धरान  / कोरोना महामारीले विश्वकै जनजीवन अस्तव्यस्त बनायो । तर यहि अस्तव्यस्ता विच सम्भावना खोज्नेहरुका लागि यो एउटा अवसर पनि थियो । जस्तो, धरानका रामबहादुर लिम्बु र सिता सुब्बा खापुङको परिवारलाई कोरोनाले कृषिकर्म सिकायो । 

पहिलो लकडाउनका बेला अरु जस्तै घरमै बसेर समय विताएका रामबहादुर र सिता अहिले धरान–५ ठिङ्गाबारीमा दुई वटा कृषि फर्म सञ्चालन गरिरहेका छन् । दोस्रो पटकको लकडाउनले धरान बजार ठप्प भएका बेला, मान्छेहरुमा निराशा छाएको बेला यो दम्पत्तीले नयाँ आशाहरुको खोजी ग¥यो । अनि सुरु भयो, ‘न्यु होप एग्रिकल्चर फार्म’ अर्थात नयाँ आशा कृषि फर्म । 

श्रीमान–श्रीमति मिलेर फर्ममा बङ्गुर पाले, खसी पाले । तरकारी रोपे, ड्रागन फ्रुट रोपे । लिम्बु भन्छन्, ‘कृषिमा रुचि त पहिलादेखि नै थियो तर कोरोनाले कृषिकर्म गर्न प्रोत्साहन गरे जस्तो लाग्यो । समस्या आउँदा निराश हुने होईन, अवसर खोज्नु पर्छ भनेर परिवारै लागेका हौं ।’

20210711_180505

यो परिवारले हालै अर्को फर्म पनि किनेको छ । करिब एक विगाहा जमिनमा सञ्चालित त्यस फार्मको नाम राखिएको छ, ‘न्यु होप फ्यामिली एग्रिकल्चर फार्म’। उनीहरुले खरिद गरेको नयाँ फर्ममा अहिले बोडी, घिरौंला जस्ता तरकारी फलेका छन् । ड्राइगन फ्रुट रोपिएको छ । माछा, बङ्गुर र कुखुरा पालिएको छ । ताजा तरकारी र माछामासु किन्न अनि कृषिकर्म हेर्न बाहिरबाट समेत मान्छे आउने गरेका छन् । रामबहादुरका अनुसार शनिबार मात्र धरान र इटहरी लगायतका स्थानबाट फर्म अवलोकन गर्न ७० जना आए । ठिङ्गाबारीमा अन्य किसानहरुले पनि कृषि फर्म सञ्चालन गरेका छन् । लिम्बु परिवारले त्यहाँका अग्रज कृषकहरुसँग सरसल्लाह लिएर, सहकार्य गरेर कृषिकर्म गरिरहेको छ । गाउँलेहरुले पनि उनीहरुलाई सहयोग गरिरहेका छन् । ‘यहाँका अग्रजहरु हाम्रा गुरु हुन्, उहाँहरुबाटै धेरै नयाँ कुरा सिकेर काम गरिरहेका छौं ।’ रामबहादुर सुनाउँछन्, ‘पहिले लकडाउनमा घरमै बस्दा दिक्क लाग्थ्यो तर अहिले कृषिमा लागेपछि लकडाउन भए जस्तो अनुभव नै भएको छैन ।’

20210711_171542

तेह्रथुमको साविक सुदापबाट करिब १५ वर्षअघि धरान झरेका रामबहादुरले नेपाली र राजनीति शास्त्र गरी दुई विषयमा डिग्रीसम्मको अध्ययन गरेका छन् भने कानुन संकायको एलएलबि पास गरेका छन् । उनले केही समय शिक्षण पेशा पनि अपनाए भने धरानको युएन स्कुलका संस्थापक सदस्य समेत हुन् । उनी विश्व शान्ति अभियानमा सक्रिय भएर हजारौंलाई प्रशिक्षण दिए भने दर्जनौं देशको भ्रमण गरे । शिक्षण वा विभिन्न तालिममा उनी युवाहरुलाई प्रोत्साहन गर्दै आफ्नै देशमा पसिना बगाउन हौस्याउँथे । उनी भन्छन्, ‘पहिला प्रोत्साहन गर्थे तर अहिले आफैं कर्म गर्न लागेको छु । त्यसले अझबढी आनन्द दिंदोरहेछ ।’

उनकी श्रीमति सिता पनि शिक्षिका हुन् । युएन स्कुलमा पढाउने सिता अहिले ठिङ्गाबारीमै बसेर कृषिकर्म गर्दै अनलाईन कक्षा पढाउन पनि भ्याउँछिन् । छोराछोरी प्रसन्न र रुचि पनि अनलाईन कक्षा पढ्दै फुर्सद्मा बुवाआमालाई कृषिमा सहयोग गर्छन् । ‘समाजमा पढेलेखेका मान्छेले कृषि गर्नुहुँदैन भन्ने गलत धारणा अझैपनि पाईन्छ तर हामी यसलाई चिर्न चाहान्थ्यौं ।’ रामबहादुर भन्छन्, ‘लकडाउनका बेला श्रीमति र छोरीको सल्लाहपछि हामी परिवारै यता लागेका हौं ।’ 20210711_175649

लकडाउनपछि धरानको घरमा ताला लगाएर कृषि फर्ममै बसिरहेको उनी बताउँछन् । कृषि कर्ममा लाग्दा एकातिर स्वास्थ्यमा फाईदा भयो अर्कातिर देशलाई आत्मनिर्भर बनाउन आफ्नो तर्फबाट योगदान गरियो भन्ने लागेको छ उनलाई । ‘कोरोना कहरले कृषि कर्म गर्नुपर्छ भनेर सन्देश दिए जस्तो लाग्यो ।’ उनी भन्छन्, ‘देशका ४० लाख युवा विदेशमा पसिना बगाईरहेका छन्, हामी तरकारी पनि विदेशबाटै किनिरहेका छौं । त्यो परनिर्भरतालाई घटाएर आत्मनिर्भरतामा लैजाने अभियान पनि हो यो ।’ 

दुई फर्मलाई मिलाएर भविष्यमा नमूना फर्म बनाउने उनीहरुको योजना छ । धरान बजारको बसाई छाडेर गाउँमा कृषिकर्म गरिरहेका उनीहरु शारिरिक, मानसिक र आर्थिक सबै हिसाबले कृषिकर्म उचित रहेछ भन्ने अनुभव गरिरहेका छन् । उनी शहरिया जीवनशैली बदल्न कोरोनाले अवसर दिएको ठान्छन् । उनी भन्छन्, ‘पहिला कोरोनाका कारण लकडाउनमा बसियो तर जीवनशैली बदल्ने र कृषिकर्म गर्ने हो भने कोभिड १९लाई नै लकडाउन गर्न सकिन्छ ।’

तीन सय केजीको बङ्गुर

IMG_4722

लिम्बु परिवारको नयाँ फर्ममा तरकारी, फलफुल खेतीसँगै माछा र बङ्गुर पालिएको छ । यो फर्मको एउटा बङ्गुर भने घुम्न आउनेहरुका लागि आकर्षण बन्ने गरेको छ । 

रामबहादुरका अनुसार त्यो बङ्गुरको तौल करिब ३ सय केजी छ । यति ठूलो बङ्गुर अन्यत्र नदेखिएको भन्दै फर्म घुम्न आउनेहरु त्यो बङ्गुरको फोटो खिच्छन् र हेरेर रमाईलो मान्छन् । 

रामबहादुरले यो फर्म बङ्गुर सहित किनेका हुन् । उनी आफुले यति ठूलो बङ्गुर अहिलेसम्म नदेखेको र घुम्न आउनेहरुले पनि अनौठौ मान्ने गरेको बताउँछन् । भन्छन्, ‘यो बङ्गुर हाम्रो फर्मको आकर्षण भएको छ ।’