पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा आर्थिक विकास समिति अन्तर्गत कृषि, पशुपंक्षी, लघु उद्यम र सहकारी शाखामार्फत आर्थिक वर्ष २०७७र०७८ मा डेढ करोड रुपैयाँ बढीका ५६ वटा कार्यक्रमिक योजना सम्पन्न भएका छन् । जसबाट नगरवासीमा व्यवसायिक वन्ने उत्प्रेरणा जागेको छ ।
आर्थिक विकास समितिले कृषि र पशुपंक्षीमा सशर्ततर्फ ४४ लाख ९८ हजार रुपैयाँमा ४ वटा कार्यक्रम सम्पन्न भएको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । जसमा, बाख्रा, बंगुरका एक एक र तरकारीका २ वटा साना व्यवसायिक कृषि उत्पादन ( पकेट) कार्यक्रम सञ्चालन भएका छन् ।
कृषि र पशुपंक्षीमा नगरपालिकामार्फत ९२ लाख ८४ हजार २ सय ४० रुपैयाँमा ३८ वटा योेजना सम्पन्न भएका छन् । ३ लाख रुपैयाँमा सहकारी शाखामार्फत सहकारी अनुगमन्, ऐन, नियम, निर्देशिका निर्माण र सहकारी दिवश कार्यक्रम सम्पन्न भएको छ । सशर्त र नगरको गरी कृषि, पशुपंक्षी र सहकारी शाखामार्फत कुल १ करोड ४० लाख ८२ हजार २ सय ४० रुपैयाँ बराबरका कार्यक्रम सम्पन्न भएका छन् ।
जसमा, सामुदायिक कुकुर वन्ध्याकरण, रेविज उन्मुलनका लागि खोप अभियान, पशु वधस्थल, कोशेली घर सहित कृषि टहरा निर्माण, कृषकका लागि उपकरण अनुदान, विउ पूँजीका रुपमा अनुदानमा बाखा, बंगुरका पाठापाठी वितरण, औषधि वितरण, जैविक मलमा अनुदान, घाँस उत्पादनमा सहयोग, माछा पोखरी निर्माण, मौरीपालन सहितका तालिम लगायतका कार्यक्रम सञ्चालन भए । संघ, प्रदेश र नगरबाट यसखाले कार्यक्रमबाट अनुदान समेत प्राप्त हुँदा कृषकमा अझ उत्साह भरिएको वडा नम्बर २ की बंगुरपालक कृषक नविना राईले वताइन् ।

युएनएचसीआरमार्फत लुथरनले पनि छुट्टै रुपमा वडा नम्बर ४, ९ र १० मा बाख्रा, बंगुर, कुखुरा, च्याउ र तरकारी खेतीको कार्यक्रम अघि सारेको छ । आर्थिक विकास समितिका सदस्य सचिव हेमचन्द दहालले भन्छन् ‘नगर धान, मासु, अण्डामा आत्मनिर्भर भइसकेको छ । अन्य उत्पादनमा पनि आत्मनिर्भर बनाउने योजनामा हामी लागिरहेका छौं ।’
त्यसैगरी, सो आर्थिक वर्षमा लघु उद्यम विकासका १४ वटा कार्यक्रमिक योजना सम्पन्न भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको पहिलो वर्षको लागि १९ लाख १४ हजार ५ सय ९० रुपैयाँ बराबरका १४ कार्यक्रम सम्पन्न भएका छन् ।
नगरको वडा नम्बर १, २ र ३ मा समूह गठन गरी सञ्चालन गरिएको कार्यक्रममा नयाँ उद्यमीको विकासतर्फ घरधुरी सर्भेक्षण, पीआरए, सम्भाव्य लघु उद्यमीको पहिचान, उद्यमशीलताको विकास तालिम, प्राविधिक सिप विकास तालिम सञ्चालन भएका छन् । स्तरोन्नती सहयोग अन्तर्गत पुनर्ताजगी तथा एडभान्स तालिमहरु समेत सञ्चालन भएर स्थानीयमा उत्प्रेरणा मिलेको घरेलु तथा साना उद्योग शाखा प्रमुख सपना कार्कीले जनाइन् ।
जसमा, समूहमा सहभागिको इच्छा अनुसार बाख्रा र बंगुर पालन, सिलाई कटाई, मुढा, ढाका वार्पिङ, पेपर ब्याग, सैलुन, फेस मेकर, सिकुटीको अचारका तालिमपछि त्यससँग सम्बन्धित उद्यम कार्यक्रम अघि बढाइएको छ । आवश्यक मेसिन, औजार तथा विउ पूँजीका रुपमा बाख्रा र बंगुरका पाठापाठी समेत वितरण गरिएको छ । ‘यसखाले कार्यक्रमले हामी घरायसी कामका महिलालाई घरमै बसीबसी पनि केहि व्यवसायिक काम गर्न सकिने ठूलो उत्प्रेरणा मिलेको छ ।’– वडा नम्बर ३ मा सञ्चालित मुढा तयारी तालिमको समूह सचिव गौरी लिम्बूको प्रतिक्रिया छ ।
लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ बमोजिम कार्यक्रम सञ्चालन गर्न नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत ९० परिवारका लागि यो कार्यक्रम तय भएको थियो । यसका लागि अघिल्लो वर्ष वडा नम्वर ४, ५ र ७ मा सञ्चालन भएको कार्यक्रममा सहभागि ३१ परिवारलाई स्तरोन्नतीको योजना समेत सम्पन्न भयो । कार्यक्रमलाई अगाडि बढाउन नगरले वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवाललाई जिम्मेवारी दिएको छ ।