धरान । विदेशमा लामो समय पसिना बगाएर फर्किएका इलाम चुलाचुली गाउँपालिका–२ का निशान राईको गाउँमै सङ्घर्षको अर्को खण्ड सुरु भएको छ ।

साउदी अरबमा १० वर्ष बसेपछि गाउँ फर्किएका ३७ वर्षीय निशानले बङ्गुर फर्म सुरु गरेका हुन् । २०७६ सालदेखि सुरु गरेको बङ्गुर फर्म अहिले बढ्दो क्रममा छ । ‘धेरै वर्ष विदेशमा मिहिनेत गरियो, अब आफ्नै गाउँठाउँमा केही गरौं न त भनेर सुरु गरेँ’–निशान भन्छन् । गाउँ आएर पनि निशानका लागि कुनै व्यवसायमा हाम्फाल्नु सहज थिएन ।

के गर्ने भन्ने दुविधाका बीच परम्परागत सुँगुर पालनलाई आधुनिक गर्ने सोच बनाए । त्यही सोचले अहिले मूर्तरूप लिँदै गर्दा आनन्दको सास फेर्न थालेका छन् तर, अहिले पनि स्थापित व्यवसायी हुन मिहिनेत गरिरहेका छन् उनी । उनी भन्छन्, ‘गाउँमा के गर्ने भन्ने सोच दिमागमा थिएन, केही गर्ने भन्ने त थियो, तर के गर्ने ? दिमाग खाली थियो ।’

उनले सुरुमा परम्परागत सुँगुर पालनलाई नै निरन्तरता दिए । ८ वटा पाठाबाट सुरु गर्दा जुन प्रतिफल आउनुपर्ने हो, त्यो भएन । त्यसपछि विस्तारै सुँगुर पालनलाई त्याग्दै हाइब्रिडतिर लागे । अहिले खोरभरि हाइब्रिड मात्रै छन् । विभिन्न प्रजातिका हाइब्रिडलाई बढाउनतिर लागेको उनी सुनाउँछन् ।

‘३ लाख रुपैयाँदेखि थालेको थिएँ, अहिले १० लाख रुपैयाँ लगानी भइसक्यो’ उनी सुनाउँछन्, ‘खोर बनाउनै महँगो हुने रै’छ ।’ हाइब्रिडका लागि फरक–फरक कोठा बनाउनुपर्ने र बङ्गुरको वीर पनि अलग्गै राख्नुपर्ने भएकाले पनि भौतिक संरचनामा खर्च धेरै भएको उनी बताउँछन् । उनले माउ पालनलाई बढी प्राथमिकता दिएका छन् । उनको खोरमा अहिले २३ माउ छन् । बच्चा उत्पादनबाट अन्यभन्दा राम्रो प्रतिफल हुने भएकाले माउ पालनलाई जोड दिएको उनको भनाइ छ ।

‘बच्चा चाँडै बिक्छ, वर्षमा दुईचोटी ब्याउँदा माउले खाएको खर्च उठ्छ’–उनी भन्छन् । बच्चा गाउँ–गाउँमै व्यापारीहरू लिन आउने भएकाले पनि बिक्रीका लागि धेरै कष्ट उठाउनु नपर्ने उनको कथन छ । ‘व्यापारीहरू घरघरै आउँछन्, यहाँको बच्चा धरानसम्म लगेर बिक्री गर्छन्’ –उनी भन्छन् । बङ्गुर फार्मलाई अझै बढाउँदै लाने योजनामा उनी छन् । कम्तीमा तीस माउ पु¥याउने उनको योजना छ । फार्मकै आम्दानीले घरपरिवार चलाउनेदेखि सुख–दुःखको काममा पनि भरथेक हुने गरेको उनी बताउँछन् ।

‘विदेश बस्दा एक्लो खटाइ हुन्थ्यो, यहाँ घरपरिवारले साथ दिएका छन्’ उनी भन्छन्, ‘फार्म भएपछि जहाँ गए पनि ४ बजे घरमै आइपुगिन्छ, बङ्गुर पनि छोराछोरीजस्तै लाग्दोरहेछ ।’ एक दशक विदेशको अनुभव सँगालेका निशान भन्छन्, ‘युवाहरू विदेश जानुभन्दा आफ्नै देशमा केही गरे राम्रो हुन्छ, यदि जानै परे पनि केही वर्ष जाने, कमाउने, फर्किने गरी गए राम्रो हुन्छ ।’

आफू १० वर्ष अगाडिदेखि नै कुनै न कुनै व्यवसायमा भएको भए आज स्थिति धेरै फरक भइसक्ने उनी अनुभूति गर्छन् । १० वर्षअघि बङ्गुर व्यवसाय नै गरेको भए आज उनी स्थापित बङ्गुर व्यवसायी बनिसक्ने थिए तर, आज स्थिति फरक छ । उनी भन्छन्, ‘तैपनि केही गरिँदैछ, ढिलै भए पनि केही छैन, केही होला भन्ने कुरामा आशावादी छु ।’