धरान । धरानका धेरैजसो सामुदायिक विद्यालयमा लकडाउनपछि पठनपाठन ठप्प छ । कतिपय विद्यालयका त कार्यालयसम्म खुलेका छैनन् । तर धरान १२ चतरालाईन स्थित पब्लिक हाईस्कुलमा भने अचेल शिक्षक, अभिभावक र विद्यार्थीहरुको चहलपहल छ ।
शिक्षकहरु विद्यालयमै आएर अनलाईनकक्षा पढाईरहेका छन् । अभिभावकहरु आफ्ना छोराछोरी भर्ना गराउन र विद्यार्थीहरु प्रवेश परिक्षा दिन आउजाउ गरिरहेका छन् । पब्लिकले यसपालि पहिलोपटक प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना लियो ।
कक्षा ९ सम्मको प्रवेश परीक्षमा करिब एक हजार जना सहभागी भए त्यसमध्ये ६ सय जति विद्यार्थीले प्रवेश परीक्षा पास गरेर पढ्ने अवसर पाए । त्यस्तै कक्षा ११ को प्रवेश परीक्षामा पनि विद्यार्थीको बाक्लो उपस्थिति थियो । विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झा भन्छन्, ‘प्रवेश परीक्षा पछि पनि धेरै अभिभावक र विद्यार्थी भर्ना गर्न पाउँ भनेर आईरहेका छन् तर हामीसँग पर्याप्त कोठै छैन । अर्को वर्ष आउनुस् भनेर फर्काइरहेका छौं ।’
कृषि उपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले धरानको एउटा नीजि विद्यालयमा उत्कृष्ट स्थान हासिल गर्दै पढिरहेका आफ्ना छोरीहरुलाई यसपटक पब्लिकमै भर्ना गरे । पहिलादेखि सरकारी विद्यालयमा पढाउने इच्छा भएको र पब्लिकमा अङ्ग्रेजी माध्यमबाट राम्रो पढाई भएको चर्चा सुनेपछि बुझेर भर्ना गरेको उनी बताउँछन् । भन्छन्, ‘व्यवस्थापन राम्रो गर्ने हो भने सरकारी विद्यालयमा पनि राम्रो पढाई हुन्छ भन्ने लागेर भर्ना गराएँ ।’
उनले मात्र होईन तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ, प्रदेश १ की प्रदेशसभा सदस्य उमिता बराईलीदेखि धरानका विभिन्न विद्यालय र क्याम्पसका शिक्षकहरुले समेत आफ्ना छोराछोरी पब्लिकमा भर्ना गराएका छन् ।
पब्लिकले तीन वटा बस समेत सञ्चालनमा ल्याएपछि धरान र वरपरका विद्यार्थी समेत आकर्षित भएका छन् ।
अङ्ग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्न थालेपछि धरानका विभिन्न निजी विद्यालयमा पढ्ने विद्यार्थी पब्लिकमा ओइरिएका हुन् । विद्यार्थीको चाप बढेपछि यसपटक प्रवेश परीक्षा लिनु परेको प्रधानाध्यापक झा बताउँछन् ।
प्रवेश परीक्षा लगत्तै विद्यालयले नियमित रुपमा अनलाईन कक्षा सुरु गरेको छ । विद्यालयका हरेक कक्षा कोठामा सिसिटिभी र साउन्ड सिष्टम जडान गरिएको छ । भौतिक कक्षा सुरुभएपछि प्रधानाध्यापकले आफ्नो कार्यकक्षबाटै विद्यार्थीका गतिविधि नियाल्न मिल्ने व्यवस्था मिलाइएको छ । पढाई नभएको समयमा विभिन्न देशभक्ति गीत बज्ने र कक्षा सुरु हुनुअघि हरेक दिन सबै कक्षामा एकैपटक राष्टिूय गान बज्ने व्यवस्था गरिएको छ ।
पब्लिकले नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन गराउँछ तर विद्यार्थीको आकर्षण अङ्ग्रेजी माध्यममा देखिन्छ । नेपाली माध्यममा जम्मा ३५ विद्यार्थी भर्ना भएको प्रधानाध्यापक झा बताउँछन् । अङ्ग्रेजी माध्यममा भने विद्यार्थी धेरै भएर प्रवेश परीक्षाबाट छानिएका विद्यार्थी मात्र राखिन्छ ।
सरकारले बालविकासबाट कक्षा १ सञ्चालन गर्ने व्यवस्था गरेपनि पब्लिकले भने नीजिले जस्तै नर्सरी, एलकेजी, युकेजीपछि कक्षा १ सञ्चालन गरेको छ । ‘बालविकासको किताबै हुँदैन खेलाउने मात्र हो, तर कक्षा १को किताब गाह्रो छ ।’ प्रधानाध्यापक झा भन्छन्, ‘विद्यार्थीलाई सहज बनाउनका लागि विचमा कक्षा थपिएको हो ।’
विद्यालयले नर्सरी, एलकेजी र युकेजीमा प्रतिकक्षा २५ जना, एकदेखि पाँचसम्म प्रतिकक्षा ३५ जना र ६ देखि १० सम्म ४० जना मात्र भर्ना लिने गरेको छ । कक्षा नौ देखि पढाई हुने इलेक्टूोनिकल इञ्जिनियरिङमा भने ४८ जनाको सिट छ । विद्यालयले सरकारले निशुल्क उपलब्ध गराउने केही पुस्तकसँगै नीजि विद्यालयमा पढाईहुने पुस्तकहरु प्नि पढाउँछ । त्यसका लागि अभिभावकले निशुल्क प्राप्त हुने पुस्तकको मूल्य घटाएर अन्य पुस्तक किन्नुपर्छ । यि विद्यार्थीलाई पढाउन २७ जनाको सरकारी दरबन्दी छ तर त्यसले अपुग भएपछि विद्यालयले नीजि स्रोतबाट ३७ जना शिक्षक राखेको छ । अभिभावकको सहयोगबाट उनीहरुलाई तलब खुवाउने गरिएको प्रधानाध्यापक झा बताउँछन् ।
सरकारले नमूना विद्यालयका रुपमा छनोट गरेको पब्लिकले डेढ करोड बजेट पाएको थियो । उक्त बजेटले नयाँ भवन निर्माण भईरहेका छन् । ति भवनमा कक्षा कोठासँगै योगा कक्षा र संगीत कक्षा समेत सञ्चालन गर्ने विद्यालयको तयारी छ । ‘पछि बजेट भएमा फिजिकल फिटनेश सेन्टर र टाढाका विद्यार्थीका लागि होस्टल पनि बनाउने योजना छ ।’
विद्यालयले हरेक कक्षामा बुक कर्नर छुट्याएको छ, जहाँ विद्यार्थीहरुले पुस्तकहरु पढन सक्छन् । पुस्तकालय पनि व्यवस्थित भईरहेको छ भने आधुनिक साईन्स ल्याब समेत सञ्चालनमा छ । अतिरिक्त क्रियाकलापका लागि विभिन्न क्लबहरु सञ्चालित छन् ।
धरानकै पहिलो विद्यालयका रुपमा वि.सं.२००३ सालमा स्थापना भएको पब्लिक बहुउद्देश्यीय हाईस्कुलबाट वि.सं.२०१२ सालको एसएलसी परीक्षामा धरानका रामबाबु खनालले बोर्डफस्ट ल्याएका थिए । यो विद्यालयमा पढेका विद्यार्थीहरु राष्टिूय अन्तर्राष्टिूस्तरमा पुगिसेका छन् । तर पछिल्लो समय नीजि विद्यालयहरुको दबदबा बढेपछि खस्किएको पब्लिक हाईस्कुल अहिले जुर्मुराएको छ । स्कुलको व्यवस्थापन समिति अध्यक्ष हरि कार्की भन्छन, ‘अभिभावक, शिक्षक र विद्यार्थीको सहकार्यमा विद्यालय अघि बढेको छ । यसलाई अझै राम्रो बनाएर देशको भविष्यका आधारस्तम्भ तयार गर्न सबैको सहयोग आवश्यक छ ।’