विजयपुर । धरान उपमहानगर तथा नेपाल सरकारको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा धरान–६ पानवारीमा भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.ले धरान उपमहानगर क्षेत्रको फोहोरलाई प्रशोधन गरी वायो ग्याँस उत्पादन गर्न सुरु गरेको छ । प्रा.लि.को मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रूपमा उद्घाटन गरे । प्लान्ट औपचारिक सुरु भए पनि प्रा.लि.को लक्षित समूह ग्याँस प्रयोगबारे दोधारमा छन् । जसका कारणले उत्पादित वायो ग्याँसको बजार सुनिश्चित रहेको छैन ।

प्रा.लि.ले धरान–६ पानवारीमा २२ कठ्ठा जग्गामा २४ करोड लगानीमा नेपालका पालिकाहरूमध्ये पहिलो पटक धरानमा फोहोर शुद्धीकरण गरी कम्पे्रस्ड नेचुरल ग्याँस (सिएनजी) को उत्पादन सुरु गरेको हो । २४ करोडको ४० प्रतिशत अर्थात् ७ करोड रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ । जसमा ७ करोडको ३० प्रतिशत विश्व बैङ्कको लगानी रहेको छ ।

प्रा.लि.लाई दैनिक ३० टन फोहोर आवश्यक पर्छ । फोहोर प्रशोधन केन्द्रको १ हजार किलोग्राम जैविक ग्याँस (सिएनजी) उत्पादन गर्ने क्षमता रहेको छ । साथै ५ सय किलोग्राम जैविक मल, १० हजार लिटर तरल मल उत्पादन हुने क्षमता रहेको छ । उपमहानगरको फोहोर प्रा.लि.ले नै सङ्कलन गर्ने र सङ्कलित फोहोरबाट ३ प्रतिशत वायो ग्याँस उत्पादन हुन्छ भने अन्य आग्र्यानिक मल उत्पादन हुने सञ्चालक विपुलराज पाण्डेले बताए । सङ्कलित फोहोरमध्ये २० प्रतिशत फोहोर ल्याण्डफिल्डमा व्यवस्थापन गर्नु पर्नेछ । उक्त २० प्रतिशत फोहोर उपमहानगरले नै व्यवस्थापन गर्नु पर्नेछ ।

प्रा.लि.ले उत्पादित सिएनजी ग्याँस हाल ३ पाङ्ग्रे यातायातका साधन टेम्पोलाई लक्षित गरी उत्पादन गरेको छ । सिएनजी ग्याँस टेम्पोमा हाल्नका लागि आवश्यक पर्ने डटर बुस्टर स्टेसन (रिफिल स्टेसन) निर्माण गरिसकेको छ । तर, वायो ग्याँस टेम्पोमा उपयोग गर्नका लागि किटलगायत आवश्यक सामग्री जडान गर्न ३५ देखि ४० हजार रुपैयाँ लाग्छ र नयाँ प्रविधि भएकाले लक्षित समूह टेम्पो चालकहरू नै सिएनजी ग्याँस प्रयोग गर्नेबारे दोधारमा रहेका छन् ।

धरान–पानवारी टेम्पो चालक कमल खनाल ग्याँस प्रयोग गर्न पाउनु अवसर भए पनि तत्काल प्रयोग गर्न नसक्ने बताए । उनले भने, ‘सिएनजी ग्याँस प्रयोग गर्नका लागि किट आवश्यक पर्ने र टेम्पोका मिस्त्रीहरूसँग कुुरा बुझेर मात्रै प्रयोग गर्नेछु ।’ उनले अगाडि भने, ‘नयाँ टेम्पोमा यो सुविधा भए पनि पुरानोमा नभएकाले प्रयोग गर्न समस्या छ ।’

पानवारी यातायात प्रा.लि.का सचिव तथा टेम्पो चालक गोपाल लोहारले ग्याँस पेट्रोलभन्दा सस्तो पर्ने भए पनि किट, ग्याँस राख्ने सिलिण्डरलगायत राख्ने स्थान आवश्यक पर्ने बताए । उनले भने, ‘आफ्नो देशमा उत्पादन हुन्छ भने प्रयोग गर्छौं । त्यतिकै बनाइएको होइन होला । प्रयोग गर्छौं ।’

सिलिण्डर तथा आवश्यक सामग्री जोड्न भने राज्यले सहुलियत दिनुपर्ने उनले बताए । त्यस्तै अर्का टेम्पो चालक अनिल श्रेष्ठले तत्काल प्रयोग गर्न नसक्ने बताए । उनले आफ्नो टेम्पो नयाँ भएकाले अरूको हेरेर सफल सफल भए विस्तारै प्रयोग गर्ने बताए ।

सञ्चालक पाण्डेले सिएनजी ग्याँसको प्रयोगले दैनिक करिब १५ सयदेखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुने बताए । हालको बजार मूल्यमा करिब १० करोड रुपैयाँको आयात मूल्य कमी हुने उनले बताए । उनका अनुसार २ लिटर पेट्रोलले १८ किलोमिटर माइलेज दिन्छ भने वायो ग्याँसले ३२ किलोमिटर माइलेज दिन्छ । उनले मूल्य पनि पेट्रोलभन्दा १५ रुपैयाँ कम पर्ने बताए । उद्घाटन कार्यक्रममा नै प्रा.लि.ले एउटा टेम्पोमा सिएनजी ग्याँस प्रयोग गरेको छ ।

राज्यबाट अनुमति पाएपछि किट जडान गरी सिएनजी ग्याँस प्रयोग प्रायः टेम्पोमा प्रयोग गर्न सुरु गर्ने सञ्चालक पाण्डेले बताए । उनले नयाँ भएकाले केही समय गाह्रो भए पनि अन्ततः सस्तो मूल्य र माइलेज बढी भएकाले सबैले ग्याँस प्रयोग गर्ने बताए । उनले भने, ‘वायो ग्याँस पेट्रोलभन्दा सस्तो, बढी माइलेज दिने र वातावरणमैत्री छ ।’

उनले टेम्पो चालकहरूलाई राज्यले सहुलियत दिनुपर्ने बताए । उनले भने, ‘राज्यले टेम्पोको किट फेर्न सहुलियतमा ऋण दिनुपर्छ ।’ उनले केही समयपछि ग्याँसको समस्या नहुने तर, मलको लागि समस्या हुने बताए । मलमा राज्यले नै नीतिगत रूपमा सहुलियत दिनुपर्ने बताए ।

नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी नेपालमा सिएनजी ग्याँस उत्पादन गर्ने ८ वटा कम्पनी सञ्चालनमा रहेको बताए । उनले २० वटा निर्माणाधीन अवस्थामा रहेको पनि जनाए । उनले वायो ग्याँस उत्पादन नयाँ अवधारणा भएकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको बताए ।  उनले भने, ‘अध्ययन गर्ने, परियोजना डिजाइन र प्लाण्ट एण्ड मेसिनरीमा लाग्ने लागतको ४० प्रतिशत केन्द्रले सहयोग गरेको छ ।’

उनले २० प्रतिशत नेपाल सरकार र विश्व बैङ्कले २० प्रतिशत सहयोग गरेको बताए । उनले पोखरा, चितवनलगायतका स्थानमा पार्टी प्यालेस, होटल रेष्टुरेण्टतिर प्रयोग ग्याँस भइरहेको बताए । उनले ग्याँस स्टोरमा केही समस्या रहेको बताए । उनले भने, ‘सिएनजी ग्याँसलाई हाई प्रेसरमा स्टोर गर्नुपर्छ ।

१५ किलो एलपी ग्याँस ३० किलो हुन्छ भने सिएनजी ग्याँस १५ किलो हुँदा ९० किलो हुन्छ ।’ उनले उक्त प्रविधि बहुआयामिक भएको बताए । उनले भने, ‘अग्र्यानिक मल, तरल मल बनाउन र सिएनजी ग्याँस तथा पानी पनि प्रशोधन गर्छ ।’ कार्यकारी निर्देशक अधिकारीले १ सय प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने मुलुक नेपालका लागि वरदान सावित भएको बताए । उनले धेरै देशमा डिजेल, पेट्रोलबाट टेम्पो सञ्चालन बन्द भएको बताए ।

प्लाण्ट सञ्चालनमा आएपछि स्थानीयहरू त्रसित भएका छन् । स्थानीयले ग्याँस प्लाण्ट सञ्चालनमा आउँदा प्रदूषण बढ्ने, दुर्घटनाको जोखिम हुने बताएका छन् । सञ्चालकले भने कुनै जोखिम नहुने दाबी गरेका छन् । सञ्चालक पाण्डेले प्वाल भए पनि ग्याँस उडेर जाने भएकाले दुर्घटना नहुने बताए । उनले गर्मीको समयमा केही फोहोर कुहिएर दुर्गन्ध आए पनि बाहिर नजाने बताए ।

प्रा.लि.ले के कति जिम्मा लिने स्पष्ट छैन सम्झौता
उपमहानगर तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा सञ्चालनमा आएको फोहोर प्रशोधन केन्द्र प्रा.लि.ले फोहोरव्यवस्थापनको के कति जिम्मेवारी लिने भन्ने कुरा स्पष्ट नभएको पाइएको छ ।

धरान उपमहानगरपालिका आन्तरिक प्रशासन महाशाखाका लेखा अधिकृत शैलेस शाक्यले कति कर्मचारी लिने वा दिने विषयमा आधिकारिक निर्णय नभएको बताए । उनले धरान उपमहानगरले इन्धन, मर्मत खर्च र कर्मचारी गरी ३ लाख ५० हजार रुपैयाँ फोहोर व्यवस्थापनमा खर्च गर्दै आएको जानकारी दिए ।

उनले भने, ‘साढे ३ करोड मर्मत, इन्धन र कर्मचारी सबैमा हुने खर्च हो । तर, कति मात्रामा जाने वा नजाने आधिकारिक निर्णय भएको छैन, उनले कर्मचारी मात्रै जाने हो । ३ करोड आर्थिक भार घट्छ ।’ यता प्रा.लि.का इन्जिनियर विवेक मिश्रले उपमहानगरले ड्रेन, सडकमात्रै सरसफाइ गर्ने भएकाले ४० लाख मात्रै खर्च हुने बताए । उनले कर्मचारी के कति मात्रामा लिने भन्ने विषयमा सम्झौतामा स्पष्ट नभएको बताए ।