धनकुटा । धनकुटा नगरपालिका–५ कर्मिटारका ४९ वर्षीय गोविन्द श्रेष्ठ तीन वर्षअघिसम्म साउदी अरबमा थिए । ६ वर्षसम्म साउदीको मरुभूमीमा पसिना बगाएर उनले २५ लाख रुपैयाँ जति पैसा पनि कमाएका पनि थिए ।
तर, यता श्रीमती विनु मोक्तान श्रेष्ठ दमको रोगले ग्रस्त भईन् । उनको औषधी उपचार, ३ छोरा र १ छोरीको लालनपालन र पठन–पाठनमा कमाएको जति सबै खर्च भयो । उबेला उल्टै १ लाख रुपैयाँ ऋण काढेर उनी घर आएका थिए ।
विदेशमा भने जस्तो पैसा कमाउन नसकेपछि निराश भएर नेपाल फर्किएका गोविन्दले ०७५ सालदेखी सिजनमा एभोकाडो खरिद गरेर विक्रि गर्ने व्यवसाय शुरु गरे । सँगै तरकारी व्यापार पनि थाले । त्यहिबेला उनलाई जमिन भाडामा लिएर एभोकाडो खेती गर्ने रहर जागेर आयो । खेतीपाती गरेर जीवन चलाउने रहर उनमा पहिले देखी नै थियो तर आफ्नो नाममा प्रयाप्त जग्गा जमिन थिएन । धनकुटा नगरपालिकाले मेयर कृषि पर्यटन कार्यक्रम मार्फत एभोकाडोको राजधानी घोषणा गरेर व्यवसायिक रुपमा एभोकाडो खेतीलाई पहिलो प्राथमिकतामा राखेपछि आफुपनि त्यतै लागेको गोविन्द बताउँछन् ।

एभोकाडोको व्यवासायिक खेतीको लागी धनकुटा–५ का इश्वरी श्रेष्ठको ५ रोपनी जग्गा वार्षिक १ लाख ९० हजार र सुर्यकुमार श्रेष्ठको ५ रोपनी जग्गा वार्षिक २५ हजार भाडा तिर्ने गरी जम्मा १० रोपनी जग्गा लिजमा लिएको गोविन्दले बताए । दुवै जग्गा ६ वर्षको लागी उनले लिजमा लिएका हुन । अहिले उनको नाममा रहेको ४ रोपनी र लिजमा लिएको १० रोपनी गरी १४ रोपनी जग्गामा एभोकाडो उनले व्यवसायिक खेती थालेका छन् ।
अहिले उनले लिजमा लिएको वारीमा एभोकाडोको २० बोट फलिरहेको, १० वोट फल्न लागेको र १० बोट नयाँ विरुवा हुर्किदै गरेको अवस्थामा छ । उनले जग्गा लिजमा लिदा त्यहाँ भएका १५ वोट एभोकाडोले फल दिईरहेका थिए । उनले ०७६ सालमा १० क्विन्टल प्रति केजी २ सयले २ लाखको विक्रि गरेको बताए । त्यसैगरी ०७७ सालमा १२ क्विन्टल प्रति केजी २ सय २० ले २ लाख, ६४ हजारको र ०७८ सालमा यो वर्ष १५ क्विन्टल प्रति केजी २ सय ९० ले ४ लाख, ३५ हजारको विक्रि गरेको गोविन्दले बताए ।
उनले तरकारी व्यापार छाडेर एभोकाडोको व्यवसाय थाले पछि तिन वर्षमा ९ लाख आम्दानी भएको बताए । धनकुटा नगरपालिकाले ०७६ सालमा तेखिमे कृषि परामर्श केन्द्र मार्फत सञ्चालन गरेको एभोकाडो नर्सरी व्यवस्थापन सम्वन्धी तालिम उनले पनि लिएका थिए । तालिम पश्चात उनले विजु र ग्राफ्टिङ विरुवा उत्पादन गर्न थाले । उनले तिन वर्षमा २० हजार विजु विरुवा उत्पादन गरेर विक्रि गर्दा १० लाख रुपयाँ कमाए ।
शुरुमा ३ सय ५० रुपैयाँले प्रति गोटा विजु विरुवा वेचेका श्रेष्ठले पछिल्लो समयमा ६०–७० रुपैयाँमा विजु विरुवा विक्रि गरिरहेका छन् । धनकुटा नगरमा अधिकांश कृषकले आफै नर्सरी राखेर एभोकाडोको विरुवा उत्पादन गर्न थाले पछि पछिल्लो समयमा एभोकाडोको विरुवाको मुल्य ह्वात्तै घटेको हो । उनले अघिल्लो वर्ष १ हजार वोट ग्राफ्टिङ विरुवा उत्पादन गरेर प्रति गोटा ५ सयका दरले विक्रि गर्दा ५ लाख रुपैयाँ कमाई गरेका थिए । यो वर्ष पनि ग्राफ्टिङ गरिएको १२ सय विरुवा मदरप्लान्टमा तयारी भैरहेको उनले बताए । अब ग्राफ्टिङ विरुवाको मुल्य पनि वढी उत्पादन हुँदै गएपछि घट्दै जाने क्रममा छ ।
उनलाई ०७६ कार्तिकमा धनकुटा नगरपालिकाले २ दिने एभोकाडोको विरुवा ग्राफ्टिङ गर्ने सिप दिएकाले अहिले फाईदा पुगेको छ । त्यसबेला नगरपालिकाले नर्सरी व्यवस्थापन र नर्सरी सुधार कार्यक्रम तथा एभोकाडो विरुवामा ग्राफ्टिङ गर्ने तालिम दिएको थियो । उक्त तालिम तिखिमे कृषि परामर्श केन्द्र मार्फत काभ्रेबाट प्रशिक्षक पुर्णमान वाईवालाई ल्याएर धनकुटा नगरका विभिन्न वडाका ३५ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गरिएको केन्द्रका परामर्शदाता जीवन राईले बताए । तालिम धनकुटा नगरपालिकाको विभिन्न वडाहरुमा आयोजना गरिएको थियो ।
पछिल्लो समय गोविन्दको श्रम र पसिनाबाट जति आम्दानी हुन्छ, त्यति नै एभोकाडो बगानमै लगानी गरिरहेका छन् । एभोकाडोको नर्सरी व्यवस्थापनको लागी ग्रिन हाउस निर्माणमा उनको लगानी भएको छ भने एभोकाडोसंगै वाख्रापालन र वंगुर पालनमा पनि लगानी शुरु गरेका छन् ।
यो वर्ष धनकुटा नगरपालिकाको वडा नं.५ को वडा कार्यालयले ग्रिनहाउस निर्माणको लागी २५ हजार र धनकुटा नगरपालिकाको मेयर कृषि पर्यटन कार्यक्रम मार्फत नर्सरी व्यवस्थापनको लागी ६० हजार अनुदान पाएको गोविन्दले बताए । ग्रिनहाउस निर्माण र अन्य व्यवसायमा लगानीको लागी हिले स्थित् नविल वैंकबाट ७ लाख रुपैयाँ ऋण समेत लिएका छन् ।
स्थानिय सरकारको अनुदान सहयोगले मात्र नपुगेर आफ्नो निजि लगानीबाट १७ फुट चौडाई र १ सय फुट लामो ग्रिनहाउस १ लाख रुपयाँमा निर्माण गरेका छन् । त्यसैगरी ८० हजार रुपयाँ लगानीमा १७ फुट चौडाई र ८० फुट लम्वाई भएको दोश्रो ग्रिनहाउस पनि उनले बनाई सकेका छन् ।
त्यसका साथै उनले नर्सरी उत्पादन गर्दा होस या एभोकाडो राम्रो उत्पादन गर्नको लागी मल आवश्यक पर्ने भएकाले वंगुर र बाख्रा पालनमा पनि उनले लगानी गरेका छन् । अहिले उनीसंग उन्नत जातको १९ वटा वाख्रा छन् । साथमा आधा दर्जन वंगुर पनि उनले पालेका छन् ।
बाख्रा र बंगुरपालनबाट विक्रि गरेर नगद आर्जन एकातिर हुन्छ भने अर्को तर्फबाट उनीहरुबाट उत्पादन हुने मलले विरुवा गोडमेलमा सहयोग पुग्ने गर्दछ । विरुवा गोडमेल, मलजल हाल्न र अन्य कामको लागी २ जना कामदारलाई दैनिक रुपमा ६ सयका दरले मासिक १८ हजार तलव दिएर ३६ हजारको दरले वर्षमा ४ लाख, ३२ हजार लगानी छ । तलव वाहेक कामदारलाई विहान एक छाक खाना समेत उनले खुवाउने गरेका छन् ।
तिन छोरा, १ छोरी र श्रीमान÷श्रीमती गरी ६ जनाको परिवारलाई दैनिक गुजारा गर्न आफुले संचालन गरेको व्यवसायबाट मनग्गे पुगेको गोविन्द बताउँछन् । गोविन्दले संचालन गरिरहेको कृषि व्यवसायलाई छरछिमेकीहरुले पनि अनुशरण गर्न थालेको देख्दा समाजको लागी पनि केही योगदान गरिरहेको छु भन्ने उनलाई लागेको छ ।
पहिलेको तुलनामा पछिल्लो ४–५ वर्षको अवधीमा उनको व्यवसायमा धेरै नै परिवर्तन आएको छ । पहिले पहिले आफुले उत्पादन गरेको एभोकाडो, अन्य फलफूल र तरकारी विक्रि गर्न गोविन्द धनकुटा देखी धरानसम्म जाने गरेका थिए । नजिकको हटिया धनकुटाको विहिवारे बजार त सधैंको लागी छदै थियो । तर हिजो आज ग्राहक गाडी लिएर घरैमा आउने गरेका छन् ।
अहिले उनलाई पैसा कमाउन टाढा जानु परेको छैन । उनी सफल हुनुमा उनको श्रमती विनुको ठूलो हात छ । गोविन्द घर छोडेर काम विशेष अन्यत्र गएको वेला सम्पुर्ण कामको जिम्मेवारी श्रीमती विनुले लिने गरेकी छन् । उनको मुख्य लक्ष्य सफल कृषि उद्यमी बन्ने रहेको छ ।