धनकुटा । अविरल वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले धरान–धनकुटा सडक खण्डअन्तर्गत घण्टेमा सडक बगाउँदा धरान–धनकुटाको सम्बन्ध बिच्छेद भएको छ । 

कोशी लोकमार्गअन्तर्गत पर्ने सडक मंगलबार अपरान्ह ४ बजेतिर करिब २ सय मिटर पक्की सडक बगाउँदा यातायात अवरुद्ध भएको हो । भारी वर्षाका कारण लेउती खोलामा आएको बाढीले सडक कटान गरी पक्की सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए । 

सडक बगाएपछि धरान–धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए् । निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालन गर्न असहज भएको प्रजिअ पन्थले जानकारी दिए । 

वर्षा नरोकिए तत्काल सञ्चालन गर्न नसकिने उनको भनाइ छ । त्यस्तै पाख्रीवास नगरपालिका–५ डिकुरेमा पहिरो झरेर मध्य पहाडी लोकमार्ग अवरोध भएको थियो । तर साँझपख खुलाइएको छ । यता धनकुटा नगरपालिका–४ सल्लेरीमा पनि सल्लाको रुख ढलेर सडक अवरुद्ध भएको प्रजिअ पन्थले जानकारी दिए । सुरक्षाकर्मीको सहयताले केही रुख पन्छ्याइए पनि बिजुलीको पोलमा सटेर लडेका रुख पन्छ्याउन नसक्दा ठूला सवारी साधन आवातजावतमा समस्या भएको छ ।