विजयपुर । धरानमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । नेपाल खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभेर एकद्वार प्रणालीबाट पानी वितरण गर्न थालेपछि खानेपानी समस्या झन् विकराल बन्दै गएको हो ।

बोर्डले धारा जडान गरेका धेरै ठाउँमा पानी नआउने समस्या छ । धरान–७ शान्तिपथका अर्जुन मास्केले धारामा पानी नआएको एक साता भएको बताए । मास्केले आफ्नो समस्या सुनाउन बोर्डका प्रमुख र कर्मचारीलाई पटक–पटक फोन गर्दा पनि नउठेको बताए । उनले बोर्डका कर्मचारीले पनि शान्तिपथमा आएर समस्याबारे राम्रोसँग नबताएको गुनासो गरे ।

‘कर्मचारीलाई समस्या बताउँदा मोटर लगाएर तानेकाले समस्या भएको जवाफ दिन्छन् । पर्याप्त पानी भए बिजुली  खर्च गरेर किन मोटर लाउनु ?’–उनले प्रश्न गरे । अर्का स्थानीय तेजेन्द्र लामिछाने पनि पानी नआउँदा समस्या आएको बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीले पानी के भएर नआएको हो भन्नेबारे केही भन्दैनन् ।’

स्थानीय नवीन मास्के अन्य क्षेत्रका धारामा पानी आए पनि आफ्नो क्षेत्रमा नआउँदा बसाइ सर्ने अवस्था भएको बताउँछन् । उनले भने, ‘पानी किनेर खाएको १ हप्ता भयो । शौचालय जाने पानी छैन । पानीकै कारणले बसाइ सर्ने अवस्था भयो ।’ उनले कर्मचारीले बदमासी गरेर शान्तिपथमा पानी नदिएको दाबी गरे । ‘एकदिन राति सबै घरमा पानी आएको थियो’ उनले भने, ‘शान्तिपथलाई किन पानी नदिएको हो, बुझ्न सकिएन ।’

धरान–१९ मा पनि खानेपानीको उस्तै समस्या छ । त्यहाँका स्थानीयका अनुसार ५ दिनदेखि पानी आएको छैन । स्थानीय नगेन लिम्बूले ५ दिनदेखि पानी नआएको र आउँदा पनि कम र छोटो समय आउने गरेको बताए । माओवादी केन्द्रका सुनसरी सह–इन्चार्जसमेत रहेका धरान–१५ का स्थानीय आइन्द्रविक्रम बेघाले धारामा ३५ दिनदेखि पानी नआएको बताए । उनले भने, ‘३५ दिनदेखि पानी आएको छैन । मेयर र बोर्डका निर्देशकलाई कुरा गर्दा मिलाउँछु भन्छन् तर, कहिले मिलाउँछन् थाहा छैन ।’

उनले परियोजनाको डिपिआर र परिकल्पनाअनुसार हेर्ने हो भने परियोजना असफल भएको बताए । उनले व्यवस्थापनमा मात्रै समस्या भए दैनिक नभए पनि दिन बिराएर १ घण्टा पानी आउनु पर्ने हो तर, ३५ दिनसम्म नआउँदा परियोजनामाथि प्रश्न खडा भएको बताए । ‘३५ दिनसम्म पानी नआउनु परियोजना असफल हुनु हो’ उनले भने, ‘परियोजना कार्यान्वयन गर्ने राजनीतिक दल र नेतृत्वलाई अभिमत जाहेर गरेर कारबाही गर्ने अवस्था आएको छ ।’

धरान–१७ मा २ महिनादेखि पानी आएको छैन । धरान–९ का विभिन्न क्षेत्रमा ९ दिनदेखि पानी आएको छैन । धरान–१० मा पनि एक हप्ता अघिदेखि पानी आएको छैन । यी मात्र होइनन्, अन्य वडाहरूमा पनि यस्तै समस्या देखिएका छन् । खानेपानी समस्या जटिल भए पनि समस्या समाधानमा कसैको सक्रियता देखिँदैन ।

संस्थानलाई बोर्डमा गाभेर एकद्वार प्रणालीबाट पानी वितरण गर्न थालिएको एक वर्षभन्दा बढी भइसक्यो । तत्कालीन अवस्थामा खानेपानीलाई मुख्य मुद्दा बनाएर उपमहानगरको प्रमुख बन्न सफल तिलक राईको कार्यकाल पनि समाप्त हुन लागेको छ । उनी बोर्डका अध्यक्षसमेत हुन् । तर, खानेपानीको समस्या चर्किरहँदा पनि समाधान गर्न सकेका छैनन् ।

एसियाली विकास बैङ्कको ऋण तथा अनुदान सहयोगमा सञ्चालित परियोजना (धरान खानेपानी बोर्ड) मा  नेपाल खानेपानी संस्थान गाभ्नु हुँदैन भन्दै आन्दोलनको नेतृत्व गर्ने राई नै धरानको नगर प्रमुख भएपछि संस्थानलाई गाभेका थिए । त्यसपछि खानेपानी समस्या झन् जटिल बन्दै गएको छ । संस्थानले खानेपानी वितरण गर्दा दिन बिराएर सबै स्थानमा पानी आउँथ्यो ।

तर, बोर्डले सञ्चालन गर्न थालेपछि भने धरानका अधिकांश स्थानमा पानी आएको छैन । राईले संस्थान बोर्डमा गाभ्दा ६ महिनामा परियोजना सफल असफल परीक्षण गरी निर्णय लिने बताएका थिए । तर, १ वर्षभन्दा बढी समय बित्दा पनि परीक्षण प्रतिवेदनसमेत सार्वजनिक गर्न सकेका छैनन् ।

सामाजिक अभियन्ता हर्क साम्पाङ बोर्डले परीक्षण नगरी जिम्मा लिई संस्थानलाई बिदा गरेकाले समस्या भएको बताउँछन् । उनले भने, ‘परीक्षण नगरी नलिनू भन्यौं । त्यतिकै जबरजस्ती लिइयो । यो त्यसको परिणाम हो ।’ उनले परियोजनामा भ्रष्टाचार भयो कि प्राविधिक कमजोरी भयो भन्ने विषयमा छानबिन हुनुपर्ने बताए ।

धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेलले सुख्खा मौसममा स्रोतमै पानी सुक्दा पानी अभाव भएको दाबी गरे । उनले भने, ‘विद्युत्को भोल्टेजका कारणले पनि समस्या भएको छ ।’ उनले पानी अभाव हुनुको अर्को कारण ग्राहक सङ्ख्या वृद्धिलाई देखाएका छन् । उनले भने, ‘पहिले १८ हजार ग्राहक थिए । हाल २८ हजार छन् । त्यसले गर्दा पनि समस्या भयो ।’

६ महिनामा सुधार गर्ने भनेको वितरण प्रणाली १ वर्ष हुँदा पनि सुधार गर्न नसकिएको उनले स्वीकारे । उनले भने, ‘वितरण प्रणालीमा सुधार गर्न सकेका छैनौं ।’ धरानमा दैनिक २ करोड लिटर खानेपानी उत्पादन भए पुग्ने बताएका छन् । अहिले बोर्डसँग दैनिक पौने २ करोड लिटर पानी उत्पादन गर्ने क्षमता छ । तर, सुख्खा मौसममा त्यो परिमाणमा उत्पादन हुन सकेको छैन । उनले वर्तमान अवस्थामा कति पानी उत्पादन हुन्छ भन्ने पनि एकिन जानकारी नभएको बताए ।

कर्मचारीको सेटिङ कि असक्षमता ?
अधिकांश वडामा खानेपानी नआए पनि केही क्षेत्रमा भने पानी निरन्तर आउने गरेको छ । शान्तिपथका स्थानीय अर्जुन मास्केले शान्तिपथभन्दा माथिल्लो लाइन र आसपासका क्षेत्रमा पानी आए पनि आफ्नो क्षेत्रमा नआएको बताए । उनले भने, ‘माथिल्लो लाइन र तल्लो लाइनमा पानी आइरहेको छ । तर, यहाँ किन नआएको हो ?’

धरान–१५ कै पनि केही क्षेत्रमा पानी आइरहेको पाइएको छ । मास्केले प्रभावशाली नेता भएको वडामा पानी नआए १ कल फोन गर्ने बित्तिकै पानी आउने गरेको बताए । उनले भने, ‘उनीहरूकोे वडामा पानी नआए १ जना नेतालाई फोन गर्ने बित्तिकै पानी आउने गरेको छ । पानी खान पनि नेता गुहार्नुपर्ने अवस्था आयो ।’

नवीन मास्के भने कर्मचारीले होटल व्यवसायी, घर निर्माण गर्नेलाई सेटिङमा पानी दिएकाले अन्यत्र नआएको आशङ्का व्यक्त गरे । उनले भने, ‘कर्मचारीहरूले जता फाइदा हुन्छ, उता पानी दिँदा समस्या भयो ।’