मोरङमा ९ हजार ८ सय ९६ हेक्टर, सुनसरीमा ९ हजार ७ सय हेक्टर र झापामा १३ हजार १ सय २५ हेक्टरको धानबालीमा हावाहुरी र बाढीले क्षति पुर्याएको छ ।
विराटनगर । ५३ वर्षपछि बेमौसममा आएको वर्षाका कारण प्रदेश १ मा अन्दाजी ५० हेक्टर धान बालीमा क्षति पुर्याएको छ ।
बूढापाकाका अनुसार २०२५ सालमा पनि कात्तिकको समयमा यस्तै गरी वर्षा भएको थियो । त्यो बेला पनि पाकेको धान बाली नष्ट गरेको थियो । ठीक ५३ वर्षपछि पनि अविरल वर्षाका कारण प्रदेश १ का तराईका साथै पहाडी क्षेत्रको धान बालीमा क्षति पुर्याएको छ ।
धान पकेटक्षेत्र मानिने झापा, मोरङ र सुनसरीका अधिकांश खेतहरू जलमग्न बन्दा काटिएको धान तथा नकाटिए पनि पाकेका धानहरू सोत्तर भएर लडेका छन् ।
१४ जिल्ला रहेको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टर मध्ये ३ लाख ३६ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । त्यसमध्ये प्रारम्भिक रूपमा ५० हजार हेक्टर अर्थात् करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्याएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।
जसमध्ये ३ प्रतिशित अर्थात् १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको पाकेको धान हावाहुरीले पानीमा लडाएको कारणले कामै नलाग्ने पूर्णरूपमा क्षति भएको उनले बताए । प्रदेश १ मा किसानले रञ्जित, मन्सुलीलगायतका धान लगाएका छन् ।

‘अहिलेको यो प्रारम्भिक तथ्याङ्क हो’ उनले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्दछ । आउने क्रमम जारी छ ।’ अन्न उत्पादनको भण्डारको रूपमा हेरियो झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी पाकेको धानमा हावाहुरी र वर्षाले क्षति पुर्याएको छ । झापामा २० प्रतिशत धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार बालुवा वा माटोले पुरिएको बाहेकलाई पूर्ण क्षति भएको भन्न नमिल्ने अवस्था हुन्छ । त्यसको विवरण सङ्कलन गर्ने कार्य भइरहेको सिंहले जानकारी दिए । ज्ञान केन्द्रले अहिलेसम्म ५ वटा स्थानीय तहको क्षतिको विवरण सङ्कलन गरिसकेको उनले बताए ।
‘बोट लडेको धानमा पनि ७० प्रतिशत उत्पादन हुन्छ, उहाँहरू त्यसलाई १ सय प्रतिशत मानेर विवरण सङ्कलन गर्दै हुनुहुन्छ’ सिंहले भने, ‘उहाँहरूको कामले गर्दा अलि समस्या उत्पन्न हुन्छ, तर हामी आफ्नो काम तोकिएको समयमा पूरा गर्छाैं ।’ झापामा यो वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो । त्यसमा २० प्रतिशतभन्दा कम क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । पूर्णरूपमा क्षति भएको भने १० प्रतिशतभन्दा कम हुने ज्ञान केन्द्रको अनुमान छ ।
यस्तै कृषि ज्ञान केन्द्रका अनुसार सुनसरीमा पनि अन्दाजी २० प्रतिशत धान बालीमा क्षति पु¥याएको छ । सुनसरीमा ७४ हजार ५ सय ४२ हेक्टरमा धान खेती गरिएको थियो । कार्यालयका प्रमुख नुनुलाल उराँवले सुनसरीमा अन्दाजी २० प्रतिशत धानबालीमा क्षति पुर्याएको अनुमान गरे । बिहीबार केन्द्रका पदाधिकारीहरू वस्तुगत विवरण सङ्कलन गर्ने क्रममा रहेका छन् ।
सुनसरीमा ८१ हजार ९ सय ४४ हेक्टर खेतीयोग्य जमिन रहे पनि यस वर्ष ९७ प्रतिशत जमिनमा मात्रै खेती भएको थियो । मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात् ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ ।
प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, सङ्खुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुङ्गामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा रोपाइँ भएको थियो ।
प्रदेश १ मा गतवर्ष १३ लाख टन धान उत्पादन भएको थियो । यसपालि १४ लाख टन भन्दाबढी धान उत्पादन हुने निर्देशनालयको लक्ष्य थियो ।