विराटनगर/ मोरङ–सुनसरीको औद्योगिक करिडोरभित्रका २९ वटा उद्योगविरूद्ध मुद्दा दायर भएको छ । उत्पादन गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दर्ता गरेको हो ।
मोरङका ९ र सुनसरीका २० वटा उद्योगले उत्पादन गरेका खाद्यवस्तु गुणस्तरहीन भेटिएपछि मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ सय १६ वटा उद्योगको बजार अनुगमन गरी उत्पादन नमुना सङ्कलन गरिएकामध्ये सुनसरीका २० र मोरङका ९ उद्योगबाट उत्पादित सामग्री गुणस्तरहीन भएको परीक्षणको प्रतिवेदन आएपछि मुद्दा दायर गरिएको बताए । खाद्यसँग सम्बन्धित वस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि अदालत र लेबलसँग सम्बन्धित वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग पत्र दायर गर्ने गरिएको छ ।
सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गत सुनसरीको सोनापुरमा रहेको एशियन थाई फुड्स प्रा.लि.का उत्पादनमा गुणस्तर कैफियत भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्ला प्रशासनमा दर्ता गरेको मुद्दा विचाराधीन छ । एशियन थाई फुड्सको चाउचाउमा खाद्य गुणस्तर मापदण्ड विपरीत जलांश (पानीको मात्रा) र एसिड भ्याल्यु बढी पाइएपछि गतवर्ष पुस २९ गते सुनसरी जिल्ला प्रशासनमा मुद्दा दर्ता गरिएको थियो ।
यस्तै सुनसरी डिभिजनले सुनसरीको दुहबीमा रहेको बिस्कुट उत्पादन गर्ने क्वालिटी हाइड एण्ड फुड प्रोडक्ट्स, पिउने पानी उत्पादन गर्ने प्रकृति जल उद्योग, इटहरीमा रहेको मटर फ्राइ उत्पादन गर्ने बाबा फुड प्रोडक्ट, दिव्यश्री जल उद्योग, सूर्यमुखी तेल उत्पादन गर्ने एभरेष्ट सल्भण्ट प्रालिको उत्पादन गुणस्तरहीन भेटिएछि मुद्दा दायर गरेको हो ।

यस्तै खाद्य पदार्थ उत्पादन गर्ने खनाल फुड प्रोडक्ट्स, बिस्कुट उत्पादन गर्ने पूर्वाञ्चल मिल्क एण्ड फुड्स प्रालि, सोयाबिन तेल उत्पादन गर्ने पशुपति खाद्य तेल उद्योग, बिस्कुट उत्पादन गर्ने क्वालिटी डाइट एण्ड फुड प्रोडक्ट्स, रिजाल टासी प्रालि, तोरी तेल उत्पादन गर्ने जे.के. आयल मिल, घ्यू उत्पादन गर्ने क्वालिटी फुड एण्ड स्न्याक्स, मैदा उत्पादन गर्ने क्वालिटी फुड एण्ड स्न्याक्सको उत्पादनमा कैफियत भेटेपछि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै भुजिया उत्पादन गर्ने मोरङको विराटनगर–११ मा रहेको रुमन फुड एण्ड वेभरेज उद्योग, ज्वानो उत्पादन गर्ने विराटनगर–९ को कपिश इण्टरप्राइजेज, केक र पाउरोटी उत्पादन गर्ने सुमन पाउरोटी उद्योग, कुखुराको दाना उत्पादन गर्ने अमूल्य फिड प्रालिविरुद्ध मुद्दा दायर गरिएको हो ।
यसैगरी घ्यू उत्पादन गर्ने बालाजी डेरी उद्योग र विराटनगर–४ का शिवम डेरी उद्योग, विराट गोल्छा घ्यू प्याकेजिङ र कुखुराको दाना उत्पादन गर्ने बूढीगङ्गा–७ मा रहेको एसियन फिड्स प्रालि विरुद्ध कैद र जरिबाना माग दाबी गर्दै मुद्दा दायर गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । सुनसरी र मोरङमा उद्योग विरुद्ध दायर गरिएको मुद्दा अदालत र प्रशासनमा विचाराधीन रहेको कार्यालयले जनाएको छ ।
ठूला उद्योगबाट उत्पादित खाद्य पदार्थ गुणस्तर प्रतिकूल भए पनि त्यसउपर कारबाही प्रक्रिया तत्काल नहुँदा उपभोक्ताले भने गुणस्तरहीन वस्तु नै उपभोग गर्न बाध्य हुनु परेको कार्यालय जनाउँछ । नाम चलेका र बजारमा ख्याती कमाइसकेका ब्राण्डेड खाद्यवस्तुको गुणस्तरमा प्रश्न उठ्दासमेत त्यस्ता वस्तुको बिक्री वितरणमा तत्काल रोक लाग्न सकेको छैन । प्रमुख रिजालले कुनै खाद्यवस्तुको नमुनामा कैफियत देखिए त्यही ब्याचको वस्तु उत्पादकले बजारबाट फिर्ता ल्याउनु पर्दछ । तर, त्यसका लागि दर्ता भएको मुद्दा फछ्र्यौट भएर कैफियत प्रमाणित हुनुपर्दछ ।
गत आर्थिक वर्ष मोरङमा नमुना सङ्कलन गरिएकामध्ये १०.३४ प्रतिशत वस्तुको गुणस्तरमा कैफियत फेला परेको थियो । त्यसमध्ये प्रशोधित पानीको १, दूध तथा दुग्ध पदार्थ २, खाद्यान्न, दलहन तथा सोबाट बनेका वस्तु ४, चिया कफी मसला १, दाना २, माछा मासुजन्य २ रहेका छन् । कार्यालय प्रमुख रिजालले आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै बजार अनुगमनका लागि कार्यालयमा जनशक्ति अभाव हुँदा समस्या भइरहेको बताए ।