धरान । पूर्वोत्तर भारतको आसाम र मेघालयबाट नेपाली व्यवसायीहरूलाई भारत सरकारले कोइला (इन्धन) आयात गर्न रोक लगाएको छ । कोइला आयात गर्न रोक लगाएपछि इँटा भट्टीलगायत विभिन्न उद्योग कलकारखाना सञ्चालकहरूले महँगोमा अन्य मुलुकबाट कोइला आयात गर्न बाध्य भएका छन् ।
आसाम र मेघालयबाट नेपालमा केही महिना अघिसम्म प्रतिकिलो १५ रुपैयाँदेखि २० रुपैयाँमा कोइला आयात हुने गरेको थियो । तर, भारतले एकाएक कोइला निर्यातमा रोक लगाएपछि हाल नेपालमा अमेरिका र इण्डोनेशियाबाट कोइला आयात हुँदै आएको छ ।
अमेरिका र इण्डोनेशियाबाट आयात भएका कोइला कमसल हुनुका साथै प्रतिकिलो ४५ रुपैयाँदेखि ४८ रुपैयाँसम्म मूल्य लगाउनुपरेको छ । महँगो मूल्यमा कोइला आयात गर्नुपर्दा सबैभन्दा बढी मार नेपालका इँटा उद्योगी व्यवसायीलाई परेको कोसी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घका महासचिव राजन तिम्सिनाले बताए ।
उनले भने, ‘आसाम र मेघालयको सस्तो र गुणस्तरीय कोइलाको भरमा नेपालका इँटा उद्योगहरू सञ्चालन भइरहेका थिए । भट्टीमा राम्रोसँग इँटा पकाउनका लागि कोइला चाहिन्छ । तर, भारतले एकाएक निर्यातमा रोक लगाएपछि अमेरिका र इण्डोनेशियाबाट आयात गरिएका कमसल अनि दोब्बर तेब्बर महँगो कोइला प्रयोग गर्नुपरेको छ ।’

इँटा व्यवसायीहरूका अनुसार अमेरिका र इण्डोनेशियाबाट आयात गरिएका कोइला इँटा भट्टीमा आसाम र मेघालयको कोइलाको तुलनामा बढी खपत हुने गरेको छ । बढी खपत हुने भएकाले अतिरिक्त व्ययभार पनि बढेको छ ।
इँटा भट्टीमा इँटा पकाउन प्रयोग हुने कोइला केही महिना अघिसम्म प्रतिकिलो २२ रुपैयाँदेखि २४ रुपैयाँ किलोमा आयात हुने गरेको थियो तर, अमेरिका, इण्डोनेशियालगायत मुलुकबाट कोइला आयात गर्दा प्रतिकिलो ४५ देखि ४८ रुपैयाँ तिर्नुपरेको इँटा उद्योगीहरूले बताए । सुनसरीका एक इँटा उद्योगीले भने, ‘इँटा पकाउने इन्धनको मूल्य दोब्बर भएपछि इँटाको मूल्य पनि बढ्ने नै भयो । इँटाको मूल्य बढेपछि घर निर्माणको लागत पनि बढ्ने नै भयो ।’
इँटा उद्योगीहरूले महँगोमा कोइला आयात गर्नुपरेपछि लागत बढेकाले उत्पादित इँटाको मूल्य पनि बढ्ने बताएका छन् । नयाँ इँटा बजारमा आउन अझै तीनसाता लाग्ने बताइएको छ । धरान बरगाछीका इँटा व्यवसायी सोहन श्रेष्ठले भने, ‘सुनसरी र मोरङका पाँच दर्जन बढी इँटा उद्योगबाट उत्पादित एक नम्बर पाको इँटा धरान आइपुग्दा अब कम्तिमा २८ रुपैयाँदेखि ३० रुपैयाँसम्म पर्न सक्छ । अहिले बजारमा एक नम्बरको पुरानै इँटाको प्रतिगोटा मूल्य २५/२६ रुपैयाँ मात्र छ ।’
इँटा उद्योगी महेन्द्र अग्रवालका अनुसार आसाम र मेघालयबाट आयात हुने कोइला भट्टीमा इँटा उत्पादन गर्न (पकाउन) सस्तोमात्र नभएर उत्कृष्ट थियो । तर, इण्डोनेशिया र अमेरिकाबाट आयात गरिएका कोइला भने कमसल, बढी खपत हुनेखालका र दोब्बर महँगो भएकाले नयाँ इँटाको मूल्यमा ५ रुपैयाँसम्म वृद्धि हुनेछ ।
अर्का इँटा उद्योगी ईश्वर थापाले इन्धन महँगो भएकै कारण इँटाको मूल्य वृद्धि हुने बताए । यता इँटाको मूल्य वृद्धि हुने भएपछि घर निर्माणको लागत पनि बढ्ने निश्चित भएको छ । यसको प्रत्यक्ष मार भने नयाँ घर तथा भवन बनाउन चाहनेहरू पर्नेछन् । एउटा इँटामा ५ रुपैयाँ मूल्य बढ्नु भनेको घर निर्माणको लागत पनि बढ्नु हो ।