इटहरी/ कोरोना महामारीका कारण सुनसरी इटहरीका ठूला लगानीकर्ता तनावमा छन् । करोडौं लगानीमा खुलेका होटल, पार्टी प्यालेस र स्विमिङ पुल यतिबेला सञ्चालनमा आउन नसक्दा लगानीकर्ता तनावमा रहेका हुन् ।
कोरोनाका कारण गरिएको बन्दाबन्दी खुकुलो बनाइए पनि नेपालमा अझै ठूला होटल र पार्टी प्यालेस सञ्चालनको अवस्था नभएको सञ्चालक बताउँछन् । बजारमा अन्य खालका व्यवसाय सञ्चालनमा आए पनि ठूला होटल, पार्टी प्यालेस र स्विमिङ पुलहरू सञ्चालनमा आउन नसकेको व्यवसायी बताउँछन् । अर्कोतिर सरकारले होटल, पार्टी प्यालेस र स्विमिङ पुललाई सञ्चालनको अनुमति दिएको छैन । जसका कारणले लगानीकर्ता यतिबेला तनावबाट गुज्रिएका हुन् ।
लामो समयदेखि इटहरीमा क्याटरिङ व्यवसाय गर्दै आएका दुर्गा र लायन्स दुई पार्टी प्यालेसका सञ्चालक राजकुमार कार्कीले कोरोनाको बन्दाबन्दीले आफूहरू सबैभन्दा बढी समस्यामा परेको बताए । आफ्नो करोडौंको लगानी बालुवामा पानीसरह हुन पुगेको उनको भनाइ छ । बैङ्कको ब्याज, कर्मचारी तलब र घरभाडा मात्र तिर्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ । पार्टी प्यालेसमा ताला लागेको छ । आम्दानीको स्रोत बन्द भएपछि किस्ता तिर्ने विकल्प नभएको उनले गुनासो गरे । ‘राज्यले पार्टी सबै व्यवसाय सञ्चालनमा आउँदा पार्टी प्यालेस मात्र किन बन्द गर्नु ?’–उनको प्रश्न थियो ।
इटहरी–२ आँपगाछीमा रहेको इम्पिरियल पार्टी प्यालेसका सञ्चालक गोपाल गिरी भन्छन्, ‘लकडाउन र सरकारी निर्णयले लामो समयदेखि व्यवसाय बन्द गरेर बस्नुपरेको छ, सबै व्यवसाय सञ्चालनमा आउँदा पनि हामीलाई अझै अप्ठ्यारो छ ।’ ‘यहाँभन्दा ठूलो अप्ठ्यारो हुन के नै बाँकी छ र ?’ उनले भने, ‘सरकार सँग जोरी खोज्न कहाँ सकिन्छ र ?’ सङ्क्रमण नरोकिने हो भने सधैँका लागि व्यवसाय बन्द गरेर बस्नुको विकल्प नरहेको व्यवसायीहरूको भनाइ छ ।

इटहरी–२ मा करोडौं लगानीमा निर्माण भएको पार्क पनि अहिले बन्द छ । कोरोना महामारी र लकडाउनले बन्द भएको इपिल्याण्ड पार्क करोडौं लागतमा बनेको हो । पार्क सञ्चालकमध्येका विनोद पौडेल राज्यले सबै नागरिकलाई खोपको व्यवस्था गरेर व्यवसाय सञ्चालन गर्नु दिनुपर्ने बताउँछन् । लकडाउनका कारण करोडौं रुपैयाँ जोखिममा परिणत भएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
केही व्यवसाय सञ्चालन गर्न प्रशासनले रोक लगाए पनि बजारमा भने भीडभाड अत्यधिक हुने गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च देखिए पनि सर्वसाधारणको अटेरीपन बढ्दो छ । सर्वसाधारणको अटेरीपन र लापरबाहीले गर्दा सङ्क्रमणदरसँगै मृत्युदर पनि उच्च हुँदै गएको छ । सपिङ मल तथा सरकारी कार्यालयहरूमा हुने अत्यधिक भीडभाड नियन्त्रणमा भने सुनसरी प्रशासन चुक्दै आएको छ ।