विराटनगर । घटना १ः पारिवारिक विवादलाई लिएर राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक) ४२ वर्षीय भोला सिंहको असार २५ गते हत्या भयो । उनको विराटनगर–५ पृथ्वीचोकस्थित घरमा हत्या भएको थियो । हत्या आरोपमा मोरङ प्रहरीले भोलाकै भाइ ३१ वर्षीय साजन सिंहलाई पक्राउ गर्यो । राष्ट्रिय अनुसन्धानका सूचक सिंहको हत्या आफ्नै भाइले धारिलो हतियार प्रयोगबाट गरेको मोरङ प्रहरीको अनुसन्धानदेखि खुलेको थियो । पक्राउ परेका साजनलाई प्रहरीले मोरङ अदालतमा ‘कर्तव्य ज्यान’ मुद्दामा म्याद थप गरी अहिले अनुसन्धान गर्दै आएको छ ।
घटना २ः श्रीमतीको ‘किच्किच’ सहन नसकेपछि मोरङको बेलबारी नगरपालिका–७ का दैलपुरका ५४ वर्षीय अम्विका घिमिरेले १९ असारमा आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बेलबारी नगरपालिका–७ दैलतपुरका ४८ वर्षीया सीता घिमिरेको हत्या आरोपमा पति घिमिरे पक्राउ परेपछि यस्तो रहस्य बाहिर आयो । अम्विकाले श्रीमतीको किचकिच सहन नसकेपछि मदिराको नशामा लठ्ठिएर श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका घिमिरेले अहिले इप्रका बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।
घटना ३ः जेठ ४ गते राति रङ्गेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवले गरे । सामान्य घर झगडाको विषयलाई लिएर विनोदले आफ्नै भाउजूको विभत्स तरिकाले हत्या गरेका थिए ।
घटना ४ः सुनसरीको वराहक्षेत्र नगरपालिका–९ का उमेश पौडेल आफ्नै बुबाको हत्या अभियोगमा पक्राउ परे । उमेशले बुबा ३६ वर्षीय उपेन्द्र पौडेललाई वैशाख ७ गते तपेशले प्रहार गरेर घाइते बनाएका थिए । उपेन्द्रको उपचारका क्रममा वैशाख ९ गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । पछिल्लो समय जीवनभरि साथ दिने परिवारभित्रका सदस्य काल बनेर आउने गरेको घटना सार्वजनिक हँुदै आएको छ । जीवनभरि साथ दिन्छु भनेर विवाह बन्धनका बाँधिएकाहरू जघन्य अपराधको दलदलमा फस्ने गरेका छन् । सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर ह्वात्तै बढेको छ । भनाभनबाट सुरु हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको सङ्ख्या पनि लगातार प्रदेश १ मा बढिरहेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्याङ्क केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । प्रदेशमा पछिल्लो समयमा देखा परेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ ।
१४ जिल्ला रहेको प्रदेश १ मा ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएकामध्ये आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दाको घटनामा परिवारिक हत्याका मात्रै ५५ वटा घटना भएका छन् । एक वर्षमा ५५ वटा हत्याको घटनामा ५६ जना मारिएका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । आर्थिक वर्षमा भएका घटनामा ज्यान गुमाउने अधिकांश गृहिणी महिला छन् । पारिवारिक विवादमा ४६ महिला मारिएको प्रवक्ता एसपी राईले बताए ।
‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्’–प्रवक्ता राईले भने । सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच–पाँच, इलाम र उदयपुरमा चार–चार, खोटाङमा तीन, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा, पाँचथर र सङ्खुवासभामा दुई–दुई तथा भोजपुरमा एउटा हत्याको घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।
१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले बढ्दो पारिवारिक हत्याका घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको बताए । उनले बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैतृक धनसम्पत्तिको बाँडफाँट आदिले मानसिक समस्याका साथै अपराधसमेत बढाएकोले सबैलाई चिन्तित तुल्याएको बताए ।
‘कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिएर बस्नुपर्ने लगायतका कारण सुसुप्त रूपमा रहेको कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा यस्ता घटना हुने गरेको पाइन्छ’ डिआईजी बिसीले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान्, श्रीमतीभित्र नै जघन्य अपराध निम्तिइरहेको थुप्रै उदाहरण छन् ।’ उनका अनुसार परिवारभित्रको हत्यालगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी गराए ।
‘पछिल्लो समय बढ्दै गरेको आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ’ डिआइजी बिसीले भने, ‘कोभिड १९ सहज भएपछि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।’ स्केटक होल्डर र सामुदायिक प्रहरी साझेदारीमार्फत् कार्यक्रम सञ्चालन गर्ने डिआइजी बिसीले जानकारी गराए ।
सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईं पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवारकै सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ ।
‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हावी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’ पैसा र सम्पत्तिका लागि जे पनि गर्ने र गलत बाटो अङ्गीकार गर्ने चलन बढ्दा पुरानो चलन तथा संस्कारको परिपाटीमा ‘ब्रेकडाउन’ भएर परिवार र समाज विघटनतर्फ उन्मुख भइरहनु दुःखद् भएको प्रसाईंले बताए ।