धरानको सबैभन्दा पुरानो विद्यालय पब्लिक हाईस्कुल पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेका बेला प्रधानाध्यापक  इन्द्रमोहन झा नेतृत्वको पब्लिक हाईस्कुल टिमको मिहिनेतले पब्लिक हाईस्कुल विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बनेको छ । विद्यालयमा भएको यहि परिवर्तनका विषयमा प्रधानाध्यापक झासँग गरिएको कुराकानी  :

पहिला सामान्य अवश्थामा रहेको पब्लिक हाईस्कुलमा पछिल्लो समय विद्यार्थीको चाप एक्कासी बढ्नुको कारण के हो ?

हुन त चार पाँच वर्ष पहिलेदेखि नै हामीले योजना बनाएका थियौं । तर दुई वर्षअघि धरान उपमहानगरपालिकाकी तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा आएको बजेटले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बाहिरपनि अवलोकन गर्न लगाउने योजना ल्यायो । त्यसै अन्तर्गत धरानका सामुदायिक विद्यालयका प्रअहरु पश्चिम नेपालका विभिन्न सामुदायिक विद्यालय भ्रमण ग¥यौं । त्यहाँको अवश्था बुझ्दा, हेर्दा हामीलाई पनि खुसी लाग्यो । हामी पनि विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा लाग्यौं । धरानमा पनि केही सुधार गर्नुपर्छ भन्ने मानसिकता त्यसरी आयो ।

अहिले नेपाली भन्दा अंग्रेजी माध्यममा जोड दिईरहनु भएको छ । किन ?

अहिलेको अवश्थामा अंग्रेजी माध्यममा विद्यार्थीको बढि फ्लो देखियो । नेपाली माध्यममा विद्यार्थीले लगभग रुचि देखाएका छैनन् । हरेक वर्ष एक एक वटा कक्षाका विद्यार्थीलाई हामीले अंग्रेजी माध्यमबाट अगाडि बढायौं । त्यसक्रममा नेपाली माध्यमलाई छाड्यौं । किन भने नेपाली माध्यम पढ्ने विद्यार्थी भएनन् ।

गत वर्ष कक्षा ६ को नेपाली माध्यम बन्द गरौं भन्ने सोंच आयो । तर टिमका साथीहरुबाट ‘त्यसो नगरौं, केही यस्ता विद्यार्थी पनि आउँछन् जो पढ्न सक्दैनन्’ भन्ने कुरा आएपछि यथावत राख्यौं तर अंग्रेजी माध्यममा ५४ जना भए भने नेपाली माध्यममा १७ जना मात्र भए । अहिले आएर हामीले कक्षा ६ को नेपाली माध्यमलाई हटायौं । किनभने १७ जना छ कक्षामा छन् भने अहिलेको डूपआउट रेट हेर्दा १० सम्म पुग्दा ७÷८ जना मात्र रहन्छन् । अनि नेपाल सरकारले त्यति विद्यार्थीका लागि शिक्षक दिंदैन । 

यसपटक प्रवेश परिक्षा लिएर विद्यार्थी भर्ना गर्नुभयो । विद्यार्थीको चाप कस्तो छ ?

सामुदायिक विद्यालयमै अंग्रेजी माध्यम पढाई हुन्छ भने किन नीजिमा लाने भनेर अभिभावकहरुमा सोंच आयो । हामीले भ्रमण गरेका विद्यालयहरुमा पनि अभिभावकहरुले पहिला सामुदायिक विद्यालयमा खोज्ने त्यहाँ नपाएपछि मात्र अन्यत्र जाने गरेको पायौं । यसपटक धरानमा त्यहि अवश्था आयो । हाम्रो योजना गत वर्ष नै थियो, यसपटक अभिभावकहरु यहाँ आउनुभएको छ । विद्यार्थीको नाम अभिलेखिकरण गराउनुभयो । तर हामीसँग पर्याप्त कोठै छैनन् । त्यसकारण हामीले ९ कक्षासम्मको अभिलेखिकरण नै बन्द गरेका छौं । अब अर्को वर्ष मात्र आउनुस् भनेका छौं । अहिले आएर अभिभावक र विद्यार्थी अन्यत्र विद्यालयमा जान थाल्नु भएको छ ।

अभिभावकको प्रतिक्रिया कस्तो छ ?

अभिभावककै विश्वासले त हामी यहाँसम्म आईपुग्न सकेका हौं । यो शिक्षक साथीहरुको पनि विश्वास हो । धरान उपमहानगरपालिकालाई पनि अहिले यो विद्यालय गौरव भएको छ । यहाँ पश्चिम नेपालका विभिन्न जिल्लाका प्रअ साथीहरु आउनु भएको छ । शिक्षा महाशाखाका प्रमुखहरु आउनु भएको छ । जनप्रतिनिधिहरु आउनु भएको छ । यहाँका जनप्रतिनिधिहरु वर्तमान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, वडाअध्यक्ष टंक राई लगायत आउनु हुन्छ । उहाँहरुको कुरा सुनेर, भ्रमण गरेर यस्तो विद्यालय धरानमा पनि राख्नु भयो भनेपनि यसले शैक्षिक मात्र होईन पर्यटनको पनि काम गरेको छ । टाढादेखि आउनुहुन्छ धरानमा बास बस्नुहुन्छ, त्यो त धरानको गौरव बढेको हो नि ।

अनलाईन कक्षा सञ्चालन गर्नु भएको छ, कतिको प्रभावकारी छ ?

पहिला कतिपयलाई अनलाईन कक्षा के हो भन्ने बुझ्न कठिन थियो । यो लकडाउनले सर्वनास गर्यौ तर अवसर पनि दियो । यदि कोरोना नआएको भए अनलाईन कक्षा यति सारो अघि बढ्दैनथ्यो । हामीले सफ्ट वेयर लिएका छौं, कतिपय शिक्षक साथीहरुलाई अफ्ठ्यारो भएको छ । तर उहाँहरुले दिन प्रतिदिन सिक्दै हुनुहुन्छ त्यो राम्रो भयो । अस्ति कक्षा ११ र १२को अनलाईन कक्षा हाम्रो राम्रोसँग चलेको छ । यसलाई प्रभावकारी नै मान्नुपर्छ । समस्याहरु छन् तर विस्तारै समाधान हुन्छन् । त्यसकारण धरानवासी, प्रदेश १का वासी मात्र नभएर विभिन्न ठाउँका विद्यार्थीहरु यहाँ आएर पढिरहेका छन् । अभिभावकहरु खुलम खुल्ला आएर भन्नुहुन्छ सर म त पब्लिकमा पढाउन भनेर आएको । अस्ति दुई जना त रुन थाल्नुभयो । म सँग सिमित कोठा छन्, भवनहरु बन्दैछन् । बनिसकेपछि त पक्कै पनि म्यानेज गर्न सकिन्छ । 

public

शैक्षिक गुणस्तर वृद्धिका लागि चाहिं के के गर्दैहुनुहुन्छ ?

एकदम ठिक कुरा गर्नुभयो । हामीले बुझेको नेपाल सरकारले बालविकास कक्षा लागु गरेको छ । बालविकासमा किताब छैन, खेल्ने मात्र हो तर कक्षा एकमा किताब भास्ट छ । त्यसले बच्चाहरुलाई लोड भए जस्तो लाग्छ । हुन त विज्ञहरुले सेट गरेको कुरा हो तर हाम्रा विद्यार्थीको कन्टेस्टमा गाह्रो छ त्यसकारणले विचको जुन ग्याप छ त्यसका लागि एलकेजी युकेजीको व्यवस्था गरेका छौं । 

बाहिरतिर बढ्दा ह्यान्डराईटिङ राम्रो हुन्छ तर सामुदायिक विद्यालयमा नराम्रो हुन्छ भन्ने गरिन्छ । कारण के भने नर्सरीमा पनि ह्यान्ड राईटिङ, एलकेजी, युकेजीमा पनि ह्यान्ड राईटिङ नै काम हो । तर सामुदायिकमा बालविकासमा खेल्ने काम र कक्षा १ मा लगातार लेख्ने, पढ्ने काम गर भन्दा बच्चाले सक्दैनन् । हो त्यसलाई गुणस्तरको बेस बनाउनलाई राखेको हो । 

हाम्रो विद्यालयमा अस्तिसम्म छाता आकारको थियो अहिले त्यसलाई हामीले टर्न गर्न खोज्यौं । अर्थात तलका कक्षामा विद्यार्थी सुक्दै गएको र माथि धेरै भएको अवश्था थियो । गत वर्ष मात्र हामीसँग कक्षा ११÷१२ मा १३ सय भन्दा बढी विद्यार्थी थिए । अहिलेको अवश्थामा त्यो गुणस्तरलाई कायम गर्नुपर्छ

पाठ्यपुस्तकहरु पनि सरकारबाट आउने भन्दा धेरै फेरबदल गर्नु भएछ नि ?

अंग्रेजी माध्यमलाई हामीले अंग्रेजी सरकारकै छँदैछ, नेपाली नेपालीमै छँदैछ । सामाजिक शिक्षालाई पनि नेपालीमा लगाएका छौं । किन कि विद्यार्थीले सोसल स्टडिज भनेर रट्छन् तर उनीहरुसँग कुरा गर्दा कन्फ्युज हुन्छन् । त्यसकारण सामाजिकलाई नेपाली माध्यममा पढाउँछौं । कक्षा ७, ८ मा नैतिक शिक्षा पनि राखेका छौं । अहिले विद्यार्थीहरु कस्ता भए भने उनीहरुको आँखाबाट मोबाईल हट्दैन, आमाबुवा कता छन् ? भनेर सोध्यो भने थाहा छैन । त्यसलाई नेपाली भाषामा गर्दा मुटुमा छुन्छ । विज्ञ शिक्षकहरुसँग सल्लाह गरेर विद्यार्थीलाई सक्षम बनाउने हिसाबले पाठ्यपुस्तक मिलाएर राखेका हौं र

विद्यालयमा अतिरिक्त गतिविधि के के गराउनु हुन्छ ?

यो स्कुलमा विभिन्न क्लबहरु राखेका छौं । जस्तो रेडक्रस, फ्यान क्लब, इन्ट¥याक्ट क्लब छन् । खेलकुदमा पनि त्यतिकै ध्यान दिन्छौं । संगीत, योगा कक्षा पनि गराउने सोंच छ । अहिले कोरोनाले पनि योगा आवश्यक छ भन्ने देखायो । विभिन्न मानसिक समस्यालाई न्युनिकरण गर्न पनि विद्यालयले नै सुरु गर्नुपर्छ भन्ने सोंचले हामीले हल बनाएका छौं । यसको निर्माण कार्य अन्तिम चरणमा छ ।

विद्यालय सुधारका लागि तपाईले नेतृत्व गर्नुभयो । तर अन्य शिक्षक, कर्मचारीलाई यसका लागि तयार कसरी गर्नुभयो ?

हाम्रा साथीहरुलाई कन्भिन्स गराउन अफ्ठ्यारो भएन । यसमा मिडियाको ठूलो रोल छ । ‘सामुदायिक विद्यालयको लगानी, बालुवामा पानी’ भन्ने खालका समाचारहरु बारम्बार आईरहँदा हामी जस्तालाई पनि छोायो । त्यसपछि हामी बसेर के गर्दा विद्यालय राम्रो अवश्थामा जान्छ भनेर सोच्यौं । त्यसपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक प्रतिनिधि पनि राख्यौं । र कसरी विद्यालयलाई अगाडि बढाउने भनेर छलफल चलायौं । त्यसक्रममा सबैले हामी विद्यालयलाई अगाडि बढाउँछौं भन्नुभयो । अभिभावकले पनि हामीले के गर्नुपर्छ, विद्यालयलाई के चाहिन्छ ? हामी सहयोग गर्छौं भन्नुभयो । 

विद्यालयमा देशभक्ति गीत बजाउने गरिएको रहेछ । यसले विद्यार्थीलाई कस्तो प्रभाव पार्दोरहेछ ?

हामीले हरेक कक्षामा सिसिटिभी जोडेका छौं । भर्खरै साउन्ड सिष्ट जडान गरेका छौं, यसबाट विभिन्न कक्षामा विद्यार्थी के गर्दैछन् भनेर अपडेट गर्छौं । एकैपटक कुनै सुचना सुनाउनु परे प्रयोग गर्छौं । हामी पब्लिकमा राष्टिूयगान सबै कक्षामा एकैपटक बज्छ । ब्रेक टाइममा अन्य देशभक्ति गीतहरु पनि बज्छन् । जसले विद्यार्थीको भित्री हृदयलाई छुन्छ । त्यसले विद्यार्थीलाई मोटिभेसनको काम गर्छ भनेर लागिपरेका छौं ।

विद्यालयलाई प्रविधिसँग जोड्न के कस्ता काम भएका छन् ?

हामी प्रविधिसँग जोडिएका छौं । भर्खरै राष्टूपनि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारवटा इन्ट¥याक्टिभ बोर्ड ल्याएका छौं । त्यसमा इन्टरनेट जोडेर कतिपय कुरा इन्टरनेटमा खोजेर देखाउने, पढाउने गर्छौं । नर्सरीदेखि कक्षा ३ सम्मका लागि ५५ इञ्चको टिभी राखेका छौं । त्यसमा बच्चाहरुले नेट, युट्युबबाट शिक्षकले संसारका विकासका कुरा विद्यार्थीलाई देखाएर पढाउन सक्छन् । 

अहिलेका विद्यार्थी मोबाईलमा अभ्यस्त छन्, यो सबलाई जोड्न हामीले सानैदेखि प्रविधिसँग जोड्नुपर्छ भनेर लागेका छौं । कक्षा कक्षामा हामीले बुक कर्नरको व्यवस्था गरेका छौं । धरान उपमहानगरपालिकालाई पनि धन्यवाद दिन चाहान्छु, शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले पनि सरसल्लाह दिनुभएको छ । अहिले हात्तीसार क्याम्पसका लाईब्रेरियन ओमनाथ खतिवडा सरलाई गएर गुहारेका छौं । अब पुस्तकालयमा बच्चा गएर कसरी पढ्ने भनेर सुधार गरिरहेका छौं ।

सरकारले नमूना विद्यालय भनेर यसलाई पनि छानेको छ । त्यो बजेट के मा खर्च भएको छ ?

नमूना विद्यालयको डेढ करोड बजेट आएको हो । यो भौतिक पूर्वाधारका लागि बजेट आएको छ । त्यसैबाट धमाधम निर्माण कार्य भईरहेको छ । त्यो रकम भौतिकपूवर्धार र कक्षा कसरी व्यवस्थापन गर्ने भनेर लागेका छौं । 

अझ राम्रो बनाउने आगामी योजना के छन् ?

हामीले गुणस्तर बढाउन कक्षामा विद्यार्थी संख्या घटायौं । हामीले हरेक कक्षामा दराज राखेका हुन्छौं त्यहाँ विद्यार्थीले चाहेको पुस्तक लिएर पढ्न सक्छन् । एक वर्षसम्म बच्चाले के गरे भनेर त्यहाँ व्यक्तिगत फाईलिङ हुन्छ । सबै हेर्न सकिन्छ । इडिजिटल नेपालको सफ्टवेयर अपडेट गराएर अनलाईन कक्षा चलिरहेको छ । कक्षा ११, १२ मा साईन्स, इलेक्टिूकल, व्यवस्थापन, मानविकी, शिक्षा छ । अहिले फ्याकल्टी भन्न मिलेन । ९ देखि १२सम्म इलेक्टिूक इञ्जिनियरिङ हुन्छ । यसपटक धेरै भएको साईन्स र म्यानेजमेन्टमा ओभरफ्लो हुन्छ । यी सबै कुरालाई व्यवस्थापन गरेर विद्यालयलाई अझ राम्रो र गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने थलो बनाउने योजना छ ।

प्रस्तुति : गोपाल दाहाल