विजयपुर । सुन्तला उत्पादनमा भएको गिरावटले कृषकहरू चिन्तित बनिरहेका बेला कृषिउपज बजार धरानमा भने सुन्तलाको कारोबार गतवर्षको तुलनामा वृद्धि भएको छ ।

सुन्तलाको कारोबार विशेषगरी कात्तिकबाट सुरु भई चैतसम्म रहने भए पनि मुख्य सिजन पुस र माघ मानिन्छ । विभिन्न रोग, पुराना बिरुवा, प्राकृतिक प्रकोपलगायतका कारणले सुन्तलाको उत्पादनमा बर्सेनि गिरावट आएपछि कृषकहरू चिन्तित छन् । तर, धरान कृषिउपज बजारमा भएको सुन्तलाको कारोबार वृद्धि भएको छ ।

कृषिउपज बजार धरानको तथ्याङ्कलाई केलाउँदा गतवर्षभन्दा आयात र निर्यात दुवै वृद्धि भएको देखिन्छ । कृषिउपज बजारमा गतवर्षको पुस मसान्तसम्ममा २ हजार ५ सय ५० मेट्रिक टन कारोबार भएको थियो । यसवर्ष पुस मसान्तसम्मा ३ सय ३० मेट्रिक टन वृद्धि भएको छ ।

पुस मसान्तसम्म २ हजार ८ सय ८० मेट्रिक टनको कारोबार भएको कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । व्यवस्थापक भट्टराईका अनुसार कृषिउपज बजारमा गतवर्ष पुस मसान्तसम्म औसतमा कुल २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने यस वर्षको सोही अवधिसम्मको कारोबारमा ४ करोड रुपैयाँले वृद्धि हुँदै करिब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको व्यवस्थापक भट्टराईले बताए ।

कृषिउपज बजारमा हाल दैनिक ३५ देखि ५० मेट्रिक टनसम्म सुन्तलाको कारोबार भइरहेको छ । गत आर्थिक वर्षमा स्वदेशी सून्तला कुल ५ हजार ८ सय ३९ मेट्रिक टन कारोबार भएको थियो भने चालु आर्थिक वर्षमा गतवर्षको कारोबारभन्दा ६ सय मेट्रिक वृद्धि हुने आँकलन गरिएको व्यवस्थापक भट्टराईले बताए । उनले चालु आर्थिक वर्षमा ६ हजार ५ सय मेट्रिक टन कारोबार हुने बताए ।

गत आर्थिक वर्षमा औसतमा ५८ करोड रुपैयाँ बराबर कारोबार भएको थियो भने चालु आर्थिक वर्षमा ७१ करोड बराबरको कारोबार हुने आँकलन रहेको बताए । गतवर्ष सुन्तलाको  औसत मूल्य प्रतिकेजी १ सय रुपैयाँ रहेको थियो भने अहिले प्रतिकेजी थोकमूल्य औसतमा १ सय ३० रुयैयाँ रहेको छ ।

सुन्तलाको उत्पादनमा गिरावट आए पनि सडकको सुविधाले धरानको कृषिउपज बजारमा कारोबारमा वृद्धि गर्दा भएको हो । कृषिउपज बजारका व्यवस्थापक भट्टराईले उत्पादनमा गिरावट हुँदा कारोबारमा वृद्धि हुनुमा प्रमुख कारण सडक विकास नै भएको बताए । उनले भने, ‘विगतमा सडक थिएन । निश्चित स्थानको मात्र सुन्तला आउँथ्यो । अहिले क्षेत्र विस्तार भएको छ । त्यसैले गर्दा वृद्धि भएको हो ।’ उनले मुख्यगरी धनकुटादेखि सुन्तला आयात हुने गरेको भए पनि भोजपुर, तेह्रथुम, खोटाङ,  सङ्खुवासभालगायतका जिल्लाबा समेत आयात हुने गरेको बताए ।

कहिलेकाहीँ गोर्खा, पोखराबाट पनि आउने गरेको थियो तर, अहिले नआएको भट्टराईले बताए । कृषिउपज बजारबाट निर्यात भने १ नं. प्रदेश र मधेस प्रदेशका सहरमा हुने गरेको उनले बताए । उनका अनुसार दमक, बिर्तामोड, राजविराज, लहान, जनकपुरलगायतका सहरहरूमा निर्यात हुन्छ ।

उनले भने, ‘मुख्यगरी इटहरी र विराटनगरमा निर्यात हुन्छ ।’ उनका अनुसार कृषिबजारबाट हुने कारोबारको १० प्रतिशत हिस्सा भारतीय उत्पादनले ओगट्छ । तर, नेपालको सुन्तलाको मुख्य सिजनमा भारतीय सुन्तलाको कारोबार हुँदैन । उनले भने, ‘नेपालको सिजन सुरु हुनुअघि र पछिमात्र भारतबाट आउँछ  । असोज, कात्तिक, फागुन र चैतमा भारतीय सुन्तला आउने गरेको छ ।’