विजयपुर । टमाटर र प्याजको मूल्य एकसाताभित्रै ३ गुणाभन्दा बढीले बढेको छ । एक्कासि तीन गुणाभन्दा बढी मूल्य बढे पनि नियामक निकाय मौन छ । स्थानीय सरकार गठनपश्चात् उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति रहेको छ ।
धरान बजारमा एकसाता अगाडि टमाटरको मूल्य प्रतिकिलो ३० देखि ४० रुपैयाँ रहेको उपभोक्ता बताउँछन् । प्याजको मूल्य तीन दिन अघिसम्म प्रतिकिलो ५० देखि ६० रुपैयाँ रहेको थियो ।
एकसाता यता नै टमाटरको मूल्य ९० रुपैयाँदेखि १ सय रुपैयाँसम्म रहेको उपभोक्ता बताउँछन् । टमाटरको मूल्य धरान–३ स्थित पालिका बजार र भानुचोक नजिक गौतम पथमा रहेका सब्जी बजारमा ९० रुपैयाँ रहेको छ भने त्यहाँ विभिन्न चोकतिरका सब्जी व्यापारीहरूले १ सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन् ।
धरान–६ पानबारीका दिलकुमार कोइराला पालिका बजारमा एक हप्ताअगाडि टमाटरको मूल्य ३० रुपैयाँ मात्रै रहेको बताए । उनले पालिका बजारमै पनि मङ्गलबार प्रतिकिलो १ सय रुपैयाँमा खरिद गर्नुपर्दा छक्क परेको बताए ।

त्यस्तै अर्की उपभोक्ता रञ्जिता राईले टमाटरको मूल्य एक्कासि आकाशिएको बताइन् । उनले भनिन्, ‘एकहप्ता अगाडि ३० देखि ४० रुपैयाँ रहेको टमाटरको मूल्य हाल १ सय पुग्दा पनि उपमहानगरले चासो नराख्नु दुःखद् हो ।’
टमाटरको मूल्य वृद्धि उत्पादन लागतमा वृद्धि भएको कारण नभई अभाव भएका कारणले भएको हो । पालिका बजारका व्यापारीहरू भने कृषि बजारमा नै मूल्य वृद्धि भएकाले आफूले पनि वृद्धि गर्नु परेको प्रतिक्रिया दिन्छन् ।
व्यापारी दीपक पण्डित कृषि बजारमा नै ८० रुपैयाँ परेकाले ९० रुपैयाँमा बिक्री गरेको बताउँछन् । उनले भने, ‘८० रुपैयाँ कृषि बजारमा पर्छ, केही नष्ट हुन्छ र यातायातको भाडा तिर्दा प्रतिकिलो ५ रुपैयाँ बच्छ ।’
अर्का व्यापारी सुदीप जैसवाल बजारमा अभाव भएकाले महँगो भएको बताउँछन् । उनले एक हप्ताअगाडि टमाटर प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरे पनि अहिले ९० रुपैयाँमा बिक्री गर्ने बताउँछन् । उनका अनुसार ३ दिन पहिले प्याजको मूल्य ६० रुपैयाँ थियो भने अहिले ८० रुपैयाँ छ ।
धरान कृषिउपज बजार व्यवस्थापक लक्ष्मण भट्टराई आपूर्ति कम भएकाले मूल्य आकाशिएको बताउँछन् । उनलाई आपूर्ति कम भए पनि लागत त उही होला मूल्य किन वृद्धि भन्ने जिज्ञासामा उनले व्यापारीले कति मूल्यमा धरान ल्याइपु¥याउँछन् भन्ने कुरा नै निश्चित नहुने प्रतिक्रिया दिए ।
‘पहिले धेरै उत्पादन हुँदा १०–१५ रुपैयाँसम्ममा बिक्री गरे, त्यतिबेला कृषकको लागत उठेन, हाल कम उत्पादन भयो, बढी मूल्यमा बिक्री गर्दैछन्’ उनले भने, ‘कति लागतमा आयात भयो भन्ने जानकारी नहुँदा मूल्य मनपरी निर्धारण हुन्छ ।’ आयातका विषयमा सम्बन्धित निकायले अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
धरान उपमहानगरकी उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक मञ्जु भण्डारी सुवेदी माग बढी र आपूर्ति कम भएकाले मूल्य वृद्धि भएको बताउँछिन् ।
‘लकडाउनमा कृषकले उत्पादन गरेको वस्तु क्षति भयो, तेस्रो लहरको त्रासले उत्पादन कम गरे, त्यसैले मूल्य वृद्धि भयो’ उनले भनिन्, ‘हामी अनुगमनमा छौँ, कृषकलाई मार नपर्ने गरी सकेसम्म न्यूनीकरण गर्न लागिपरेका छौँ ।’