सुनसरी । सुनसरीका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाका किसानहरूले विभिन्न तरकारी खेती गर्दै वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । खासगरी सुनसरीका दक्षिणवर्र्ती क्षेत्रका किसानहरूले काउली, बन्दा, गोलभेडा, आलु, करेलालगायतका खेतीबाट मनग्य आम्दानी गरिरहेको पाइन्छ ।

स्वदेशमै व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरू विदेशिने क्रम रोकिएको छैन । तर, विदेशबाट फर्केर कृषि कर्ममा लागेका कोसी गाउँपालिका–५ का सहाबुद्दिन हक युवाहरूका लागि प्रेरणा बनेका छन् । सन् २०१० देखि २०१९ सम्म कतारमा बसेका उनी त्यहाँबाट प्राप्त आम्दानी र श्रमबाट सन्तुष्ट नभएपछि गाउँमै आएर कागती खेती गरिरहेका छन् ।

अर्काको भूमिमा पसिना बगाउनुको साटो स्वदेशमै केही गरौं भन्ने उद्देश्यले गाउँमा एक बिघा जग्गामा कागती खेती गरेका उनले वार्षिक लाखौं कमाउने गरेका छन् ।

त्यस्तै कोसी गाउँपालिका वडानम्बर ५ स्थित कुम्याहीका असगर अलीले दुई बिघा जग्गामा कागती खेतीसँगै यसवर्ष १० कठ्ठा जग्गामा लगाएको खेतीबाट ८० क्विन्टल आलु उत्पादन गर्दै दुईलाख बढी आम्दानी गरे ।

२०६५ साल भदौ २ गते आएको बाढीले हजारौं किसान प्रभावित भएपछि बालुवामय जग्गामा कागतीसँगै अन्य खेती गर्न थालिएको हो । १३ वर्षअघि आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भएकोमा उल्लेखनीय सुधार आएको थिएन ।

aaluu1

भारतको राजस्थान मोडेलको खेतीसमेत भनिएको उक्त बालुवामय जग्गामा सहाबुद्दिनसँगै कोसी गाउँपालिका–५ का स्थानीय किसान असगर अलीले दुई बिघामा, महम्मद युसुफले १० कठ्ठामा, मजहरुल मियाँले १ बिघा, अशोक अलीले १० कठ्ठा र ऐनामुल हकले ५ कठ्ठा जग्गामा नमुना कागती खेतीसँगै मौसमी र बेमौसमी खेती गर्दै आत्मनिर्भर बनेका छन् । बालुवामय जग्गामा स्थानीय तहको सहयोगमा नमुना कागती खेती सुरु गरिएको हो  ।

बाढीले बालुवामय जग्गा सदुपयोग गर्ने उद्देश्यले दुई वर्षअघि गरिएको राजस्थानको अवलोकन भ्रमण खेतीपाती गर्न का लागि उपलब्धिमूलक भएको किसान असगर अलीले बताएका छन् ।

कोसी गाउँपालिका क्षेत्रका जग्गा बालुवामय भएको अवस्थामा राजस्थानका कृषिविज्ञहरूले माटो परीक्षणपश्चात् अनार, लौका, कागती, बदाम र बयर खेती हुनेबारे जानकारी गराएपछि कोसी गाउँपालिकामा कागतीसँगै विभिन्न खेती सुरु गरेका हुन् ।

भारत राजस्थानका कृषिविज्ञहरूले दिएको सुझावअनुसार कम लगानीमा मौसमअनुसारको खेती गरिएकाले किसानको जीवनस्तर उकास्न सहज भएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँव बताउँछन् ।

बाढीबाट प्रभावित हजारौं किसान पूर्वअवस्थामा फर्कन सङ्घर्षरत रहेको अवस्थामा तरकारी खेतीबाट यहाँका किसान आत्मनिर्भर बन्दै गएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।

गाउँपालिकाले किसानलाई पूर्वअवस्थामा फर्काउन तथा कृषिक्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्ने योजनाअनुसार किसानलाई आवश्यक सबै सहयोग गर्दै आएको उनको भनाइ छ । एक सिजनमा कागती र अन्य तरकारी बेचेर ३ देखि ४ लाखसम्म कमाइ हुने गरेको छ भने वार्षिक १० लाखदेखि १२ लाखसम्म आम्दानी हुने गरेको किसानहरू बताउँछन् ।