नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिने तयारी गरेको छ । 

लामो समयदेखि अन्योलमा रहेको बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना पनि सकारात्मक देखिएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रमको लागि नेपाल धितोपत्र बोर्डले आयोजना गरेको छलफलमा बोल्दै बोर्ड अध्यक्ष ढुङ्गानाले संस्थागत रुपमा ब्रोकर लाइसेन्स खुलाउने र प्रक्रिया पूरा गरेर आउने कम्पनीलाई दिन सकिने बताए ।

बोर्डले ब्रोकर लाइसेन्स दिने विषयमा गृहकार्य सुरु गरिसकेको अध्यक्ष ढुङ्गाना बताउँछन् । 

ब्रोकर लाइसेन्स दिने भनेर निर्णय भइनसकेको तर संस्थागत रुपमा ब्रोकर लाइसेन्स दिने गृहकार्य भइरहेको उनले बताए ।

संस्थागतरुपमा ब्रोकर लाइसेन्स खुलाउँदा प्रक्रिया पु¥याएर आउने बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिइने अध्यक्ष ढुङ्गाना बताउँछन् ।

‘बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भनेर नीति बनिसकेको छैन, बोर्डको आशय दिने भन्ने हो’, उनले भने, ‘उच्चस्तरीय समितिले संस्थागत ब्रोकर लाइसेन्सको लागि नियमावली तयार गर्दैछ, नियमावली तयार गर्दा केही तलमाथि भयो भने फरक कुरा तर बोर्डको आशय बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भन्ने हो ।’

यसअघि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा त्यति सकारात्मक नभएको अध्यक्ष ढुङ्गाना चौतर्फी दबाबपछि सकारात्मक देखिएको स्रोत बताउँछ ।

उनी बोर्ड अध्यक्ष नियुक्त हुनुअघि नै धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको थियो ।

एनआइसी एशिया, प्रभु, मेगालगायत केही बैंकले सहायक कम्पनी स्थापना गरी नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर ब्रोकर लाइसेन्सको लागि नेपाल स्टक एक्चेञ्जमा आवेदन दिइसकेका थिए । सोहीअनुसार नेप्सेले ब्रोकर लाइसेन्स स्वीकृतिको लागि धितोपत्र बोर्डमा सिफारिस गर्ने तयारी भइरहँदा यसमा संसदीय समितिको प्रवेश भएको थियो ।

अर्थ समितिले २०७६ साउनमा  बैंकमा पुँजी बजार तथा मुद्रा बजारको विषयमा अध्ययन गर्न भन्दै  बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्न  अध्ययन उपसमिति गठन ग¥यो ।

३ महिनाको अध्ययन अवधि पाएर गठन भएको उपसमितिले ११ महिना लगाएर २०७७ असारमा आफ्नो प्रतिवेदन पेश गर्दै बैंकका सहायक कम्पनीलाई  ब्रोकर लाइसेन्स दिनुपूर्व विभिन्न ११ बुँदा  सम्बोधन भइ लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने शर्त अगाडि सारेको थियो ।

अब भने बोर्ड अध्यक्ष ढुङ्गाना पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सकारात्मक देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जले ४ वर्ष अगाडि धितोपत्रको दोस्रो बजार सेवा विस्तार सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनमा पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख छ । 

जसलाई नेप्सेको सञ्चालक समितिले स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाएको थियो । 

त्यतिबेलासम्म बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल सकिएर नयाँ अध्यक्षमा भिष्मराज ढुङ्गाना नियुक्त भइसकेका थिए । 

अध्यक्ष ढुङ्गाना सुरुवातबाट नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनेमा सकारात्मक नहुँदा नेप्सेमा बैंकका सहायक कम्पनीको फाइलमा धुलो जम्मा भएर बसेका छन् ।

अहिलेको बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गाना त्यतिबेला नेपाल राष्ट्र बैंकको तर्फबाट नेप्सेका सञ्चालक रहेका थिए ।

उनले समेत सञ्चालक रहेको नेप्सेको बोर्ड बैठकबाट स्वीकृत भएर बोर्डमा गएको प्रतिवेदन उल्लेख भएको बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने अध्यक्ष ढुङ्गानाले अलमल गरिरहेको स्रोतको धारणा छ ।

बोर्ड अध्यक्ष ढुङ्गानाले नयाँ ब्रोकर लाइसेन्सको लागि नियमावली तयार गर्ने कार्य भइरहे पनि अहिलेकै नियमावलीले पनि बैंकका सहायक कम्पनी र संस्थागत रुपमा ब्रोकर लाइसेन्स दिन सकिने देखिन्छ । अहिले सञ्चालनमै रहेका कतिपय ब्रोकरहरु समेत पब्लिक लिमिटेड कम्पनीकै रुपमा छन् । 

बोर्ड अध्यक्ष ढुङ्गानाले भनेको नियमावली तयार गर्ने समिति अध्यक्ष ढुङ्गानको भ्रम छर्ने माध्यम मात्रै भएको जानकारहरु बताउँछन् ।

ढुङ्गाना नेप्सेको सञ्चालक हुँदा स्वीकृत भएको प्रतिवेदनमा धितोपत्रको दोस्रो बजार विस्तारको लागि ब्रोकरको शाख विस्तार गर्ने, कुनै फाइनान्सियल इन्स्टिच्युुसन ब्रोकरकारुपमा काम गर्न आउँछन् भने लाइसेन्स दिने र बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिने भनेर तयार भएको रिपोर्ट नेप्सेको सञ्चालक समितिबाट पास भएर बोर्डमा पेश गरेको स्रोतको दाबी छ ।