धरान । सूचना प्रविधिको द्रूततर विकासमा अगाडि बढिरहेको सन्दर्भमा धरानको एम्स एकेडेमीसम्बद्ध नेशनल बहुमुखी क्याम्पसमा चार वर्षे ‘बीएड आइसिटी’ कक्षा सञ्चालन हुन लागेको छ ।
चालु शैक्षिक सत्रबाटै क्याम्पसले प्रविधिको क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै चार वर्षे बीएड आइसिटी कक्षा सञ्चालन गर्न लागेको हो ।
क्याम्पस प्रशासनले बुधबार पत्रकार सम्मेलन गर्दै सूचना प्रविधिमा फड्को मारिरहेको नेपालमा आइसिटी कक्षाको महŒव झनै बढ्दै गएकाले सुरु गर्न लागिएको क्याम्पसका प्राचार्य मित्र तामाङले बताए । उनका अनुसार बीएड आइसिटीका अलावा चार वर्षे बीएड र बीबीएस कक्षा सञ्चालन हुन लागेको हो ।
नेशनल बहुमुखी क्याम्पसलाई एम्स एकेडेमीका सञ्चालक समितिले एकीकृत गर्दै सञ्चालनमा ल्याउन लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले सञ्चालन गर्न लागेको आइसिटी कक्षा सुनसरीका पहिलो हो ।
सूचना प्रविधिको युगलाई मध्यनजर गर्दै आइसिटी कक्षा सञ्चालन गर्न लागिएको शिक्षा संयोजक दुर्गा सुवेदीले बताए । आइसिटीका लागि कक्षा १२ उत्तीर्ण गरेका जुनसुकै सङ्कायका विद्यार्थीहरू पनि भर्ना हुन पाउने सुविधा रहेको छ ।
‘व्यवस्थापन, शिक्षा, मानविकी तथा विज्ञान सङ्कायका विद्यार्थीहरू पनि भर्ना हुन पाउँछन्’ उनले भने, ‘कक्षा १२ उत्तीर्ण गरी कक्षा लिन असम्भव भई बसेकाहरूका लागि पनि विशेष व्यवस्था गरेका छौं । उनीहरूलाई पनि अध्ययन गर्ने वातावरण बनाएका छौं ।’
चार वर्षे आइसिटीका लागि न्यूनतम् शुल्कमा अध्यापन गर्न सक्ने क्याम्पसले जनाएको छ । किनकि बिएस्सी सिएसआइसिटी तथा बिई कम्प्युटर अध्ययन पूरा गर्न सरदर ४ देखि ५ लाख रुपैयाँसम्म लाग्छ भने यसका लागि क्याम्पसले १ लाख ४० हजार रुपैयाँमा पढाउने तयारी गरेको प्राचार्य तामाङले बताए ।
क्याम्पसले दलित, आदिवासी, जनजाति, सीमान्तकृत वर्ग, क्षेत्र र समुदायका विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको समेत व्यवस्था रहेको जनाएको छ । आइसिटीको क्षेत्र व्यापक हुँदै गएकाले पनि पढाइलगत्तै जागिर पाउने सम्भावना पनि प्रबल रहेको नेशनल बहुमुखी क्याम्पसका पूर्व प्राचार्य सागर भट्टराईले बताए ।
‘पढिसक्ने बित्तिकै जागिर निश्चित रूपमा पाउँछ’–उनले भने । क्याम्पसले प्लेग्रुपदेखि स्नातकोत्तरसम्म पठन–पाठन गर्ने उद्देश्यले आगामी वर्षभित्र बीएसडब्ल्यू, बीबीए, बीए, एलएलबी, बीसीए, बीआइएम, बीआइटी, एक वर्षे बिएड र एमएड जस्ता प्रविधिमैत्री विषय पनि अध्यापन गराउने योजना रहेको जनाएको छ ।