धनकुटा । बस चढ्ने पैसा नभएर बेखर्ची हुनु परे पछि पैसा कमाउनका लागी बिस्कुट उद्योग खोलेका धनकुटा न.पा.१ हिलेका टेक बहादुर तामाङको दिनचर्या हिजो आज फेरिएको छ । १२ वर्ष पहिले काम विशेषले जिल्ला सदरमुकाम धनकुटा आउँदा गोजीमा सुको नभएपछि बेखर्ची भएर गाडी चढ्न नपाई हिँडेरै घर फर्किनु परेको तितो कथा टेक बहादुरको जीवनमा छ ।
पैसा कमाउन कै लागी टेकबहादुरले नेश्नल बिस्कुट उद्योग धनकुटा नगरपालिका वडा नं.१ हिलेमा स्थापना गरे । वि.सं.२०६६ सालमा ५० हजार लगानीबाट सुरु गरेको बिस्कुट उद्योगका सञ्चालक टेकबहादुर आज आएर लाखौँ रुपैयाँका मालिक भएका छन् । उनी यस अघि धन कमाउनु भनी वैदेशिक रोजगारीको सिलसिलामा कतार गएर १० वर्ष बसेर आए । कतारमा १० वर्ष बसेर कमाएको पैसाले केही गर्न नसकी बेखर्ची हुनु परेपछि आफूले पैसा कमाउने सोचले बिस्कुट उद्योग सञ्चालनमा ल्याएको टेकबहादुर बताउँछन् । उनको बुझाइमा विदेशको कमाई भनेको क्षणिकलाई मात्र हुने गर्दछ भन्दै तामाङले भने–‘स्वदेश मै केही न केही व्यापार, व्यवसाय वा उद्योग सञ्चालन गरे रोजगारीको स्थायित्व पाउने र पैसा पनि कमाउन सकिन्छ ।’
सुरुमा उनलाई बिस्कुट उद्योग सञ्चालन गर्ने सोच बनाए पनि कसरी बनाउने भन्ने ज्ञान थिएन । जीवनमा यस अघि उनले कहिले पनि बिस्कुट उद्योग देखेका थिएनन् । बिस्कुट उद्योग नै नदेखेका टेकबहादुरलाई उद्योग खोलेर बिस्कुट उत्पादन गरी पैसा कमाउने सपना पुरा गर्न चुनौती थियो । उनले सुरुमा धनकुटा नगरपालिका वडा नं.१ हिले न्यूरोडमा रहेको गणेश श्रेष्ठको शुभलक्ष्मी बिस्कुट उद्योगमा गएर बिस्कुट कसरी बन्छ भनेर नियालेका थिए । बिस्कुट बनाउन के के चाहिन्छ, कसरी बन्छ भन्नेबारे उनले राम्रोसँग अध्ययन गरे ।
उनी बिस्कुट उद्योगमा हेर्न शुभलक्ष्मी बिस्कुट उद्योगमा पुग्दा बेला सञ्चालक गणेश श्रेष्ठले भने घर बनाई रहेका थिए । बिस्कुट उद्योग सञ्चालन गरेर पनि घर बनाउन सकिने रहिछ भन्ने लागेपछि आफूले पनि बिस्कुट उद्योग खोल्ने निधो गरेको टेक बहादुर बताउँछन् । उनी वैदेशिक रोजगारीको क्रममा १० वर्ष कतार बस्दा ६ वर्ष जति बेकारी उद्योगमा काम पनि गरेका थिए । धनकुटा–१ हिलेको शुभलक्ष्मी बिस्कुट उद्योग हेरे पछि कतारको बेकारी उद्योगको याद आएको उनले बताए । तर कतारको जस्तो साधन, श्रोत, मेसिन औजारहरू जुटाएर बिस्कुट बनाउन सम्भव उनले देखेनन् । उनलाई हिलेको शुभलक्ष्मी बिस्कुट उद्योग हेरिसकेपछि धनकुटाको सबै भन्दा पुरानो नाम चलेको बिस्कुट उद्योगहरू मध्ये धनकुटा–४ मा रहेको मोहन बिस्कुट उद्योग पनि हेर्न मन लाग्यो ।

टेकबहादुरलाई धनकुटा–४ मा रहेको मोहन बिस्कुट उद्योगमा पुग्दा उद्योग भित्र छिर्न अनुमति पाएनन् । बिस्कुट उद्योग भित्र प्रवेश गर्न नदिए पनि बाहिर नै बसेर त्यहाँ काम गर्ने कामदारहरूसँग कुराकानी गर्दै उद्योग सञ्चालनको अवस्था र बनाउने तरिकाबारे सिकेको उनी बताउँछन् । उनले ५–६ दिनसम्म नियमित मोहन बिस्कुट उद्योगमा बिस्कुट कसरी, के के मिसाएर बनाउछन भनेर नजिक जान नदिए पनि अनुमान लगाए ।
करिब एक हप्ता जति मोहन बिस्कुट उद्योगमा हेरेर त्यहाँ कार्यरत एक जना कामदार लगेर आफ्नो घरमा बिस्कुट बनाउन थालेका थिए । सुरु सुरुमा मिस्त्रीले बनाएको हेरेको र केही वर्ष पछि देखी भने घर परिवार आफै मिलेर बिस्कुट बनाउन थालेको टेक बहादुर बताउँछन् । अहिले टेक बहादुरले बिस्कुट बनाउन थालेको १३ वर्ष पुगेको छ । उद्योग राम्रै चलेको थियो, कमाई पनि राम्रै थियो । कामदार राखेर काम गरिन्थ्यो तर पछिल्लो २–३ वर्षयता भने कोरोनाले गर्दा लकडाउन भएपछि कामदार हटाएर परिवारको सदस्यहरूले मात्र बिस्कुट वनाउँदैछौं टेक बहादुरले भने । पछिल्लो ३ वर्ष यता बिस्कुट घर परिवारले नै बनाइरहेका छौँ, घर परिवारले नबाउँदा जान्ने मिस्त्री राख्दा मासिक १५ हजार दिनु पर्दथ्यो, त्यो अहिले बचेको उनले थपे । टेकबहादुरले उ वेला जान्ने मिस्त्री १ जनालाई मासिक १५ हजार, हेल्फर २ जनालाई ८/८ हजारको दरले तलब दिएर काम लगाउँथे । ६ जनाको परिवार रहेको टेकबहादुरले ३ जनाले बिस्कुट बनाइरहेका छन् ।
उद्योगमा लगानीः
विदेशमा कमाएको पैसा नेपाल आएर त्यतिकै केही नगरी सकेर बेखर्ची भएपछि ६० हजार ऋण लिएर बिस्कुट उद्योग स्थापना गरेका टेकबहादुरले अहिले २५ देखी ३० लाख रुपैयाँ लगानी गरेका छन् । सुरुमा बिस्कुट बनाउन कच्चा पदार्थ भन्दा पनि बिस्कुट पकाउने भड्डी बनाउन अलिक बढी लगानी र मेहनते लागेको थियो । बिस्कुट पकाउने भड्डी बनाउँदा स्थानीय श्रोत साधन नै परिचालन गरेर बनाइएकाले थोरै खर्चमा निर्माण गरिएको उनले बताएका छन् । उबेला रेडिमेड इँटा नल्याईकन लोकल इँटाबाट नै भट्टी निर्माण गरेका थिए । सडक विस्तारले गर्दा अहिलेसम्म २ पटक भट्टी निर्माण गर्नु परेको छ ।
धनकुटा नगरपालिकाको प्रविधि सहयोग र लगानीले बिस्कुट उद्योगको स्तर उन्नति भएको छ । पहिले पहिले माटोको भाडाबाट बिस्कुट बनाइन्थ्यो भने आज आएर आधुनिक उपकारणहरू उद्योगमा जोडिएका छन् । अघिल्लो वर्षसम्म पुरानै तरिकाले बिस्कुट पकाइन्थ्यो भने हिजो आज धनकुटा नगरपालिकाले अनुदानमा उपलब्ध गराएको ओभनमा बिस्कुट पकाउने गरेको टेक बहादुर बताए । उनले पुरानो तरीकारले भन्दा पनि नयाँ प्रविधिबाट ओभनमा पकाउँदा समयको बचत, वातावरण र स्वास्थ्यको दृष्ट्रिकोणले धेरै सहज भएको छ ।
बिस्कुट पकाउने किस्तीहरू पुराना थिए भने हिजोआज नयाँ खरिद गरिएको छ । धनकुटा नगरपालिकाले आ.व.०७७÷०७८ मा अनुदानमा बिस्कुट पकाउने ओभन खरिद गरी दिएको तामाङले बताएका छन् । उनले भने–‘धनकुटा नगरपालिकाको ७० प्रतिशत र उद्योगको ३० प्रतिशत गरी जम्मा २ लाख, ६० हजारमा ओभन खरिद गरिएको छ ।’ ओभन ल्याएपछि प्रदूषण कम भएको छ भने बिस्कुटको आइटमहरू पाउरोटी, ब्रेड, वर्थ–डे केक, पार्टी केक र सुख्खा नरिवल बिस्कुटहरू बनाउन सहज भएको छ–तामाङले थपे । नगरपालिकाले खरिद गरी दिएको ओभनमा बिस्कुट पकाउँदा समयको बचत, स्वास्थ्यको दृष्ट्रिकोणले धुवा धुलो कम भएको छ र बिस्कुटको स्वादमा पनि फरक आएको छ । उनले बजारमा उपभोक्ताको माग अनुसार बिस्कुट फरक फरक स्वादमा बनाउने गरेका छन् ।
पाउरोटी, ब्रेन र डोनट जस्ता बिस्कुटलाई आजै बनाएर, आजै बजारमा बिक्री गरिसक्नु पर्ने हुन्छ, किनभने चाँडै डेट जाने भएकोले मागअनुसार मात्र बनाइन्छ । यी बिस्कुटहरू सामान्यतया एक दिनको लागी मात्र हुन्छ । सुख्खा खालको बिस्कुटहरू जस्तो नरिवल, कुकिज, कुकिस आदी चाहिँ धेरै बनाए पनि हुने तामाङ बताउँछन् ।
आम्दानी/खर्च:
बिस्कुट उद्योगमा आम्दानी भनेको काम गरेअनुसार हुने गरेको टेक बहादुरले बताए । स्टाफले गरेको र घर परिवारले गरेको काममा केही अन्तर पर्ने गरेको छ । लगानीको १५ देखी २० प्रतिशत बिस्कुट उद्योगमा फाइदा हुने गर्छ । वार्षिक रूपमा आफ्नो उद्योगमा १० देखी १२ लाख बराबरको कारोबार हुने गरेको छ । वार्षिक रूपमा ३ लाख रुपैयाँ खर्च कटाएर चोखो आम्दानी हुने उनी बताउँछन् ।
सामाजिक प्रतिष्ठाको विषय बनेको ः सबै भन्दा खुसीको कुरा भनेको धनकुटा हिलेको पहिचान नरिवल बिस्कुटको अस्तित्व जोगाउन सकिएको छ । तेह्रथुम जाँदा तेह्रथुमे ढाका खोजे जस्तै धनकुटा हिले आउँदा आन्तरिक तथा बाह्य पर्यटकले धनकुटा हिलेको नरिवल बिस्कुट लाने गरेका छन्, त्यो सारै खुसीको कुरा हो । मान्छेहरूले धनकुटा हिले आएपछि के लाने त भन्दा हिलेमै आएर भए पनि धनकुटे बिस्कुट लाने भनेर कोसेली लाने गरेको उनी छन् ।
बिस्कुट उद्योग चलाई रहँदा आफूले बिस्कुट बनाएर बजारसम्म पुर्याउँदा र खाजाको रूपमा चियासँग सबैले खाई दिँदा ज्यादै खुसी लाग्छ । नेश्नल बिस्कुट उत्पादन गर्ने बिस्कुट उद्योगको मालिक भनेको टेकबहादुर गोङ्गवा हो है भनेर सबैले चिन्ने गरेका छन् र गौरव लाग्छ ।
भावी लक्ष्य:
अवको लक्ष्य भनेको हिजो बजार भन्दा आजको वजार धेरै फरक भएकाले आफ्नो व्यवसायलाई पनि समयअनुकुल परिवर्तन गर्दै लाने रहेको छ । पहिले ढोकोमा बिस्कुट बोकेर हिले, उत्तरपानी, हात्तिखर्क, चुलाचुली, त्रिशुले लगायतको स्थानमा पुग्ने टेक बहादुर हिजोआज मोटर साइकलमा बिस्कुट पुर्याउने गर्दछन् । पहिले बिस्कुट चाहिन्छ भनेर सोध्दै जानु पर्दथ्यो भने अहिले हामीलाई बिस्कुट चाहियो भनेर फोनबाट बिस्कुटको अडर हुने गरेको छ । त्यसैले अब मोटर साइकलमा नभएर वजार बिस्तारसँगै लगानी गरेर चारपाग्रे गाडीमा बिस्कुट उपभोक्तासम्म पुर्याउने उनको ठुलो धोको छ ।
हिजो आज उनको नेश्नल बिस्कुट स्थानीय बजारमा मात्र नभएर धनकुटा बाहिर काठमाण्डौं, चितवन, खाँदवारी, भोजपुर, सङ्खुवासभा, तेह्रथुम लगातयको बजारसम्म जाने गरेको छ । नेश्नल बिस्कुटको स्वादलाई धनकुटा बाहिरको जिल्लामा पनि मन पराई दिएकाले माग भने बढेको छ र अडर पनि होलसेलमा आउने गरेको टेक बहादुर बहादुरले बताए । काठमाण्डौमा मार्क भन्ने संस्थाले आफ्नो नेश्नल बिस्कुट वर्षौँ देखी बिक्री गर्ने गरेको छन् ।
स्थानीय सरकार नगरपालिकाको भूमिकाः
धनकुटा नगरपालिकाको २ लाख अनुदान सहयोगमा आ।व।०७७÷०७८ मा बिस्कुट पकाउनको लागी ओभन खरिदले उनलाई ठुलो सहयोग पुगेको छ । धनकुटाको कोसेलीको रूपमा पहिचान भनेको धनकुटाको नरिवल बिस्कुट अथवा धनकुटे बिस्कुट भएकाले नगरपालिकाले विभिन्न वडामा छरिएर रहेका बिस्कुट उद्यमीहरूलाई सङ्गठित गरेर छाता सङ्गठन निर्माण गरिदिए हुन्थ्यो भन्ने तामाङलाई लागेको छ ।
त्यसो भयो भने बिस्कुट उद्योगहरूबाट उत्पादन हुने बिस्कुटको गुणस्तर कायम गर्न, बजारीकन गर्न स्वादमा एकरूपता ल्याउन र नेपालमा मात्र हैन विश्व बजारसम्म धनकुटाको नरिवल बिस्कुटको वजार विस्तार गर्न सहज हुने थियो भन्ने अनुरोध नगरपालिकासँग टेकबहादुरको छ । अहिले धनकुटामा उत्पादन भैरहेको नरिवल बिस्कुटको गुणस्तर स्वादमा एकरुपता आउन सकेको छैन । जुन खालको पहिचान धनकुटे बिस्कुटको हिजो देखी आजसम्म पनि छ, यसलाई जोगाउनको लागी पनि उद्यमीहरूमा एकता आवश्यक छ । अहिलेसम्म धनकुटे नरिवल बिस्कुट उत्पादन गर्ने उद्योगी व्यावसायीहरु सङ्गठित हुन सकेका छैनन् । उनले भने अहिलेसम्म कति बिस्कुट उत्पादन हुन्छ, बजारमा कति खपत हुन्छ र मासिक वा वार्षिक रूपमा कति आम्दानी हुन्छ भनेर मुल्याकन गर्ने निकाय नभएको टेकबहादुर बताउँछन् ।
डिजिटल शिष्टमबाट बिस्कुट उद्योगमा काम गर्दा धुवाँ नआउने, मिख्चरले गर्दा पिठो मुस्न पनि सजिलो हुने, सजिलै पिठो मुसिने र बिस्कुट पाक्दा पनि एकै पटमा पाक्ने भएकाले प्रविधिको सहयोग नै मुख्य आवश्यक देखिएको तामाङले औँल्याएका छन् । मेसिनबाटै सबै काम गर्न मिल्ने प्रविधि आएकाले समयानुसारको आधुनिक प्रविधि उपयोगको लागी बिस्कुट उद्यमीहरूलाई अनुदान सहयोग आवश्यक रहेको टेकबहादुर औल्याउँछन ।
धनकुटा नगरपालिकामा दर्ता भएका व्यापारिक वा व्यावसायिक फर्महरू मध्ये सबै भन्दा बढी नगरपालिकामा दर्ता भएको फर्महरू ८ सय ४० वटा रहेको नगरपालिकाले जनाएको छ । धनकुटा नगरपालिकाका सूचना अधिकारी डम्बर रोगुले धनकुटा स्थित घरेलुमा दर्ता भएका ५ सय ३१, कम्पनीमा दर्ता भएका ३ सय ७, वाणिज्य कार्यालयमा दर्ता भएका ४ सय ३, उद्योगमा दर्ता २ सय १४ र अन्यमा ३१ गरी विभिन्न प्रकृतिका जम्मा २ हजार २५ वटा उद्योग दर्ता रहेको बताएका छन् ।
दर्ता रहेका मध्ये विभिन्न प्रकृतिका ४३ वटा साना र ४४ वटा घरेलु उद्योग सञ्चालनमा रहेको सूचना अधिकारी तथा प्रशासकीय अधिकृत रोगुले बताए । सञ्चालित उद्योगहरूबाट वार्षिक रूपमा १ करोड, ४ लाख, ४० हजार, १ सय ३८ रुपैयाँ आम्दानी हुनुको साथै ३ सय ३२ जनाले रोजगारी पाएको नगरपालिकाको तत्थ्याङ्गकमा उल्लेख रहेको उनले बताए । नगर क्षेत्रमा १ सय ६० व्यापार व्यवसाय र ४८ वटा विभिन्न किसिमका होटलहरु सञ्चालनमा रहेको पनि उनले स्पष्ट पारेका छन् ।
धनकुटा नगरपालिकामा नगर प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाको अर्थ तन्त्र बलियो बनाउन उत्पादनलाई सबै भन्दा बढी जोड दिइएको र उत्पादित बस्तुहरूलाई अन्यत्र निर्यात गर्ने वातवरण बनाइरहेको बताए । प्रमुख तामाङले जसका लागी लगानीमैत्री वातावरण, सार्वजनिक, निजी साझेदारी, युवा उद्यमशीलता विकास कार्यक्रम, अभिमुखीकरण तालिम जस्ता क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताएका छन् ।
घरेलु तथा उद्योग विकास कार्यालय धनकुटाको तत्थ्याङ्गकमा धनकुटा नगरपालिका भित्र १३ वटा बिस्कुट उद्योगहरू दर्ता रहेका छन् । कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार धनकुटा नगर भित्र मोहन बिस्कुट उद्योग धनकुटा–४, भीमसेन बिस्कुट उद्योग धनकुटा–४, सुवास बिस्कुट उद्योग धनकुटा–२, न्यु बाबा लोकनाथ वेकारी उद्योग धनकुटा–५, अर्जुन बिस्कुट उद्योग धनकुटा–७, ॐ बिस्कुट उद्योग धनकुटा–६ बाख्रे खोला, विष्णु बिस्कुट उद्योग धनकुटा–७, शर्मिला बिस्कुट उद्योग धनकुटा–७, शुभलक्ष्मी बिस्कुट उद्योग धनकुटा–१ हिले, महिमा बिस्कुट उद्योग धनकुटा–१ हिले, तपस बिस्कुट उद्योग धनकुटा–५ रहेको छ । त्यसै गरी न्यु इदिनिशा कुरमुरे उद्योग धनकुटा–४, गणेश काजु उद्योग धनकुटा–४, राजेश चिप्स उद्योग धनकुटा–४ र ग्लोबल अचार उद्योग धनकुटा–७ रहेको छ ।