विराटनगर । सावाँ र ब्याज तिर्न नसक्दा एक वर्षअगाडि बन्द भएको विराटनगरस्थित इच्छा बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताहरूको लाखौं रूपैयाँ तिर्न बाँकी रहेको खुलेको छ । निक्षेपकर्ताहरूको लाखौं रुपैयाँ बचत गरेको रकम इच्छा सहकारीले दिन बाँकी रहेको खुलेको हो ।

सहकारीले अहिले निपेक्षकर्ताहरूले बचत गरेको पैसा दिन आलटाल गर्दै आएको बचतकर्ताहरूले गुनासो गरेका छन् । आफूले बचत गरेको पैसा सहकारीले दिन आलटाल गर्दै आएको विराटनगर–१७ रानीका रेहमान आलमले बताए । उनले इच्छा सहकारीमा २०७५ साल साउन १४ गते खाता खोलेका थिए । किराना पसल सञ्चालन गर्दै आएका आलमले इच्छा सहकारीमा मुद्दती र चल्ती खाता खोलेको उनले बताए ।

‘मुद्दती खाता खोलेपछि दैनिक १–२ हजार रुपैयाँ जम्मा गर्दै आएको थिएँ’ उनले भने,  ‘वर्ष दिनभरिमा मुद्दती र चल्ती खातामा गरी १२ लाख रूपैयाँ बचत गरेको रहेछु । काम परेपछि पैसा झिक्न सहकारीमा जाँदा बन्द रहेको छ ।’ आलमले सहकारीका अध्यक्ष र सञ्चालकहरूलाई भेटर आफूले बचत गरेको रकम फिर्ता दिन माग गर्दा आलटाल गरेको बताए ।

वर्ष दिनभन्दा बढी भइसक्दा पनि आफूले बचत गरेको पैसा सहकारीले नदिएको उनले गुनासो गरे । ‘बचत गरेको पैसा लिन जाँदा सहकारी बन्द गरी सञ्चालकहरूले अर्कै व्यवसाय सुरु गरेका रहेछन् । बचत गरेको पैसा माग्दा, महिना दिनपछि दिन्छु भन्दै झुलाएर हैरान बनाइसके, अहिलेसम्म बचत गरेको पैसा पाएको छैन’–उनले भने । सहकारीले बचत गरेको १२ लाखको दुईवटा चेक दिएको भए पनि बैङ्कमा पैसा नभएको उनले बताए ।

५ लाखको चेक गतवर्षको साउन ३० मा र अर्को ७ लाखको चेक कात्तिक १२ गतेको आलमलाई दिइएको छ । ‘फरक–फरक मितिका दुईवटा चेक दिएको छ’ चेक देखाउँदै उनले भने, ‘चेक बोकेर बैङ्कमा गएको, खातामा पैसा छैन । एक वर्ष भइसक्यो यो चेक बोकेर साट्न हिँडेको अहिलेसम्म साटिएको छैन ।’

सहकारीका सञ्चालकहरूले भनेको मितिमा निक्षेपकर्ताहरूको पैसा नदिएपछि कानूनी कारबाहीको प्रक्रियामा अगाडि बढ्ने तयारी उनीहरूले सुरु गरेका छन् । इच्छा सहकारीका अध्यक्ष श्यामबाबु साह, सचिव इन्द्र कोइराला र व्यवस्थापक तथा सञ्चालक सम्झना कोइराला हुन् ।

उनीहरू अहिले विराटनगरको बरगाछीमा सिटी रिक्साको पसल सञ्चालन गरेर बसेका छन् । उनीहरूको ‘इशा ट्रेडर्स’ नाम गरेको पसल रहेको छ । बचतकर्ताहरूले सहकारीका सञ्चालकहरूले सहकारीको पैसा व्यवसायमा लगानी गरेर डुबाएको आरोप लगाएका छन् ।

सहकारीले अन्धाधुन्ध रूपमा कर्जा प्रवाह गरेको थियो । सहकारी सञ्चालक तथा व्यवस्थापक सम्झना कोइरालाले विना धितो ऋण प्रवाह गरेको र लगानी उठ्न नसक्दा सहकारी बन्द गरिएको बताइन् । ‘अहिले पनि बजारमा १ करोड रूपैयाँ उठ्न बाँकी रहेको छ’ उनले भनिन्, ‘ऋण प्रवाह गरेको पैसा उठ्न बाँकी रहेको छ । उठ्दै गएपछि तिर्न बाँकी रहेको निक्षेपकर्ताहरूको पैसा दिनेछौं ।’