विजयपुर । गर्मी मौसम सुरु भएसँगै सबै ठाउँको तापक्रम वृद्धि हुँदै आएको छ । धरानको तापक्रम भने असामान्य रूपमा वृद्धि भएको छ । बिहीबार धरानको तापक्रम ३७ दशमलव ७ डिग्री थियो । यो मार्च महिनामा हालसम्मकै उच्च तापक्रम हो । यही अनुपातमा तापक्रम वृद्धि हुँदै गए तातो हावा ‘लु’ आउन सक्ने सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार धरानको तापक्रम मार्च महिनामा हालसम्मको उच्च तापक्रम रेकर्ड भएको हो । धरानमा अन्य समयमा अधिकतम् ३८ दशमलव ८ डिग्रीसम्म तापक्रम रेकर्ड हुने गरेको छ । तर, ३८ दशमलव ८ डिग्री तापक्रम अप्रिल महिनामा हुने गरेको थियो । यो वर्ष १ महिनाअघि मार्च महिनामा नै अत्यधिक तापक्रम असामान्य वृद्धि भएको हो । यो २३ वर्षयताकै उच्च तापक्रम हो । सन् २००४ सालको मार्च महिनामा भने ३६ दशमलव ७ डिग्री तापक्रम रेकर्ड भएको थियो ।
जल तथा मौसम विज्ञान कार्यालय धरानको १ नं. प्रदेश र मधेश प्रदेश कार्यक्षेत्र रहेको छ । कार्यालयका अनुसार १ नं. प्रदेशको सबैभन्दा अधिकतम् तापक्रम विराटनगर र जनकपुरको हुने गरेको थियो । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख सुनिल पोखरेलका अनुसार धरानमा गतवर्ष मार्चमा अधिकतम् तापक्रम ३५ दशमलव ४ डिग्री मापन भएको थियो ।
धरानमा ३७ दशमलव ७ डिग्री तापक्रम हुँदा विराटनगरको तापक्रम अधिकतम् तापक्रम ३५ दशमलव ५ डिग्री मात्रै रेकर्ड भएको थियो । शुक्रबारको तापक्रम केही कम हुँदै ३७ दशमलव २ भएको थियो भने विराटनगरको ३६.२ डिग्री मापन भएको थियो । शनिबार भने विराटनगरको तापक्रम ३६ दशमलव ६ डिग्री हुँदा धरानको तापक्रम ३६ दशमलव ७ डिग्री रहेको छ ।
विगतमा भने धरानको भन्दा विराटनगरको तापक्रम बढी रेकर्ड हुने गरेको थियो । २९ मार्च २०१४ मा धरानमा ३६.६, १९ मार्चमा २०१० मा ३६.२ र ३१ मार्च २००७ मा ३६ डिग्री मापन भएको थियो । धरानको तापक्रम हालसम्म अधिकतम् ३८ दशमलव ८ डिग्रीसम्म मापन भएको थियो ।
तर, ३८ दशमलव ८ भने १ महिनापछि अर्थात् अप्रिल महिनामा रेकर्ड हुन्थ्यो । कार्यालय प्रमुख पोखरेलले भने, ‘धरानको तापक्रम ३८ दशमलव ८ सम्म भएको छ । तर, मार्च महिनामा भने होइन । धरानको तापक्रम मुलुकभरमै उच्च देखिएको हो, यस्तो हालसम्म भएको थिएन ।’ उनले २० दिनपछि पुग्ने तापक्रम पहिले नै रेकर्ड भएको बताए ।
धरानमा हालसम्म सबैभन्दा बढी तापक्रम भने १२ अप्रिल २०१३ मा ३८.८ डिग्री मापन भएको थियो । तर, यस वर्ष त चैत पहिलो सातामा नै तापक्रम अत्यधिक बढेको देखिन्छ । सन् २०१८ को यही समयमा ३३ दशमलव ५ डिग्री तापक्रम मापन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सन् २०१९ मा ३२ दशमलव ९ डिग्री, सन् २०२० मा ३२ दशमलव ५ डिग्री, सन् २०२१ मा ३५ दशमलव ४ डिग्री मापन भएको थियो । तर, २०२२ मा भने ३७ दशमलव ७ डिग्री तापक्रमलाई असामान्य मानिएको छ ।
कार्यालय प्रमुख पोखरेलका अनुसार भारतको आन्ध्र प्रदेशमा तातो हावा ‘लु’ चलेको प्रभावले तापक्रम वृद्धि भएको हुनसक्छ । ‘लामो समयसम्म वर्षा नभएकाले पनि तापक्रम वृद्धि भएको हो’ उनले भने, ‘यही मात्रामा तापक्रम वृद्धि भए तातो हावा अर्थात् ‘लु’ आउन सक्ने देखिन्छ ।’
यसरी तापक्रम अधिकत हुँदा मानव जीवनमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ । उनले भने, ‘सुख्खा मौसम छ । मानिसलाई ज्वरो, झाडापखाला हुनसक्छ । आगलागी पनि हुनसक्छ ।’ उनले धरानमा असामान्य रूपमा तापक्रम वृद्धि भएपछि उपकरणमा समस्या भएको हो कि भनेर अन्य थप २ उपकरणबाट समेत तापक्रम रेकर्ड गरेको बताए । उनले भने, ‘अधिकत तापक्रम भएपछि उपकरणमा समस्या भएको कि भनेर अन्य २ उपकरणले मापन गर्यौं । दुवै उपकरणमा पनि वृद्धि भएको देखियो ।’