धरान । धनकुटा नगरपालिका–१० उत्तरपाने चोकदेखि केही मुन्तिर एउटा स्कुल छ । जुन स्कुलमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू ओहोर–दोहोर गरेका भेटिन्छन् ।
नयाँ मानिसहरूको जमघट हुनेबित्तिकै उनीहरूको अनुहारमा मुस्कान देखिन्छ । केही पाउने आशामा लामबद्ध भएर बस्छन् । तर, यहाँ नयाँ मानिसहरूको जमघट दुलर्भजस्तै छ । ‘सरकारले उपेक्षा गरेको छ, गाउँमा भएकाले दाताहरू पनि खासै आइपुग्दैनन्’–शिक्षक भूपेन्द्र भण्डारीले भने ।
श्री आधारभूत विद्यालयअन्तर्गतको बौद्धिक अपाङ्ग, सुस्त मनिस्थिति स्रोत कक्षामा अहिले ३५ जना विद्यार्थी छन् । ती विद्यार्थीहरूका लागि सरकारले प्रतिविद्यार्थी ४ हजार रुपैयाँ दिने गरेको छ । त्यसमा पनि विद्यार्थीका अभिभावकलाई आउजाउका लागि ५ सय रुपैयाँ दिइन्छ ।
३ सय रुपैयाँ विद्यार्थीको कल्याण कोषका लागि छुट्याइन्छ । रहेको बाँकी पैसाबाटै उनीहरूलाई खुवाउनेदेखि लिएर स्कुलमा चाहिने सामग्री खरिद गरिन्छ ।
बिदा भएका बेला सरकारले रकम विनियोजन गर्दैन । त्यस समय आ–आफ्नै घर जाने गरेको शिक्षक भण्डारी बताउँछन् । ‘केन्द्रबाट वार्षिक रूपमा पठाउने गरेको छ, नगरपालिकाले मासिक रूपमा दिने गरेको छ, त्यसैबाट लाउने, खाने, शैक्षिक सामग्री, बिरामी हुँदा खर्च हुन्छ’ उनले भने, ‘महँगीका कारण पैसा केही कम नै हुन्छ । सब्जी, मासु खुवाउनै पर्यो ।’
उनीहरूलाई हेरचाह गर्नका लागि ३ जना ‘केयर टेकर’ छन् भने दुई जना शिक्षक छन् । सरकारले ३० जनाको कोटा छुट्याइदिएको छ । ‘३० जनाभन्दा बढीको पैसा दिँदैन, अहिले ३५–३६ जनासम्म छन्’–धनकुटा नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष कमल कार्की भन्छन् । वडाध्यक्ष कार्कीका अनुसार विगतभन्दा अहिले धेरै नै सुधार भएको छ ।
२०५१ सालबाट सुरु भएको स्रोत कक्षामा अनाथसँगै विभिन्न जिल्लाका सुस्त मनस्थिति तथा बौद्धिक अपाङ्गहरू बस्दै आएका छन् । अहिले भोजपुर, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, झापा, उदयपुरसम्मका बालबालिका पढ्छन् ।
कुनै समय स्रोत कक्षामा सञ्चारकर्मी रमेश प्रसाईं पनि बसेका थिए । वडाध्यक्ष कार्की भने स्रोत कक्षालाई राज्यबाट उपेक्षा गरिहालेको स्थिति नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘राज्यबाट उपेक्षा गरिहालेको अवस्था छैन, खानपान राम्रै छ, आन्तरिक व्यवस्थापन पनि राम्रै छ । महँगीअनुसार रकम नआएको भन्ने गुनासो हुनसक्छ ।’
उनले दाताहरूबाट पनि बेला बेलामा सरसहयोग आउने गरेको दाबी गरे । तर, सहरबजारमा जस्तो दैनिक दाताहरू आउन नसक्ने उनी बताउँछन् । ‘रिमोट एरियामा पर्छ, त्यो भएकाले पनि यहाँ बजारको जस्तो आउने कुरा भएन’–उनले भने ।
स्रोत कक्षामा रहेका बौद्धिक अपाङ्गहरूलाई उनीहरूको मनोविज्ञान बुझेर अध्यापन गराउँदै आएको शिक्षक भण्डारीको दाबी छ । तर, खेलकुदलगायतमा सहभागी गराउन भने नसकेको उनको भनाइ छ ।
राज्यबाट खेलकुदलगायतमा पनि सहयोग हुने हो भने चाहिँ उनीहरूलाई पाराओलम्पिक जस्ता खेलमा सहभागी गराउन सकिने उनको भनाइ छ । त्यसका लागि काठमाडौँसम्म लानुपर्ने अवस्था भएकाले पनि त्यो सम्भव छैन । उनले दाताहरूले यहाँका विद्यार्थीहरूलाई बेला–बेलामा सहयोग गरिदिए विद्यालय सञ्चालन गर्न सहज हुने बताए ।