सुनसरी। कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्ती रोक्न सोलार तारबारका लागि आएको बजेट काम नगरेका कारण फ्रिज भएको पाइएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट जङ्गली हात्ती मानव बस्ती पस्नबाट रोक्न सोलार तारबारको ठेक्का पाएको ठेकेदार कम्पनी फुङफुङ निर्माण सेवा धरानले समयमा काम नगर्दा डेढ करोड बजेट फ्रिज भएको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन अशोक रामले १० किलोमिटर क्षेत्रमा तारबार गर्न ठेक्का पाए पनि ठेकेदार कम्पनीले काम नगर्दा सङ्घीय सरकारबाट आएको डेढ करोड रुपैयाँ फ्रिज भएको बताए ।
वर्षौंदेखि हात्ती आतङ्क यथावत् रहँदा कोशीटप्पु वन्यजन्तु आरक्षका रैथाने हात्ती मकुनाको आक्रमणबाट गत बिहीबार एक जनाको मृत्यु भएको थियो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुनाको आक्रमणबाट कोशी गाउँपालिका–४ का स्थानीय ५२ वर्षका रामु खङ्गको मृत्यु भएको हो । खङ्गसहित पछिल्लो चारवर्षको अवधिमा हात्ती आक्रमणबाट २५ जनाको ज्यान गएको छ । तीमध्ये २० जनाको मकुनाको आक्रमणबाट मृत्यु भएको हो ।
कोशी गाउँपालिका–४ का वडाध्यक्ष अमिन मियाँ नेपालीका अनुसार यो वर्षौंदेखिको समस्या हो । जुन समस्या समाधान गर्न आरक्ष प्रशासन गम्भीर छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आउने हात्तीको समूहले गाउँमा ताण्डव मच्चाउनेदेखि घर तोडफोड गर्ने, भण्डारण गरी राखिएको अन्नबाली खाइदिनुका साथै मान्छे मार्दै आएको छ । हात्ती आतङ्क रोक्न यस क्षेत्रका सर्वसाधारण पटक–पटक आन्दोलित हुँदै आएका छन् । मध्यवर्ती क्षेत्रमा करोडौं खर्च गरेर हात्ती रोक्न विद्युतीय तारले घेराबारा गरिए पनि उक्त अभियान प्रभावकारी छैन । दिनहुुँजसो आउने हात्तीको त्रासले कोशी क्षेत्रका सर्वसाधारण राति जाग्राम बस्दै आएका छन् ।

टेर्दैनन् आरक्षका कर्मचारी
कोशीटप्पु वन्यजन्तु आरक्षबाट नियमितरूपमा हात्तीको समूह मानव बस्तीमा पस्ने गरे पनि स्थानीय आफैले रातभर जाग्राम बसेर हात्ती खेदाउने गरेका छन् । हात्तीले मानव बस्तीमा पसेर ताण्डव मच्चाउने गरेकोबारे आरक्ष प्रशासन जानकार भए पनि कुनै चासो नलिएको स्थानीयको गुनासो छ ।
‘हात्ती दिनहुँजसो आउँछन्, कतिबेला घर, टहरा भत्काइदिने हो टुङ्गो हुँदैन, हामी रातभर जाग्राम बस्नैपर्छ’ कोशी गाउँपालिका–४ का जाकिर मियाँले भने, ‘साँझको ७–८ बज्यो कि हात्ती गाउँमै आइपुगेको हुन्छ, कोशीटप्पु वन्यजन्तु आरक्ष र प्रहरीलाई खबर गरे पनि समयमा आउँदैनन् । स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरी ढिलो आइपुगे पनि पटक–पटक फोन सम्पर्क गर्दा आरक्ष कार्यालयका कर्मचारीको फोन उठ्दैन र उठे पनि आरक्षका कर्मचारी आउँदैनन् ।’
स्थानीयबासी र सुरक्षाकर्मी हात्ती खेदाउने उपायका बारेमा जानकार नहुँदा कतिपय अवस्थामा हात्ती रिसाउने र मानवीय क्षतिसमेत गर्दै आएको छ । सरकारी सेवासुविधा खाएर आरक्ष कार्यालयका वार्डेन अशोक रामसहितका कर्मचारीले हात्ती आतङ्क रोक्नुको साटो विभिन्न शीर्षकमा आएको बजेट दुरुपयोग गर्दै आएको स्थानीयले गुनासो गर्दै आएका छन् ।
सोलार तारले घेराबारा गरिएको भनिए पनि गाउँलेहरू त्रासमा रहेका छन् । आरक्षभित्रबाट गाउँ पस्ने हात्ती र अर्नाको समूहले अन्नबालीमा क्षति पु¥याउनुका साथै मानवीय क्षतिसमेत गर्दै आएको छ । हतारमा गरिएको घेराबाराले बजेट सकाउने काम मात्र भएको बताउँदै वडाध्यक्ष नेपालीले हात्ती गाउँमा पस्दासमेत आरक्ष प्रशासनले कुनै चासो नलिई भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।
‘कोशी टप्पुबाट हात्ती दिनहुुँ मानव बस्ती पस्छन्, फोन गर्दा फोन पनि रिसिभ गर्दैनन् वार्डेन र आरक्षका कर्मचारीले’–उनले भने । नियमित गाउँ पस्ने हात्तीको समूहलाई सर्वसाधारण आफैले लखेट्ने गर्छन् ।
‘कोशीटप्पु हात्तीका लागि उपयुक्त स्थान होइन’
कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन अशोक रामले कोशीटप्पु हात्ती बस्नको लागि उपयुक्त स्थान नभएको बताउँछन् । ‘कोशीटप्पु हात्तीको लागि स्थापना गरिएको क्षेत्र होइन, यो त अर्नाको लागि स्थापना गरिदिएको हो’–उनले भने । हात्तीलाई पानी र सुख्खा ठाउँ दुवै चाहिन्छ तर, दलदल वा सिमसार हात्तीको लागि उपयुक्त छैन ।
‘हात्ती ठूलो जनावर हो, यसलाई प्रशस्त खानेकुरा चाहिन्छ’ वार्डेन रामले अगाडि भने, ‘कोशीटप्पु क्षेत्रको जङ्गलमा खानेकुरा प्रशस्त भए पनि जङ्गलमा पूरै पानी भएकोले सुख्खा स्थान खोज्दै हात्ती गाउँ पस्ने गरेका छन् ।’ ‘कोशीटप्पु क्षेत्रमा हाल रहेका १४ वटामध्ये ८ वटा हात्ती समस्याग्रस्त रहेकाले हामीले २४ सै घण्टा मोनिटरिङ गरिरहँदासमेत रोक्न सकेका छैनौं’–उनले थपे ।