सुनसरी । सुनसरीका विभिन्न नाका हुँदै भारतबाट हरियो तरकारी पनि तस्करी हुने गरेको पाइएको छ । भारतीय किसानले उत्पादन गरेको हरियो खुर्सानीसहित अन्य तरकारी पनि जिल्लाका विभिन्न नाकाबाट तस्करी भई भित्रिने गरेको पाइएको हो । खुला सीमा नाकाका कारण जिल्लाका सबै नाकाबाट भारतीय सामानको तस्करी हुने गरे पनि भारतीय किसानले उत्पादन गर्ने आलु, प्याज, खुर्सानीलगायतका हरियो तरकारीको सङ्गठित तस्करी भने सुनसरीको कप्तानगञ्ज नाकाबाट हुने गरेको गुनासो आएको छ ।

केही समयअगाडि सुनसरी भन्सार कार्यालय सेतुबन्धबाट प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेको नेतृत्वमा खटिएको टोलीले भारतबाट ट्याक्टरमा ल्याउँदै गरेको ४ सय ३३ बोरा भारतीय आलु इनरुवा नगरपालिका–९ स्थित बबियाबाट  नियन्त्रणमा लिएको थियो ।

सो क्रममा तस्करीको आलुसहित भन्सारको टोलीले देवानगञ्ज गाउँपालिका वडानम्बर ४ का प्रमोद यादव, धनुषधारी महतो, मुन्नाकुमार यादव र कुशेश्वर यादवलाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी बुधबार बिहान जिल्लाको दक्षिणवर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १ लाख ४८ हजार ३ सय ५० रुपैयाँ बराबरको तस्करी गरी ल्याइएको हरियो तरकारी नियन्त्रणमा लिएपछि जिल्लाका सीमा नाकाबाट हरियो तरकारीको सङ्गठित रूपमा तस्करी हुने गरेको रहस्य खुलेको हो ।

जिल्लाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको दुई हजार ८ सय ६२ केजी खुर्सानी, ५० केजी काँक्रा र ८५ केजी चुकन्दरसहित देवानगञ्ज गाउँपालिकाका पप्पु मेहतालाई नियन्त्रणमा लिएको हो ।

‘भारतमा उत्पादित आलु, प्याज, खुर्सानीसहितका हरियो तरकारी कप्तानगञ्जबाट साइकल, मोटरसाइकलमा मात्र आयात हुने गरेको छैन’ स्रोतले भन्यो, ‘गाडीका गाडी भिœयाउने गिरोह सक्रिय छन् ।’

त्यसरी भारतबाट तस्करी गराउने गिरोहले सीमामा तैनाथ स्थानीय सुरक्षाकर्मीदेखि लिएर उच्चपदस्थ सुरक्षाअधिकारीका एजेन्टसमेतलाई मोटो रकम दिने गरेको स्रोतको आरोप छ । भारतीय बजारबाट तस्करी हुनुमा सीमामा तैनाथ सुरक्षाकर्मीका साथै स्थानीय केही जनप्रतिनिधिहरूको समेत संलग्नता हुने गरेका कारण तस्करी गरी ल्याइएको वस्तु पक्राउ परेपछि तिनीहरूहरूले छुटाउन सोर्सफोर्स लगाउने काम गर्दै भएको स्रोत बताउँछ ।

यद्यपि यसबारे प्रमुख भन्सार अधिकृत न्यौपानेले आफूहरूको काम चोरीपैठारी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने भएकाले कानूनविपरीतका कुरा स्वीकार नहुने बताए । ‘हाम्रो काम भनेकै चोरीपैठारी न्यूनीकरण तथा नियन्त्रण गर्दै बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने हो’ उनले भने, ‘जसमा सीमामा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिलगायत हरेक जिम्मेवार नागरिकबाट साथ सहयोगको अपेक्षा राखेका छौं ।’

सीमावर्ती क्षेत्रमा हुँदै आएको भनिएको चोरीपैठारी न्यूनीकरण तथा नियन्त्रण गर्न सुरक्षाकर्मीले अहम् भूमिका निर्वाह गर्दै आएकोमा केही समययता आलुसँगै अन्य हरियो तरकारीको भारतीय बजारबाट चोरीतस्करी हुने गरेको जनगुनासो आएकाले थप गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

भारतीय किसानले उत्पादन गरेको आलु, प्याज, खुर्सानी, काउली, फर्सी, टमाटर, हरियो सिमी, लौकालगायतका वस्तु मुख्यतः देवानगञ्ज गाउँपालिकामा अवस्थित रहेको कप्तानगञ्ज नाकाबाट तस्करी हुने गरेको बताइएको छ । त्यसरी तस्करी गरी ल्याइने हरियो तरकारी सुनसरी, मोरङसहितका जिल्लाको बजारमा पुर्याउने गरिएको बताइन्छ ।

यसअघि भारतीय हरियो तरकारी वैध तरिकाले नेपाली बजारमा भित्रिने गरेको थियो । जसबाट राजस्व असुलीमा समेत योगदान पुग्दै आएको थियो । हरियो तरकारीको महसुल पनि सामान्य भएकोले भन्सार प्रक्रिया पूरा गर्न व्यापारीलाई सहज भए पनि विषादी परीक्षण गर्न थालिएपछि भने यसको तस्करी बढेको भन्सारका एक कर्मचारीले जानकारी दिए ।

सरकारले विदेशी मुलुकबाट भित्रिने तरकारीमा विषादी परीक्षण अनिवार्य गरेपछि सुनसरी जिल्लाका दक्षिणवर्ती नाकाबाट तस्करी बढेको ती कर्मचारीको कथन छ ।

स्थानीय व्यापारीका अनुसार जनताको स्वास्थ्यको हितमा ल्याइएको विषादी परीक्षण  राम्रो  व्यवस्था भए पनि यसका लागि भन्सार क्षेत्रदेखि लामो दूरीको यात्रा गर्नुपर्ने भएकाले समस्या हुने गरेको बताउँछन् । ‘आउँदा–जाँदा ५–६ घण्टा लाग्छ, परीक्षण गराएर फर्किंदा तरकारी बिग्रिसकेका हुन्छन्’ स्थानीय एक व्यापारीले भने, ‘सोही झन्झटिलो प्रक्रियाका कारण हरियो तरकारीको तस्करी हुने गरेको छ ।’ सुनसरीका स्थानीय तरकारी तथा फलफूल व्यापारीले भन्सार क्षेत्रमै विषादी परीक्षण हुनुपर्ने माग गर्दै आएका छन् ।