धरान/ वराह बचत तथा ऋण सहकरी लिमिटेडले बचतकर्ताको रकम ब्याजसहित फिर्ता दिन नसकेपछि रकम जम्मा गर्नेहरू आन्दोलित भएका छन् । आइतबार करिब ५ सय जनाको भीडले धनकुटे रोडस्थित नयाँ भवनमा दिनभर कार्यालय घेराउ गरेका थिए ।
तीनदिन अघिमात्र सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभामा ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ ८० पैसा मुनाफा गरेको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । करोडौं मुनाफा गरेको देखाउने वराह सहकारीले बचतकर्ताको रकम भने दिन नसकेपछि सर्वसाधारण बचतकर्तामा विभिन्न शङ्का उपशङ्का उत्पन्न भएको छ ।
करिब १३ हजार शेयर सदस्य रहेको बताइएको सहकारीमा बचतकर्ताले १० हजार रुपैयाँदेखि ४० करोड रुपैयाँसम्म राखेका छन् । वराह ग्रुपमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबइमा अल वराह मिनी मार्केट एलएलसी, वराह बालसंसार, वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि., वराह फेमिली किचन, चितवनमा नारायणी वराह ज्वेलरी नारायणी, गोर्खा वराह ज्वेलरी पोखरा, इन्द्र वराह ज्वेलरी हङ्कङ, इन्द्र–वराह ट्राभल्स एण्ड टुर्स, कृपा दृश्य डिजिटल प्रा.लि. रहेका छन् ।
वार्षिक साधारणसभामा सहकारीले शेयर पुँजी १० करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ ४३ पैसा, निक्षेप सङ्कलन ७२ करोड १९ लाख ८४ हजार ६ सय ४४ रुपैयाँ ३४ पैसा र ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ८७ पैसा रहेको जनाएको थियो । आफूले राखेको रकम सहकारीबाट निकाल्न झापा, मोरङसम्मका बचतकर्ताहरू धरानमा आएका थिए ।
राखेको रकम दिन नसक्ने अवस्था आए पनि सहकारी सञ्चालक समिति विरुद्ध आइतबारसम्म उजुरी भने कतै परेको छैन । झापाको बिर्तामोड बस्ने कमला तवेबुङले उनका देवर र आमाजूको गरी ३५ लाख रुपैयाँ बचत गरेकी थिइन् । पैसाको काम परेपछि उनी आइतबार नै पासबुक बोकेर सहकारीभित्र छिरेकी थिइन् । त्यहाँ उनले अर्कै दृश्य देख्दा छाँगाबाट खसिन् । उनले भनिन्, ‘म त पैसा निकाल्न आएको थिएँ । तर, यहाँ त सहकारीले पैसा नदिएर आक्रोस पोख्ने बचतकर्ताहरूको भीड देखेपछि आफ्नो पैसा डुब्ला कि भन्ने चिन्ताले सताउन थालेको छ ।’
धरान–१९ चौकीबारी बस्ने राई समुदायका एक पूर्वगोर्खा सैनिकले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै १७ लाख रुपैयाँ सहकारीमा राखेको बताए । उनले भने, ‘वराह सहकारीले दुनियाँको पैसा डुबाउन लाग्यो । सहकारी नियामक संस्था र मिडिया चुपचाप छन् ।’ उनले आफूले राखेको रकममध्ये उपचार खर्चका लागि ५० हजार रुपैयाँमात्र निकाल्न खोजेको तीन साता बितिसक्दा पनि हालसम्म एक पैसा दिन नसकेको बताए । उनले भने, ‘साधारणसभामा चाहिँ सहकारी नाफामा छ भन्ने तर, बचतकर्ताको पैसा नदिने, कस्तो नियम कानून हो ? पक्कै पनि केही गडबढी भएको छ र त पैसा दिन सकेको छैन ।’
सहकारीमा कैयौंले विदेशबाट पठाएको रकम जम्मा गरेका छन् भने कतिपयले ब्याज बढी पाइने लोभले लाखौं रुपैयाँ जम्मा गरेका छन् । तर, आफूले जम्मा गरेको लाखौं रुपैयाँमध्ये १५ हजार रुपैयाँसमेत पाउन नसकेपछि आक्रोसित हुनुपरेको धरान–१६ का प्रदीप अधिकारीले बताए । उनले भने, ‘मैलेमात्र २५ लाख रुपैयाँ जम्मा गरेको छु । अहिले मलाई त्यो मेरो पैसा चाहिएको छ । कतिपटक धाएँ तर, सुको पैसा दिँदैन । पैसा माग्न आउँदा अहिले छैन, एक सातापछि आउनू भनेर भाका राख्छ । यस्तो पनि हुन्छ ? हामीले त आफ्नो पैसा सुरक्षित हुन्छ भनेर वराह सहकारीप्रति विश्वास गरेर राखेको हो । तर, यो पनि अरू सहकारी जस्तै भयो ।’
सहकारीका सञ्चालक समितिका अध्यक्ष मानबहादुर दियाली र सञ्चालक सदस्य गङ्गाबहादुर कालीकोटेसँग सहकारीले पैसा बचतकर्तालाई दिन नसकेको बारेमा ब्लाष्टले सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । बचतकर्तालाई बाहिर सम्झाउँदै गरेका बेला आफूलाई सहकारीको व्यवस्थापक बताउने रविन विकले भने मुलुक भरका वित्तीय संस्थामा तरल अवस्था आएकाले समस्या भएको बताए । उनले भने, ‘बैङ्कहरूले नै पैसा रोकिरहेका छन् । यता सहकारीले १ अर्ब बढी लगानी गरेको छ । बचतकर्ताको रकम केही दिनभित्र दिन्छौं ।’
धरान उपमहानगरपालिका सहकारी विकास समितिका संयोजक नरेश इवारमले वराह सहकारीले तीनदिन अघिमात्रै ३ करोड रुपैयाँभन्दा बढी मुनाफा गरेको भनेर पत्रिकामा सार्वजनिक गरेको बताए । उनले भने, ‘नाफामा गएको सहकारीले आफ्ना शेयर सदस्यलाई अहिले आएर पैसा दिन नसक्नुको कारण के रहेछ, उजुरी परेमा छानबिन गर्नेछौं ।’