विराटनगर। विराटनगर भन्सार कार्यालयका कर्मचारी, ऐजण्ट र एजेण्ट प्रतिनिधिको मिलोमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको छ ।
गत आइतबार राति १० बजे राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेको दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान पूरा गरेपछि १८ लाख मूल्य बराबरको राजस्व छली गरेको पुष्टि भएको हो । राजस्व छली गरेको आशङ्कामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले आइतबार राति विराटनगरदेखि विभिन्न सामग्री बोकेको को.२ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
प्रारम्भिक चरणको अनुसन्धानबाट भन्सार एजेण्ट प्रतिनिधि अक्बर अलीले आयात गरेको दुई ट्याक्टर सामानमा १४ लाख मूल्य बराबर कम मूल्याङ्कन र २ लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार नै नतिरी ल्याएको पाइएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले जानकारी दिए । ‘आयात गरिएको मालवस्तुको मूल्याङ्कन कम गरिएको पाइयो भने न्यून बिलविजक बनाएर सामान भित्र्याएको पाइएको छ’–उनले भने ।
भन्सार सम्बन्धी ऐनमा ५० लाखभन्दा बढी रकम बिगो भए राजस्व अनुसन्धानले अदालतमा अभियोग दर्ता गर्दै आएको छ । तर, भन्सार एजेण्ट प्रतिनिधि अक्बरको हकमा ५० लाखभन्दा कम भएकोले राजस्वले १८ लाख रुपैयाँ धरौटी खुलाएको छ । ‘अनुसन्धान पूरा गरेपछि राजस्व छली गरेको मूल्याङ्कन कायम गरी कार्यालयले १८ लाख रुपैयाँ माग दाबी गरेको छ’ राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खड्काले भने, ‘तोकिएको रकम बुझाएर बरामद गरिएको सामग्री र नियन्त्रणमा लिएको ट्याक्टर लैजानुपर्ने हुन्छ ।’

राजस्वले नियन्त्रणमा लिएको ट्याक्टरमा टिसर्ट, धागो, पर्स, मेसिनरी र हार्डवेयरका सामग्रीहरू रहेको छ । राजस्वले नियन्त्रणमा लिएको सामग्रीको भिसिटिएस पनि नगरी पठाएको पाइएको थियो । सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न भिसिटिएस (भेहिकल, कन्साइमेण्ट ट्रयाकिङ सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’ मा सवारी तथा मालवस्तुको बिना प्रविष्टी नै भन्सार जाँचपास हुने गरेको पाइएको छ ।
‘ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न भिसिटिएस लागू भएको हो’ राजस्व अनुसन्धानका प्रमुख खड्काले भने, ‘तर, भन्सार हुँदै निस्किएर हामीले बरामद गरेको सामानको भिसिटिएस पनि गरेको भेटिएन ।’ भन्सार बिन्दुमा न्यून मूल्याङ्कनमा जाँचपास गरिएको कपडा, मिलमेसिनरी, पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भिसिटिएसमा नभेटिएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति प्रश्न उब्जिएको हो ।
सामानमा प्रतिइकाई मूल्य अङ्कित स्टिकर स्पष्ट भए पनि भन्सार कार्यालयले १ सय रुपैयाँको मूल्याङ्कनमा मात्रै कपडा छोडेको पाइएको छ । भारतीय कम्पनीका कपडामा ३ सय ७९, ४ सय ५० र ५ सय ९९ रुपैयाँ मूल्य अङ्कित स्टिकर टाँसिए पनि एकसय रुपैयाँ मात्रै मूल्याङ्कन गरिएको पाइएको छ । राजस्वले नियन्त्रणमा लिएको दुई ट्याक्टरमा रहेको कपडा र मेसिनरी उपकरणका सामग्री एजेण्ट प्रतिनिधि विराटनगरका अक्बर अलीको हो । अली भन्सार एजेण्ट भरतराज भट्टराईको प्रतिनिधि हुन् ।
सेटिङ मिलाउन माहिर अलीले भन्सार प्रमुख, अधिकृतदेखि सबै क्षेत्रका अधिकारीहरूलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा भन्सारमा न्यून विजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापन–पत्रको भरमा पूर्वका विभिन्न सहर हुँदै काठमाडौंसम्म पु¥याउने गरेको स्रोतको भनाइ छ । एजेण्ट प्रतिनिधि अलीको ‘अली ट्रेडर्स’ रहेको छ । उक्त ट्रेडर्सको नामदेखि राजस्व छली गरेको सामग्रीहरू काठमाडौंका व्यापारी नसिम खानलाई पठाउने गरेको स्रोतको दाबी छ ।
यसरी १८ लाख रूपैयाँ राजस्व चुहावट भएको खुलेपछि विराटनगर भन्सार प्रमुख शिवहरि भण्डारी विवादमा मुछिएका छन् । राजस्व छलीको विषयमा बुझ्न खोज्दा भन्सार प्रमुख भण्डारी सम्पर्कमा आउन चाहेनन् । राजस्व छली एवम् तस्करीमा विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेण्ट र एजेण्टका प्रतिनिधिबीचको मिलेमतोमा संस्थागत रूपमै राज्यको लाखौं रुपैयाँ राजस्व छली हुने गरेको खतरनाक ‘सेटिङ’ बाहिर आएको छ । यता विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले प्रक्रिया पूरा गरेर दुईवटा ट्याक्टर छोडेकोपछि अहिलेसम्म आफूलाई कुनै जानकारी नआएको बताए । ‘लिखित रूपमा राजस्वले भन्सार छली गरेको पत्र पठाए भन्सारले त्यसपछि थप प्रक्रिया अगाडि बढाउनेछ । अहिले हामीलाई त्यस्तो कुनै जानकारी आएको छैन’–उनले भने ।
यसअघि पनि एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्र्याउने र सामानको न्यून मूल्याङ्कन गर्ने गरिएको पनि फेला परेको थियो । तीन महिनाअगाडि विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले वैशाख ११ गते साँझ ६ः३० बजेतिर एउटा भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएको थियो । बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर ‘फुड सप्लिमेण्ट’ का सामग्री लोड गरेर गन्तव्यतिर लाग्दै थियो । राजस्व छलीको सामग्री लिएर गन्तव्यतिर हिँडेको सूचनाका आधारमा चालक भारतीय नागरिक विनोद यादवसहित ट्याक्टरलाई मोरङ प्रहरीले नियन्त्रणमा लियो ।
सोही दिन साँझ ७ बजेतिर विराटनगर–१६ रानीबाट प्रहरीले अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लियो । हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यावसायिक फर्मको सामग्रीले भरिएको ट्याक्टरसहित चालक भारतीय नागरिक पप्पु यादव पक्राउ परे । हवनमा प्रयोग हुने सामग्रीका नाममा अरू नै वस्तु र प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा बढी सामान आयात गरिएको सूचना प्रहरीमा थियो । एकै दिन फरक–फरक स्थान र समयमा नियन्त्रणमा लिइएका ट्याक्टरलाई प्रहरीले कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो । राजस्वले अनुसन्धान थाल्दा प्रज्ञापन–पत्रमा उल्लेख भएको भन्दा बढी परिमाणको सामान र अरू नै सामग्री राखेर ल्याइएको पुष्टि भएको थियो ।