सुनसरी । सीमाबाट आलुको समेत तस्करी हुने गरेको पाइएको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्धबाट प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेको नेतृत्वमा खटिएको टोलीले भारतबाट आलु ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

भारतबाट तस्करी गरी चारवटा नेपाली नम्बरको ट्याक्टरमा गन्तव्यतर्फ लाँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा खटिएको प्रमुख भन्सार अधिकृत न्यौपाने नेतृत्वको टोलीले बुधबार मध्यरातमा ४ सय ३३ बोरा भारतीय आलु नियन्त्रणमा लिएको थियो । तस्करीको आलुसहित भन्सारको टोलीले देवानगञ्ज गाउँपालिका वडानम्बर ४ का प्रमोद यादव, धनुषधारी महतो, मुन्नाकुमार यादव र कुशेश्वर यादवलाई नियन्त्रणमा लिएको थियो ।

भारतीय बजारबाट आलु तस्करी गरी नेपाली बजारमा बिक्री गर्न ल्याउँदैछ भन्ने सूचनाका आधारमा खटिएको टोलीले ट्याक्टरमा लोड गरिएको आलुसहित चारजनालाई नियन्त्रणमा लिई कानूनी कारबाही गरिएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले जानकारी दिए ।

भन्सार कार्यालयलाई प्राप्त सूचनाका आधारमा खटिएको टोलीले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा इनरुवा नगरपालिका–९ स्थित बबिया क्षेत्रबाट आलु बरामद गरिएको उनको भनाइ छ ।

बरामद गरिएको ४ सय ३३ बोरा आलु तीनलाख ३० हजार मूल्यमा लिलाम गरिएको छ भने पक्राउ परेकामध्ये प्रमोद यादव जरिबाना र धरौटी गरी दुईलाख २४ हजार, धनुषधारी महतो जरिबाना र धरौटी गरी एकलाख ५० हजार, मुन्नाकुमार यादव धरौटी २५ हजार र कुशेश्वर यादव जरिबाना र धरौटी गरी चारलाख नौ हजार बुझाएर छुटेका छन् ।

भारतीय बजारबाट तस्करी गरी ल्याइएको आलु नेपाली उत्पादन भएको भन्दै छुटाउन भन्सार कार्यालयमाथि राजनीतिक दबाव दिइएको स्रोत बताउँछ ।

यसरी भारतीय बजारबाट आलु तस्करी हुनुमा सीमामा तैनाथ सुरक्षाकर्मीका साथै स्थानीय केही जनप्रतिनिधिहरूको समेत संलग्नता हुने गरेका कारण तस्करी गरी ल्याइएको वस्तु पक्राउ परेपछि तिनीहरूले छुटाउन सोर्सफोर्स लगाउने काम गर्दै आएको स्रोतको दाबी छ ।

यद्यपि यसबारे प्रमुख भन्सार अधिकृत न्यौपानेले आफूहरूको काम चोरीपैठारी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने भएकाले कानून विपरीतका कुरा स्वीकार नहुने बताउँछन् । ‘हाम्रो काम भनेकै चोरीपैठारी न्यूनीकरण तथा नियन्त्रण गर्दै बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने हो’ उनले भने, ‘सीमामा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिलगायत हरेक जिम्मेवार नागरिकबाट साथ, सहयोगको अपेक्षा राखेका छौं ।’

सीमावर्ती क्षेत्रमा हुँदै आएको भनिएको चोरीपैठारी न्यूनीकरण तथा नियन्त्रण गर्न सुरक्षाकर्मीले अहम् भूमिका निर्वाह गर्दै आएकोमा केही समययता आलुसँगै अन्य वस्तुको भारतीय बजारबाट चोरीतस्करी हुने गरेको जनगुनासो आएकाले थप गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

सुनसरी भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य स्रोतमध्ये प्रमुख वस्तु आलु हो । आर्थिक वर्ष २०७७÷०७८ मा सुनसरी भन्सार कार्यालयले ४९ करोड ६२ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४९ करोड ६६ लाख नौ हजार अर्थात् लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्यो ।

जसमा आलुको योगदान २५ दशमलव १५ प्रतिशत रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा सुनसरी हुँदै ८९ करोड १० लाख ७० हजार बराबरको आलु निर्यात भएकोमा त्यसबाट १२ लाख ४७ हजार ९२ हजार राजस्व सङ्कलन गरिएको थियो । चालु आर्थिक वर्षमा सुनसरी भन्सार कार्यालयले ५३ करोड ७६ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा कात्तिक मसान्तसम्ममा २० करोड ३२ लाख १८ हजार राजस्व सङ्कलन गरिसकेको छ ।