विराटनर । सप्तकोसी डेभलपमेन्ट बैङ्कको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको रकम घरजग्गा, मिटरब्याज, सुरा र सुन्दरीहरूमा खर्चिएको पाइएको छ ।

बैङ्क घोटाला प्रकरणमा बैङ्कका तत्कालीन सिइओ नवीन सुवेदीसहित चारजना पक्राउ परेका छन् । घोटाला प्रकरणमा समातिएकामध्ये एकजना प्रतिवादीले प्रहरीमा दिएको बयानअनुसार सुरा, सुन्दरीसहित हिनामिनाबाट आएको पैसा घरजग्गा र मिटरब्याजमा खर्चिने गरेको पाइएको हो ।

पक्राउ परेकामध्ये सिइओ सुवेदीका आफन्तको खातामा झण्डै १४ करोड रकम ‘ट्रान्सफर’ भएको देखिएको छ । सिइओ सुवेदीका नातेदार बबिता बस्नेतको खातामा सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा प्राइम बैङ्कको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढङ्गबाट निकालिएको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । यही एक वर्षको आसपासमा सुवेदीले विराटनगर–५ स्थित निजी निवाससँगै सँधियारको एकतले घरसहित २ करोडमा घरजग्गा खरिद गरेका छन् ।

‘घोटाला गरेको रकम घर खरिद गरेको हो, होइन यस पाटोतर्फ पनि अनुसन्धान भइरहेको छ’ बैङ्किङ कसुरको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, ‘घोटाला गरेको रकम घरजग्गा, मिटरब्याज, सुरा र सुन्दरीमा पनि खर्चिएको देखिएको छ । कसले कति के–के मा हिनामिना गरेको रकम के मा लगानी गरेका छन् । त्यसतर्फ पनि अनुसन्धानको दायरा बढाएका छौं । त्यो पनि केही दिनभित्रमा खुल्नेछ ।’ यस घटनामा प्रहरीले सूक्ष्मरूपले अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

१४ पुसमा बैङ्कका तत्कालीन सिइओ सुवेदीसहित बैङ्कका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरी अहिले मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा बैङ्किङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । यसअघि १९ मङ्सिरमा बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए ।

भट्टराई सिइओ सुवेदीका भान्जा हुन् । सामान्य ब्याट्रीसम्बन्धी सप्लायर्समा काम गर्ने उनलाई कनिष्ठ सहायकमा ल्याएर छोटो अवधिमै सुवेदीले भट्टराईलाई जुनियर अफिसरमा नियुक्ति गरी जीएसडी प्रमुख बनाएका थिए ।

भट्टराईले जिम्मेवारी पाएको रेमिट्यान्सतर्फको करोडौं रकम हिनामिना भएको थियो । भट्टराईले मात्र १ करोडभन्दा बढी घोटाला गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको नाममा पाँच वटा विभिन्न बैङ्कको खाताबाट एक करोड बढी रकम झिकेको देखिन्छ ।

बैङ्कको रकम हिनामिनाबाट आएको पैसा भट्टराईले सुरा र सुन्दरीमा खर्चिएको तथ्य खुलेको छ । बैङ्कमा जागिर सुरु गरेपछि भट्टराई विराटनगरका नाम चलेका होटल र रेष्टुरेण्टमा दैनिकजसो जाने गरेको अनुसन्धानबाट खुलेको छ । यस्ता होटल र रेष्टुरेण्टहरूमा दिनहुँ ‘जाँड पार्टी’ मा रम्नेहरूलाई पनि प्रहरीले ‘मार्क’ गरेको छ ।

विराटनगरको एयरपोर्ट मोडमा रहेको एउटा रेष्टुरेण्टमा उनले धेरैजसो ‘जाँड पार्टी’ गर्ने गरेका थिए । यस्तै यहाँका विभिन्न सेकुवा कर्नर तथा काठमाडौंका रेष्टुरेण्ट एवम् लाउन्जहरूमा हुने जमघटले पनि उनीहरू मदिरा र मस्तीका सौखिन रहेको देखाउँछ ।

धनकुटामा प्रधान कार्यालय भएको सप्तकोसी डेभलपमेन्ट बैङ्कको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो ।

नियन्त्रणमा लिइएकामध्ये सिइओ सुवेदी र लेखाप्रमुख भण्डारीले नेरुडे लघुवित्त कम्पनीमा सँगै लामो समय काम गरेका थिए । सप्तकोसीमा उनीहरू आएपछि बैङ्कको अनियमितता गर्न नीति, नियम, कानूनी प्रक्रिया र विधि मिलाउन भण्डारी ‘आइडिया मेकर्स’ का रूपमा सिइओ सुवेदीका विश्वासिलो पात्र बनेका थिए ।

अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् । मगरको खातामा पनि सन् २०१६ देखि २०१७ मा दुईवटा ‘फर्जी’ कारोबार भएको देखिएको छ ।

प्रदेश १ का ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोसी बैङ्कको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैङ्क र सप्तकोसी डेभलपमेन्ट बैङ्क मर्जर भएर हाल सप्तकोसी डेभलपमेन्ट बैङ्क लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैङ्क नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।