विजयपुर । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले जग्गा किनेको चार दशकपछि भूमिसुधार तथा मालपोत कार्यालयले मोहीलाई जग्गा दिन आदेश दिएपछि विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले सोमबार क्याम्पस प्रमुखको कुर्सी जलाएर विरोध जनाए भने मङ्गलबार क्याम्पसमै राजनीतिक दल तथा सरोकारवालाहरूसँग सार्वजनिक बहस कार्यक्रम गरे ।
कार्यक्रममा सहभागी अधिकांश राजनीतिक दलका स्थानीय नेताहरूले चार दशकपछि मोहीको विषय उठ्नु भूमाफियाको चलखेल भएको बताएका छन् । उनीहरूले जनप्रतिनिधि र क्याम्पस प्रशासनको कमजोरी भएको तर्क गरेका छन् । चार दशकदेखि भोगचलनसमेत नभएको थाहा हुँदाहुँदै कृत्रिम मोही हकवालाका नाममा सिफारिस गर्ने वडा नं. ११ का वडाध्यक्ष बाबुलाल लामा र सिफारिसका लागि दबाव दिने धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको नियतमाथि पनि प्रश्न उठाइएको छ ।
क्याम्पसका विद्यार्थी सङ्गठनहरूले मङ्गलबार क्याम्पसको सभाहलमा आयोजना गरेको छलफलमा वडा नं. ११ का अध्यक्ष लामाले बारम्बार दबाव आएपछि आफूले सिफारिस गरेको बताए । उनले भने, ‘मैले ३ पटकसम्म मोहीको हकवालालाई रोकेँ । मलाई एक कल फोनमा सिफारिस गर्न लगाउँछु भन्दै गए ।
त्यसपछि तत्कालीन कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले फोन गरेर सिफारिस दिन लगाउनुभयो । मैले प्रमुखकै कुरा पनि २ पटकसम्म मानिनँ । पुनः फोन गरेर दिनू भनेपछि हुन्छ भनेँ ।’ आफूले अढाई महिना सिफारिस रोकेको उनले बताए । उनले भने, ‘पछि मोहीको हकवाला आए अनि उपप्रमुखलाई फोन गरे । उहाँ काठमाडौं हुनुहुँदो रहेछ उहीँबाट दिनू भनेपछि दिएँ । मैले नियतवश दिएको होइन । दबाव थाम्न सकिनँ ।’

उनले बारम्बार कार्यवाहक नगर प्रमुख भण्डारीबाट दबाव आएकाले दिन बाध्य भएको बताए । छलफलमा एमाले संस्थापन पक्षका धरान अध्यक्ष हर्कजङ एभेङले धरान–११ का वडाध्यक्ष बाबुलाल लामाले दबावमा परेँ अनि गरेँ भन्न नमिल्ने बताए । सार्वजनिक जग्गामा सिफारिस गर्नाले शङ्का गर्ने प्रशस्त ठाउँ रहेको उनले बताए ।
उनले भने, ‘जनप्रतिनिधिले कस्तो सिफारिस गर्दैछु भन्ने हेक्का नराख्नु ठूलो भूल हो । क्याम्पस प्रशासनको पनि कमजोरी हो ।’ उनले चाडबाडको समयमा मुद्दाको किनारा लगाउने अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालय पनि भूमाफियाको प्रभावमा परेर कार्य गरेको दाबी गरे ।
एमाले धरानका अर्का अध्यक्ष नारायण सुवेदीले पनि मोहीका नाममा भूमाफियाले चलखेल गरेको बताए । उनले मोहीले खनजोत नगरेको र कुत राजस्व पनि नतिरेको बताए । उनले भने, ‘मोहियानी हक होइन । भूमाफियाको चलखेल हो ।’
नेपाली काङ्ग्रेस धरानका सभापति श्याम पोखरेलले पहिलो ठूलो गल्ती कार्यवाहक प्रमुखबाट भएको बताए । उनले वडा नं. ११ का अध्यक्षलाई जसरी पनि गरिदिनू भनेर किन दबाव दिइयो ? भन्दै प्रश्न उठाए । उपप्रमुखले धराने जनतालाई जवाफ दिनुपर्ने बताउँदै उनले भने, ‘दबावै दबावको कुरा छ ।’ उनले क्याम्पस प्रशासनले पनि गल्ती गरेको बताए ।
‘जग्गाको विषयमा एउटा समिति बनाएर पहल गरौं भन्दा क्याम्पस प्रमुख मान्नुभएन’ उनले भने, ‘धेरैवटा पेशी आएको जानकारी नदिनु र नपाउनु ठूलो कमजोरी वा नियत हो, सार्वजनिक हुनुपर्छ ।’
माओवादी केन्द्रका नेता आइन्द्रविक्रम बेघाले भूमाफियाले सार्वजनिक सम्पत्ति हडप्नका लागि चलखेल गरेको बताए । उनले भने, ‘उपप्रमुखले वडाध्यक्षलाई किन दबाव दिनुभयो । भूमाफिया, कानून या अन्य के ले दबाव दियो । जनताको सामु ल्याउनुपर्छ ।’
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान मञ्च धरान अध्यक्ष सञ्जुहाङ साँवाले जग्गा हडप्न ठूला राजनीतिक दलका नेता, जनप्रतिनिधिको संलग्नता रहेको बताए । उनले भने, ‘कृत्रिम मोहीलाई सिफारिस गर्नु र गर्न दबाव दिनाले संलग्नता देखियो ।’
उनले जग्गा भूमाफियालाई दिनका लागि क्याम्पसभित्रै पनि चलखेल भएको बताए । उनले भने, ‘बाबुलाल लामा स्वयम् मान्छे नै जाँदा सिफारिस गर्दैनन् । अनि मरिसकेको मान्छेको कृत्रिम मोहीलाई सार्वजनिक जग्गा सिफारिस गर्नुमा ठूलो षड्यन्त्र र नियत हो ।’
जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूले मोही भए पनि खरिद गर्दाकै समयमा दिनुलिनु पर्ने बताए । उनले क्याम्पसको नाममा आएदेखि कसैले जोतखन गरेको नदेखिएको र जोतखन नभएपछि मोही पनि नहुने बताए । उनले भने, ‘जनप्रतिनिधिले गलत गरे । सरोकारवालासँग छलफल बृहत् गर्नुपथ्र्यो । उपप्रमुख एक्लै अघि बढ्नुभयो । त्यसमा शङ्का छ । क्याम्पसको जग्गामा मोही छैन । भूमाफिया छन् । त्यसलाई निस्तेज गर्नुपर्छ । यदि गर्न सकिएन भने धरानको कुनै पनि सार्वजनिक जग्गा रहँदैन ।’
धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सिफारिस दिनलाई दबाव नदिएको दाबी गरिन् । उनले एउटा किसानको छोरो आएपछि किसान होइन भन्न नमिल्ने बताइन् । उनले भनिन्, ‘उपमहानगरले सर्जमिन गरेर मोही किसानको छोरो होइनस् भन्न मिल्दैन ।’ उनले किसानले पाउने हो भने बिक्री गर्नुभन्दा पहिले नै पाउनु पर्ने र अब नपाउने जिकिर गरिन् । उनले क्याम्पसले खरिद गर्नुभन्दा पहिले लिनुपर्ने र अहिले प्रमाणमा राजस्व नतिरेको र खनजोत पनि नगरेको बताइन् ।
अहिले त्यही ढङ्गले सर्जमिन गरेर पठाएको पनि बताइन् । उनले भनिन्, ‘नागरिकका अधिकारका रूपमा सफिारिस दिएको हो । नियत होइन ।’ उनले मोहीले सार्वजनिक सम्पत्ति दाबी गरेको हुनाले जग्गा प्राप्त नगर्ने दाबी गरिन् । आफूले सोहीअनुसार भूमिका निर्वाह गर्ने उनले बताइन् । उनले क्याम्पस प्रशासनको पनि कमजोरी भएको बताइन् । ‘किसान मोही आउँदा क्याम्पस प्रशासनले हेक्का राख्नुपर्छ कि पर्दैन ? लगत कट्टा गर्नुपर्छ । क्याम्पस प्रशासनले खेल्ने ठाउँ दियो’ उनले भनिन्, ‘यो विषय यति गम्भीर भनेर थाहा पनि थिएन । नैसर्गिक अधिकार भनेर सिफारिस गरेँ । मोही निक्र्यौल गर्ने अधिकार क्याम्पसको हो ।’
विद्यार्थी नेता रविन श्रेष्ठले क्याम्पसको स्वामित्व रहेको सम्पत्तिमा कीर्ते मोही खडा गरी भूमाफियाले चलखेल गरेकाले भूमाफियालाई पराजित गर्नका लागि बहस गरिएको बताए । उनले कीर्ते मोही र भूमाफियालाई पराजित गर्न धरानवासी राजनीतिक दलसँग बहस गरेको जानकारी दिए ।
यसैबीच एमाले धरानको संस्थापन इतर पक्षले विज्ञप्ति जारी गर्दै क्याम्पसको जग्गा लामो समयदेखि भोगचलन नभएको, कुत तिरो, करको रसिद निस्सा नभएको स्थलगत सर्जमिन पेश हुँदाहुँदै पनि एक पक्षीयरूपमा असोज २५ गते भूमिसुधारले मोहीयानी नामसारी गरेकोमा आपत्ति जनाएको छ । अध्यक्ष नारायण सुवेदी र सचिव पारस काङ्माङद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पसको जग्गा हडप्न भूमाफिया र दलाल लागेको जनाइएको छ ।
धरान–११ स्थित स्वस्तिक चोकमा क्याम्पसको कित्तानम्बर २६६ को ४५ करोड मूल्य बराबरको १७ कठ्ठा १८ धुर जग्गा मोहीको नाममा अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालयले नामसारी गर्ने फैसला गरिसकेको छ ।