धरान । धरान–२० विष्णुपादुका मन्दिरको पुजारी टोलमा रैथाने धान ‘भडु धान’ हरेक वर्ष लगाउने गरिन्छ । धेरैतिर रैथाने बाली हराइरहेको भनी चिन्ता छाएका बेला पुजारी टोलका १० घरधुरीको करिब ७ बिघा जग्गामा भने भडु धान नै रोपिन्छ ।
‘यो धान रोप्न थालेको उहिलेदेखि हो’ स्थानीय किसान जीवन तामाङले भने, ‘विष्णुपादुका मन्दिरका पुजारी चतुरमान तामाङकै पालादेखि लगाउन थालेको हो ।’ पुजारी टोलमा भडु धान लगाउँदा जीवन जन्मिएकै थिएनन् । अहिले उनी ३८ वर्ष पुगे । बुबा नवराज योञ्जनकै पालादेखि नै यो धान लगाउने गरेको उनको भनाइ छ ।
अहिले उनको बुबा पनि स्वर्गीय भइसके । धेरैतिर रैथाने बालीहरू लगभग लोप भइसके तर, पुजारी टोलवासीसँग यो रैथाने धानको प्रजातिसँग निकट सम्बन्ध छ । ‘चामल पनि राम्रो हुन्छ । राम्रो फल्छ, खँदिलो पनि हुन्छ’–जीवनले भने । त्यो टोलमा उनीहरूकै नातागोता छन् । विष्णुपादुका पहाडी क्षेत्रमा पर्ने भए पनि पुजारी टोलको जग्गा भने मिलेको छ । यहाँ पानीको पनि अभाव हुँदैन । ‘यो धानलाई पानी पनि एकदमै चाहिन्छ’ अर्का किसान धनबहादुर तामाङले भने, ‘यहाँ बर्खामा पानी प्रशस्तै हुन्छ ।’
यस धानको चामल जिब्रोमै झुण्डिने भएकाले पनि यहाँको किसानको रोजाइ भडु धान हुने गरेको छ । त्यसो त विष्णुपादुकाको माछामारा र भालढुङ्गा क्षेत्रमा पनि थोरै थोरै यो धान लगाउने गरिएको छ । तर, यहाँको जस्तो त्यहाँ उत्पादन नहुने गरेको उनीहरूको बुझाइ छ । ‘बिरामी होस् या अरू, जोसुकैले खाँदा पनि चामल राम्रो छ, त्यही भएर यो धान छाड्न सकेका छैनौं’–धनबहादुरले भने ।

बाबुबाजेका पालादेखि नै भडु धान लगाउने गरेकाले पनि यसलाई छाड्न नसकिएको उनीहरूको बुझाइ छ । धनबहादुरले १५ कठ्ठा क्षेत्रफलमा भडु धान लगाउने गरेका छन् । झण्डै १५ मुरी नै धान फलाउँछन् । ४५ वर्षीय धनबहादुरले थाहा पाउँदा मनसरा भन्ने प्रजातिको धान पनि लगाउने गरेका थिए तर, फसल राम्रो नहुने र लडेर सोत्तर हुने कारण मनसरा धान लगाउन छाडेको झण्डै २२ वर्षभन्दा बढी भइसकेको उनी बताउँछन् ।
‘मनसरा सानो हावामा पनि लडिहाल्ने, राम्रो नफल्ने भएपछि भडु धान रोप्न थालेको हुँ’–उनले ब्लाष्टकर्मीलाई फोनसम्पर्कमा भने । तर, जीवनको परिवारले भने करिब ४० वर्षयतादेखि भडु धान नै लगाउने गरेका छन् । भडु धानलाई अहिले उनीहरूले संरक्षण गरिरहेका छन् । विष्णुपादुका मन्दिर क्षेत्रमा भएका किसान सबैले यही धान नै लगाउने गरेका छन् ।
जीवन भन्छन्, ‘भडु धानलाई चिसो पानी चाहिन्छ, राम्रो पनि फल्छ ।’ उनी १८ कठ्ठा क्षेत्रफलमा हरेक वर्ष खेती गर्छन् । करिब २५ मुरीसम्म धान फल्ने गरेको छ । उब्जनी पनि राम्रो हुने भएकाले अहिले पुजारी टोलमा भडु धानले हुम्लाजुम्लाको मार्सी धान जस्तै ‘ब्राण्ड’ बनाएको छ ।
धरान उपमहानगरपालिका पनि रैथाने धान भएकैले यसको संरक्षण, सम्बद्र्धनमा जुटेको छ । धरान उपमहानगरपालिका आर्थिक विकास महाशाखाका अनुसार विष्णुपादुकामा करिब २० बिघा जग्गामा यो धान लगाउने गरिएको छ । त्यसका लागि नगरले बजेट पनि विनियोजन गर्ने गरेको छ ।
धरान–२० का वडाध्यक्ष मणिराम राईका अनुसार विष्णुपादुका मन्दिर क्षेत्रमा सबैभन्दा बढी भडु धान लगाउने गरिएको छ । अन्यत्र भने कमकमै हुने गरेको छ । तर, यस क्षेत्रका लागि भने धरान उपमहानगरले बजेट दिएको आफूहरूलाई ज्ञान नभएको जीवन र धनबहादुरको भनाइ छ । ‘खोइ हामीलाई त बजेट आएको थाहा छैन, अरूतिर आयो भने थाहा भएन पुजारी टोलमा त दिएको छैन’–उनीहरूले भने ।
तर, आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माले विष्णुपादुका कोकाहा खोला क्षेत्रतिर नै भडु धान पकेट विकास कार्यक्रम भनेर मल, बिउ उपलब्ध गराइएको बताए । उनका अनुसार सिंचाइका लागि पाइपलाइनको व्यवस्था गरी पानी वितरण गरेको बताए । नगरले रैथाने बालीहरूलाई संरक्षण गर्ने उद्देश्यले नै पकेट क्षेत्र निर्धारण गरी बजेट विनियोजन गर्ने गरेको उनले बताए ।