिकको डिस्कोर्ष भने सकिएको छैन । कारण, जापानमा आगामी जुलाई २३ देखी अगष्ट ८ सम्म ओलम्पिक हुँदै छ । सन् २०२० मै हुनुपर्नेमा कोभिडले थलिएर एक वर्ष धकेलिएकोमा यो वर्ष पनि उस्तै तनाव छ । कोभिड १९ को विश्वव्याधीको तनावमा दर्शकसहित वा दर्शकरहित कस्तो खेल हुन्छ भन्ने चासो सबैमा छ । तर, यो सामग्रीमा भने ओलम्पिकको नेपाल कनेक्सनको एक पाटोको मात्रै चर्चा गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार नेपालले ओलम्पिक कमिटीमा देशको रूपमा मान्यता पाएको सन् १९६३ को जनवरी १ बाट मात्रै हो । नेपालको पहिलो औैपचारिक ओलम्पिक यात्रा सदस्यता पाएको अर्को वर्ष सन् १९६४ मा जापानको राजधानी टोकियोबाट भएको थियो । प्राचीन ओलम्पिक समेत जोड्दा ओलम्पिक ३ हजार वर्ष पुरानो भएको हिस्ट्री डटकमले लेखेको छ । आधुनिक ओलम्पिक भने सन् १८९६ मा ग्रिसको राजधानी एथेन्सबाट सुरु भएको मानिन्छ । यति लामो विरासत भएको ओलम्पिकमा नेपालको इतिहास ६ दशक लामो पनि भएको छैन । नेपालको ५८ वर्षे ओलम्पिक इतिहासमा मेडलको कुनै अङ्क छैन ।
अहिलेसम्म नेपालको तर्फबाट ओलम्पिक खेलमा उपाधि पाउनेभन्दा ठूलो कुरा छनौट चरण पार गरेर खेल्न पाउनु नै भएको छ । नेपाली खेलाडीहरूमा सङ्गीना वैद्य र दीपक विष्टले मात्रै छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । बाँकी सबै खेलाडीहरूले कि त कोटा कि वाइल्ड कार्डको सहायताले मात्रै छनौट हुन पाएका थिए । नेपालको यही दुःखान्त ओलम्पिक यात्रा बारेमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि केलाए । असार ९ गते बुधबार काठमाडौंको नेपाल ओलम्पिक कमिटीको ओलम्पिक डे कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले यस्तो दुःख व्यक्त गरेका थिए । उनले भने, ‘एक महिनापछि जापानको टोकियोमा ओलम्पिक हुँदैछ र त्यसमा पनि जति सहभागिता हुनेछ, त्यति कोटाको खेल र वाइल्डकार्ड नै रहेको छ ।’
नेपालीले सहभागिता जनाएका गुमनाम ओलम्पिक
सन् १९६३ मा पहिलोपटक नेपालमा ओलम्पिक ज्योति आएको बिबिसीका खेलकुद संवाददाता निरञ्जन राजवंशीले बिबिसी नेपाली सेवाको अनलाइन संस्करणमा लेखेका छन् । राजवंशीका अनुसार नेपालले औपचारिक रूपमा ओलम्पिक सन् १९६४ मा जापानको टोकियोबाट सुरु गरे पनि जापानमै बस्ने नेपालीले त्योभन्दा अगाडि नै ओलम्पिकमा सहभागिता जनाएका थिए । राजवंशीले एथलेटिक्स खेलाडी कृष्णबहादुर बर्माले लेखेको पुस्तक ‘जापानमा मैले के के पाएँ’ बाट उद्धृत गर्दै नेपालीले सन् १९५२ को फिनल्याण्डको राजधानी हेलसिन्कीमै भएको ओलम्पिकमा सहभागी भएको उल्लेख गरेका छन् ।
हेलसिन्कीमा भएको ओलम्पिकका दुई नेपाली सहभागीहरूमा कृष्णबहादुर बर्मा र नरशम्शेर जबरा भएको लेखक रमेश खनाललाई उद्धृत गर्दै राजवंशीले लेखेका छन् । खेलाडीको रूपमा सहभागी हुने कुरामा मात्रै होइन, नेपालको अनौपचारिक ओलम्पिक सहभागितामा पर्यवेक्षण सहभागिता पनि भएको देखिन्छ । सन् १९६० मा इटालीको सहर रोममा भएको ओलम्पिकमा नेपालले पर्यवेक्षको रूपमा सहभागिता जनाएको थियो । नेपालको तर्फबाट एक जनाले पर्यवेक्षकको रूपमा सहभागिता जनाएको राजवंशीले बिबिसी नेपाली सेवाको अनलाइनमा उल्लेख गरेका छन् ।
तेजवीर बुढाः ओलम्पिकमा स्वर्ण जित्ने एक्ला तर गुमनाम नेपाली
जसरी नेपाली खेलाडीहरू कृष्णबहादुर बर्मा र नरशम्शेर जबराले सन् १९५२ मा खेल्दा नेपालको औपचारिक सहभागिता थिएन । जसरी नेपालले ओलम्पिकको सदस्य नभई सन् १९६० मा पर्यवेक्षक भयो । यस्तै प्रसङ्ग छ तेजवीर बुढाको पनि ।
अझ रोचक कुरा त सन् १९२४ को फ्रान्सको चामनी भन्ने ठाउँमा भएको विन्टर ओलम्पिकका स्वर्ण विजेता हुन् बुढा । बुढाले फ्रान्समा नगएरै स्वर्ण विजेता भएका थिए । फ्रान्सको आयोजनास्थल नपुगेरै विजयी हुने कारणमा सगरमाथाको सम्बन्ध जोडिन्छ । सन् १९२२ मा बेलायतले आयोजना गरेको सगरमाथा आरोहण दलका एक महत्वपूर्ण सदस्य थिए बुढा ।
नेपालमा चन्द्र शम्शेरको शासनकाल भएको समय थियो बुढाले सगरमाथा आरोहण दलमा सहभागी भएको समय । नेपालका तर्फबाट हिमाल चढ्न प्रतिबन्ध भएकोले आरोहीहरू तिब्बतबाटै हिमाल आरोहण गर्थे । सोही आरोहणका क्रममा बेलायती आरोहण दलले सबैभन्दा पहिलो प्रयास सन् १९२१ मा गरेको थियो । तर, उक्त आरोहणमा ७ हजार मिटरसम्म मात्रै पुग्न सफल भएको थियो बेलायती आरोहण दल । सिक्किम हुँदै पुगेको दलको नेतृत्व क्यानेडेली सर्वे अधिकारी ओलिभर ह्विलरले गरेका थिए ।
पहिलो आरोण दलपछि सन् १९२२ मा फेरि अर्को आरोण दल बन्यो । आरोहणको नेतृत्व बेलायती सेनाका ब्रिगेडियर चाल्र्स जि. ब्रुसले गरेका थिए । ब्रुसको नेतृत्वमै गएका एक महŒवपूर्ण सदस्य थिए तेजवीर बुढा । बेलायतको भारतमा शासन भएको समयमा गएका बुढा तत्कालीन ब्रिटिस इण्डियाको सेनामा काम गर्थे । उनी लेसनायकसम्म भएका थिए । बुढाको टोलीले सन् १९२२ मा पहिलोपटक आठ हजार मिटरभन्दा माथिको आरोहण गर्न सफल भएको थियो । टोलीले सगरमाथा चुम्न नसके पनि पहिविराट अनुपम लोपटक आठ हजार मिटरमाथि मानव पाइला राख्न भने सफल भएका थिए । बुढा आठ हजार मिटरमाथि पाइला पु¥याउने प्रथम नेपाली पनि भए ।
सगरमाथा मापन गर्ने प्रथम नेपाली टोलीका सर्वेयर, दुई पटकका सगरमाथा आरोही र सगरमाथाको आरोहण इतिहास लेखनमा सक्रिय खिमलाल गौतमका अनुसार बुढा नेपाली हिमाली क्षेत्रका एक महान् आरोही हुन् । उनी भन्छन्, ‘तर, हामीले बुढालाई लगभग मेन्सन धेरै भएको पाउँदैनौँ । यो एकदम बिडम्बनापूर्ण छ ।’
तेजवीर तेजिला गोर्खा सैनिक पृष्ठभूमिका हिमाल आरोही भएको दि गोर्खा ब्रिगेड एसोसिएसनले आफ्नो आधिकारिक वेबसाइट गोर्खाबिडिई डटकममा पनि उल्लेख गरेको छ । वेबसाइटले सन् १९२१–२२ ताका तेजवीर ‘पायोनियर’ मध्येको एक आरोही भनेर व्याख्या गरेको छ ।
काठमाडौं पोष्टमा सोमेस बर्माले बुढाहरूको टोली ८ हजार २ सय ३० मिटर उचाइमा पुगेको उल्लेख गरेका छन् । तत्कालीन समयको सर्वोच्च उचाइमा पुगेकाहरू सबैलाई स्वर्ण पदक दिइएको थियो । बर्माको आलेखअनुसार आधुनिक ओलम्पिकका पिता भनिने पियरे दे काउबेन्तिनको प्रस्तावमा उक्त पदक दिइएको थियो । सन् १९२४ मा पहिलोपटक भएको विन्टर ओलपिम्पकमा ‘अल्पाइनिजम’ शीर्षक अन्तर्गत सबैभन्दा धेरै उचाइमा पुग्नेलाई पदक दिने निर्णयअनुसार बुढाले पनि पदक पाएका थिए ।
सन् १९२४ को फेब्रअरीमा १२ बेलायती र एक अष्ट्रेलियालीलाई मात्रै दिइएको पदक पछि सहभागी अन्य आठ जनालाई पनि दिइएको थियो । जसमा नेपालका तेजवीर र भारत तथा तिब्बतका सात हिमाली भरियाहरू भएको बर्माले लेखेका छन् । बुढाले पाएको पदक अहिले बेलायतको विन्चेस्टरमा रहेको गोर्खा सङ्ग्रहालयमा राखिएको बर्माले उल्लेख गरेका छन् । यस्ता महान् बुढा भने नेपाली नेपाली ओलम्पिक सिनबाट गुमनाम जस्तै भएका छन् । न त उनको तस्बिर र खास ठेगाना सार्वजनिक नै भएको छ । यत्ति चाहिँ निश्चित छ कि उनी गोर्खा सैनिकको छैठौँ गोर्खा राइफल्सको दोस्रो बटालियमा आबद्ध नेपाली थिए । यो कुरामा भने सबैको एकै बुझाइ छ ।
बुढाको बृहत् तर गुमनाम व्यक्तित्वको चिन्ता आम खेलप्रेमीलाई त छ नै । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि रहेछ । उनले बुधबार ओलम्पिक डेको दिन बुढाको बारेमा बोल्दै भने, ‘इतिहासले भन्छ, सन् १९२४ मा ब्रिटिस सेनाको तर्फबाट सगरमाथा आरोहणका लागि बुढालाई शीतकालीन ओलम्पिकमा स्वर्ण पदक दिइएको थियो । यस बारेमा पनि पूरा सोधपुछ भएर सत्य–तथ्य बाहिर आओस् ।’