विराटनगर । नेपाली काङ्ग्रेसका नेताहरूले सरकारले तोकेको मितिमा स्थानीय तहको निर्वाचन हुने र वैशाख ३० गते हुने निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस  विराटनगर महानगरपालिकालले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुने र सत्ता गठबन्धन निर्वाचनसम्म मात्र रहने बताएका हुन् ।

कार्यक्रममा बोल्दै काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावलाई कसैले रोक्न नसक्ने बताए । ७ सय ५३ स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा जित्न सकियो भने काङ्ग्रेसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि जित्ने उनको भनाइ थियो । निर्वाचनतर्फ देश अगाडि बढेकोले अब टोल–टोलमा काङ्ग्रेस पार्टीका सदस्यहरू एकताबद्ध भएर लाग्नुपर्ने उनले बताए ।

‘यो अहिलेको गठबन्धन विशेष प्ररिस्थितिको कारणले बनेको हो । संविधानलाई विस्थापित गर्ने अवस्था सिर्जना भएपछि गठनबन्धन बनेको हो । यसको नेतृत्व काङ्ग्रेसले लिएको छ । यो गठबन्धन चुनावसम्म मात्र हो । काङ्ग्रेसको विचार र सिद्धान्त कम्युनिष्टहरूसँग मिल्दैन । राष्ट्रियता र प्रजातन्त्र काङ्ग्रेसको सिद्धान्त हो । यसमा अगाडि बढ्छ । त्यसैले स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घीय तहको निर्वाचनमा काङ्ग्रेस एक्लै चुनावमा लड्छ’–उनले भने । काङ्ग्रेस विधिसम्मत र विधानसङ्गत अगाडि बढ्ने पार्टी भएको उनले बताए । ‘हामी भागबण्डाको राजनीतिमा रमाउन चाहँदैनौं । काङ्ग्रेस जनताले खोजेको पारदर्शी, उत्तरदायी, जवाफदेही पार्टी हो । विधि र विधानसम्मत ढङ्गले अगाडि बढ्ने पार्टी हो’–उनले भने ।

काङ्ग्रेस उपसभापति धनराज गुरुङले पार्टी सम्पूर्ण रूपमा एकताबद्ध रहेको दाबी गरे । ‘कसले कसलाई मत दियो दोस्रो कुरा हो । तर, काङ्ग्रेस पार्टी एक ठाउँमा छ । निर्वाचन जित्ने सवालमा एक ठाउँमा छ’–उनले भने । कम्युनिष्टहरूले आफ्नै घरमा आगो लगाएका कारण अहिले काङ्ग्रेसले मुलुक सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘हामीले सम्हाल्नु पर्नेछ, सम्हाल्छौं । यो पटक शानदार ढङ्गले जितेर पाँच वर्ष सरकार पनि चलाउँछौं’–उनले भने ।

काङ्ग्रेस महामन्त्री गगन थापाले चुनावको विषयमा एक दिन तलमाथि पनि नभई तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुने बताए । काङ्ग्रेसले चुुनाव गराउँछ भन्नेमा नै जनता विश्वस्त रहेको पनि उनले बताए ।

‘सरकारले संसद् चलाउने र चल्ने अवस्था नबने राख्ने कि नराख्ने भन्नेबारेमा पनि सोच्ने उनले बताए । तर, स्थानीय तहको चुनाव हुन्छ । नयाँ संसद् ल्याएर होस् वा चलाएर होस् चुनाव हुन्छ’ महामन्त्री थापाले भने, ‘दुई कम्युनिष्ट पार्टी मिलेपछि २०७४ मा निर्वाचन हाम्रो पक्षमा आउँदैन भन्ने पहिल्यै आँकलन गरिएको थियो । २०६४ मा गिरिजाप्रसाद कोइरालाले आफ्नो पक्षमा नआए पनि निर्वाचन गराउने कर्तव्य पालना गर्नुभएकै हो । अब पनि संविधान जोगाउनको लागि पनि काङ्ग्रेसले चुनाव गराउनै पर्छ ।’

आम जनताको जीवनमा बदलाव आउन नसकेको अवस्थामा उनीहरूको भरोसा टुट्न लागेको जस्तो देखिएकोले अब काङ्गे्रसले निकास दिनुपर्नेमा जोड दिए । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनतालाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको तर, अब किसानले मल पाउँछन् कि पाउँदैनन् भन्नेबारे पनि काङ्ग्रेसजनमा चिन्ता रहेको सुनाए ।  रोगजारी गुमाएकाहरूको रोजगारीको ग्यारेन्टी हुनुपर्नेमा उनले जोड दिए ।

काङ्ग्रेसको महाधिवेशनमा तलैबाट निर्वाचित भएर जाने व्यवस्था भएकाले यो सबल र सुन्दर पक्ष रहेको उनले बताए ।  ‘यसले चुनौती पनि ल्याउँछ । निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज छ, तर परिणाम स्वीकार गर्न बडो कठिन छ । ओलीवेशन र प्रचण्डको आधा वाचनजस्तो काङ्ग्रेसको महाधिवेशन होइन’ उनले भने, ‘हाम्रो पार्टीमा तलबाट अधिवेशन गरेर आएका प्रतिनिधि छन् । एउटा स्थितिमा पार्टीलाई राख्ने परिस्थिति बनेको छ । परिणाम जेसुकै आओस् पार्टीलाई थितिमा बसाल्ने पार्टी सभापतिले भन्नुभएको छ ।’

विचलित नभई काम गर्नुपर्ने र केन्द्र तथा प्रदेशमा काङ्ग्रेसको सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए । पार्टीलाई विधि र न्यायको सिद्धान्तबाट अघि बढाउनु पर्नेमा उनले जोड दिए । ०७९ को चुनाव कम्युनिष्टकै सरकारले गराउनुपर्ने भए पनि पार्टी नै नरहेकोले काङ्ग्रेसको काँधमा जिम्मेवारी थपिएको बताए ।

उनले भने, ‘प्रदेशका ६ वटा सरकार नेकपाको नेतृत्वमा थियो । उहाँहरूकै सरकार रहनुपर्ने थियो । मतादेश त्यही थियो । प्रश्न गर्ने ठाउँमा प्रश्न गरियो । सहयोग गर्ने ठाउँमा सहयोग गरियो । पाँचौँ वर्षमा हामी मत माग्ने थियौँ, यो गर्न सकेनौँ भनेर मत माग्ने थियौँ होला । तर, तीन वर्ष पुग्दा नपुग्दै रातारात मिलेर बनेको पार्टी रहेन । घर डढेलो लगाउँदै केहीथरी घर डढेको खरानी दलेर निस्किए । हामीले घरमा आगो लगाएको होइन । नेकपाले चलाउन सकेन । यसको परिणाम संसद्, अदालत आदिमा धेरै अस्थिरताको जग बस्यो । काङ्ग्रेस यस्तो होस् भन्ने चाहँदैन ।’

congress-brt