धनकुटा । एभोकाडोको एउटै बोटबाट पाँच प्रकारका ग्राफ्टिङ गर्न मिल्ने भएपछि अहिले धनकुटाका कृषकमा एभोकाडोप्रति आकर्षण चुलिएको छ ।
धनकुटा–६ कचिडेका ज्योतिराम पोखरेल अहिले ग्राफ्टिङकै कारण धनकुटामा चिनिन्छन् । दुई वर्षअघि साढे तीन लाख रुपैयाँ खर्चिएर मदरप्लान्ट स्थापना गरी एभोकाडोको व्यवसायिक ग्राफ्टिङ सुरु गरेका छन् । एउटै प्लान्टबाट उनले पाँच प्रकारका बिरुवा निकाल्ने गरेका छन् ।
ग्राफ्टिङले उनलाई आम्दानी मात्रै दिएको छैन, एभोकाडोमा नयाँ प्रयोग पनि गर्न सफल भएका छन् । स्थानीय परम्परागत ज्ञानलाई नै प्रयोग गर्दै यतिबेला पोखरेलको किसानी जीवन मालामाल बन्दै गइरहेको छ । उनका अनुसार २०७७ सालदेखि ग्राफ्टिङका बिरुवा उत्पादन गर्न थालेका हुन् । पहिलो पल्ट उनले २ सय बिरुवा उत्पादन गरेका थिए । प्रतिगोटा एक हजार रुपैयाँका दरले बिक्री गरे ।
एकैपटकमा दुई लाख रुपैयाँ कमाइ गरेपछि एकाएक ग्राफ्टिङमा हौसिएका पोखरेलको नित्य नै बनेको छ । धनकुटामा एक हजार रुपैयाँमा बिक्री हुने ग्राफ्टिङ काठमाडौँमा ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । धनकुटालाई एभोकाडोको सहर बनाउने योजनामा स्थानीय सरकार लागेको छ ।

कुनै समय सुन्तलाले चिनिने धनकुटा अहिले एभोकाडोले चिनिन थालेको छ । धनकुटाको केही चोकमा एभोकाडोको प्रतिमा बनाउँदै चोक नै स्थापना गरिएको छ । यता यहाँका कृषकहरू व्यवसायिक खेतीमा लागेका छन् । अहिले ग्राफ्टिङ नर्सरीको माग उच्च छ । एउटै बोटबाट पाँच प्रकारका ग्राफ्टिङ बिरुवा उत्पादन हुने भएपछि कृषकमा खुसी छाएको छ ।
धनकुटामा एभोकाडोको व्यवसायिक प्रवद्र्धनका लागि ‘मेयर कृषि कार्यक्रम’ नै सञ्चालनमा छ । परम्परागत तरिकाले लगाइएको बिरुवाबाट उत्पादन पनि कम हुने र ढिलो फल्ने गरेको थियो भने ग्राफ्टिङ गरेको बिरुवाले चाँडै उत्पादन दिने भएकाले पनि अहिले ग्राफ्टिङतिर आकर्षण चुलिएको हो ।
पोखरेलले नयाँ प्रविधिबाट १५ सय ग्राफ्टिङ बिरुवा उत्पादन गरेका छन् । जसमध्ये ५ सय बिरुवा बिक्री गरिसकेको उनी बताउँछन् । पुनः तयारीमा एक हजार बिरुवा रहेको छ । उनले ग्राफ्टिङबाट मात्रै दुई वर्षमा १० लाख रुपैयाँ आम्दानी गरिसकेका छन् । उनको नर्सरीमा बिक्री गर्न तायारी अवस्थामा ग्राफ्टिङ बिरुवा १ हजार, बिजु ५ सय र ग्रीन हाउसभित्र ग्राफ्टिङ प्लान्टमा १५ सय बिरुवा तयारीको क्रममा छन् । तयारीका लागि वार्षिक २ लाख ५० हजार खर्च हुने गरेको छ ।
अहिले उनीसँग ग्राफ्टिङ गरिएका ओर्जिनल ह्यास, टनेज, सुपर ह्यास, उर्ज र रसेल प्रजातिका एभोकाडोको बिरुवा बिक्रीका लागि तयारी अवस्थामा छन् । पोखरेलले ७ वर्ष यता भने एभोकाडोको बिजु बिरुवा मात्र उत्पादन गरेर बिक्रि गर्ने गरेका थिए । उनले हरेक वर्ष १० हजारको हाराहारीमा प्रति गोटा १ सय रुपैयाँको दरले बिजु बिरुवा बिक्री गरेको बताए ।
अहिले उनको कमाई बिजु तथा ग्राफ्टिङ बिरुवा बिक्री, फल बिक्री र दाना खरिद गरेर वार्षिक १० लाखभन्दा माथिको कारोबार गर्ने
गरेका छन् । उनले आगामी दिनमा नगरपालिकाले बजार प्रवद्र्धन, बजार व्यवस्थापन, मूल्य निर्धारण, प्राविधिक सहयोग सल्लाह र एभोकाडोमा देखिएको रोगको उपचारमा सहयोग गरी दिए पुग्ने आशा गरेका छन् । उनको अनुभवमा नेपालमा एवोकाडोको विज्ञता कोही नभएकोले अमेरिकाको क्यालिफोनिर्याबाट एक जना विशेषज्ञ ल्याउन सरकारलाई सुझाव दिएका छन् । ‘कि त नेपालबाटै ४–५ जना क्यालिफोर्निया गएर सिकेर आउनु पर्छ–उनले भने ।
‘२०६८ देखि ७५ सालसम्म एभोकाडोमा डबल फाइदा हुन्थ्यो’ पोखरेलले भने–‘२०७५ साल पछि धनकुटा नगरपालिकाले एभोकाडो महोत्सव गरेपछि लोकल मूल्य बढ्यो, काठमाडौँ होलसेल मूल्य नबढ्दा फाइदा कम हुने गरेको छ ।’ धनकुटाको एभोकाडो ३ सय ५० देखि ४ मूल्यमा बिक्री गरिहँदा युगान्डाको एभोकाडो काठमाडौँमा २ सय ५० रुपैयाँमा पाइने उनले बताए ।
१३ वर्षअघि धनकुटा–३ का कृषक गोपाल वाग्लेका घरबाट ५ रुपैयाँ दानाले २० दाना किनेर ल्याएर रोपेका पोख्रेलको अहिले ३५ बोट फलदिने एभोकाडो छ । जसमध्ये १० वटा बोट रोग लागेर मरे पनि बाँकी बोटबाट वार्षिक रुपमा ७ क्विन्टल फल दिने गरेको छ । शुभप्रभात फलफूल फर्म संस्था दर्ता गरेर एभोकाडोको व्यावसायिक खेतीमा लागेका छन् । उनको मुख्य लक्ष्य भनेको ग्राफ्टिङ एभोकाडोको बिरुवा उत्पादन तथा अनुसन्धान केन्द्र खोल्ने रहेको छ ।
त्यस केन्द्रमा अमेरिकाको क्यालिफोर्नियाबाट साइनका लागि बिरुवा माग्ने र आफ्नै छुट्टै मदरप्लान्ट तयार गरेर त्यो जातको एभोकाडो ग्राफ्टिङ नर्सरी बिस्तार गर्ने पोख्रेलको धोको रहेको छ । धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेर एभोकाडो खेतीको व्यावसायिक प्रवद्र्धनमा लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उनले आर्थिक वर्ष २०७५÷०७६ मा नगरसभाले मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत एभोकाडोलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको बताए ।