धनकुटा । मकै, कोदो, दाल, मस्यामजस्ता अन्नबाली लगाउँदा ६ महिना पनि खान नपुग्ने धनकुटा–७ बस्ने भरत गुरागाईंले जब एभोकाडो खेती थाले, त्यसयता उनको दिन फर्किएको छ ।

नेपाली समाजमा एभोकाडो फलबाट अभ्यस्त नभइसकेको अवस्थामा गुरागाईंले ३३ वर्षअघि त्यसैको खेती गर्दा छिमेकीहरूले समेत पत्याएनन् । काठमाडौँको एक होटलबाट एभोकाडोको २ दाना ल्याएर बारीमा रोपेका थिए । उनले सम्झँदै भने, ‘मैले दुई दाना रोपेकामध्ये एउटा मर्यो भने एउटा हुर्कियो । त्यही एक बोटबाट अहिले मासिक रूपमा १ लाख २७ हजार रुपैयाँसम्म आम्दानी गर्न सकेको छु ।’ उनका अनुसार राम्रो प्रजातिको एभोकाडो प्रतिकेजी बोटैमा २ सय २० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

६२ वर्षीय गुरागाईंले यो वर्ष एउटै बोटबाट १ लाख रुपैयाँको एभोकाडो बिक्री गरेको बताए । उनले हरेक वर्षको पुस मसान्तमा मात्र एभोकाडो बिक्री गर्ने गरेका छन् । उनले भने, ‘एभोकाडो कहिले टिप्ने भन्ने सबै एभोकाडो किसानलाई ज्ञान नहुँदा ग्राहकलाई स्वादमा मार पर्छ ।’

घरै छेउको ठूलो रुखबाहेक अहिले उनीसँग विभिन्न प्रजातिका २३ बोट एभोकाडो फल दिने अवस्थाका छन् । उनको बारीमा पहिलो पटक फलेको एभोकाडो ०५७ सालमा १ हजार ७ सय रुपैयाँमा बिक्री गरेर केही रकम त्यसमा थपी गुजराती जातको भैँसी किनेर ल्याएको कथा पनि उनले सुनाए ।

०७७ सालमा हालसम्मकै सबैभन्दा बढी २१ क्विन्टलसम्म एभोकाडो फलाएका थिए भने यो वर्ष २५ क्विन्टल फलेको बताए । उनले भने, ‘यो वर्ष प्रतिकेजी २ सय २० रुपैयाँले बिक्री गर्दा एभोकाडोबाट ५ लाख ५० हजार रुपैयाँ र बिरुवाबाट ७ लाख ८० हजार गरी १३ लाख ३० हजार रुपैयाँ आम्दानी भयो ।’ उनले एभोकाडोको नर्सरी राख्न थालेको ६ वर्ष मात्र हुँदै छ ।

प्रत्येक साल ५ हजारदेखि ७ हजारसम्म एभोकाडोको बिरुवा उनले बिक्री गर्दै आएको बताए । सुरु–सुरुमा बिरुवाको मूल्य १ सय ५० भन्दा माथि थियो । तर, अहिले आएर ७० देखि १ सय रुपैयाँमा झरेको छ । तर, पनि उनले यो वर्ष ७ लाख ८० हजार मूल्यको बिरुवा बिक्री गरेको बताए । 

pic-6

एभोकाडोका ४ हजार बिरुवा बिक्री गर्ने लक्ष राखेका छन् । उनले भने, ‘परम्परागत शैलीको बिरुवाभन्दा ग्राफ्टिङ बिरुवाको बढी माग आएकाले यो वर्षदेखि ग्राफ्टिङ बिरुवा उत्पादन गर्ने तयारीमा छु ।’ उनले एभोकाडोको नर्सरी राख्नुअगाडि कागती, सुन्तला, मुन्तला, जुनारलगायत फलफूलको बिरुवा उत्पादन गर्दै आएका थिए । पछिल्लो समयमा ती फलफूलका बिरुवासँगै एभोकाडोको बिरुवा उत्पादनमा लागेको गुरागाईंले बताए । उनकी ५६ वर्षीया पत्नी पूर्णकुमारीले पनि बिरुवा ग्राफ्टिङलगायत प्राविधिक काममा सहयोग गर्ने गरेकी छन् ।

एभोकाडो ग्राफ्टिङ नयाँ प्रविधिमा थालेको पूर्णकुमारीले बताइन् । उनले परामर्श केन्द्रको सञ्चालक जीवनकुमार राई र धनकुटा नगरपालिकालाई एभोकाडो प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको भन्दै धन्यवाद दिइन् । एभोकाडो, सुन्तला, जुनार, मुन्तला, सुन्तलाकै पाकिस्तानी प्रजाति किन्नो, उन्सोलगायत विभिन्न फलफूलको नर्सरीको व्यावसायिक खेतीबाट पक्की घर बनाएका छन् ।

गुरागाईं दम्पतीले एभोकाडो र अन्य फलफूलको व्यावसायिक खेतीको आम्दानीबाट एकजना छोरालाई स्नातकोत्तर, अर्का छोरालाई स्नातक, एक छोरीलाई हेल्थ असिष्टेन्ट (स्वास्थ्य सहायक) र एक छोरीलाई अनमीसम्मको पढाइ पूरा गराएका छन् ।

पूर्णकुमारीले भनिन्, ‘एभोकाडो फल लगायत अन्य फलफूलको नर्सरी गर्नुभन्दा पहिले चाडपर्वमा लत्ताकपडा किन्न र मीठो मसिनो खान साहुकहाँ ऋण काढ्नु पथ्र्यो । अहिले आर्थिक रूपले आत्मनिर्भर भइएको छ । कसैसँग हात फिँजाउनु परेको छैन ।’

गुरागाईं दम्पतीको निशान बिरुवा नर्सरीमार्फत् उत्पादन भएको एभोकाडोको बिरुवा सुर्खेत, चितवन, खोटाङ, सङ्खुवासभा, भोजपुर, उदयपुर र धनकुटा जिल्लाको विशेष गरेर चौबिसे गाउँपालिकाको राजारानी क्षेत्रमा खपत हुने गरेको छ ।

pic-4