सुनसरी । सुनसरीको सीमावर्ती नाकामा हुने चोरी–पैठारी नियन्त्रण गरी राजस्व वृद्धि तथा शान्तिसुरक्षा मजबुत बनाउन खटिएकै सीमा सुरक्षाकर्मीले नै तस्करलाई प्रश्रय दिने गरेको पाइएको छ ।
सुनसरीको भण्टाबारी, कप्तानगञ्ज, साहेवगञ्ज, लाही, उल्टी, घुस्कीलगायतका नाकामा परिचालित सुरक्षाकर्र्मीको मिलेमतोमा तस्करी हुने गरेको विगतका तथ्यले पुष्टि गरेको छ । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै तस्करहरू सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्र्मीको संरक्षणमा तस्करी गर्न सक्रिय रहेको स्थानीयले बताएका छन् ।
केही समयअगाडि राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीमा तस्करहरू सेटिङ मिलाउन जाँदा विवादसमेत भएको थियो । देवानगञ्ज गाउँपालिका वडानम्बर ५ का सन्तोष साह ‘म चिनी, गुट्खा, खैनी र सुर्तीजन्य पदार्थ बिक्री गर्छु’ भन्दै राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका कार्यालय प्रमुख तीर्थ खनालको कार्यकक्षमा सेटिङका लागि पुगेका थिए ।
नियमनकारी निकायका व्यक्तिलाई चुनौती दिएपछि खनाल र साहबीच विवादसमेत भएको थियो । विवादका बीच साह भाग्ने क्रममा प्रमुख खनालको दाहिने हातको बूढीऔंला ठोक्किएर फ्याक्चर भएको थियो । उक्त घटनापश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख खनालले भनेका थिए, ‘चोरी–पैठारी नियन्त्रणमा कडाइ गरिएको बेला सीमामा अपराध नियन्त्रणको सूचना दिनुपर्ने व्यक्ति तस्कर बोकेर आउँछन् भने सशस्त्र प्रहरी तस्करीमा संलग्न छ भन्ने प्रष्ट हुन्छ ।’
कोसी गाउँपालिका–८ भण्टाबारीका एकजना स्थानीय कपडा व्यापारीका अनुसार सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (बिओपी)ले अवैधरूपमा दैनिक लाखौंको भन्सार छल्ने तस्करहरूसँग असुली गर्न सादा पोसाकमा प्रहरी खटाउने गरेका छन् ।
उनले भने, ‘सीमासुरक्षा र अपराध नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरी परिचालन गरिए पनि भण्टाबारी, कप्तानगञ्ज, साहेवगञ्ज, लाही, उल्टी, घुस्कीलगायत क्षेत्रमा ठीक विपरीत कार्यका लागि बिओपीमा तैनाथ इन्स्पेक्टरहरूले सादा पोसाकका प्रहरी खटाएका हुन्छन् ।’
सीमावर्ती क्षेत्रका स्थानीय सदरुल मियाँले स्थानीय सर्वसाधारणले आफ्नो जीविकोपार्जनका लागि भारतबाट थोरै परिमाणमा सामान खरिद गरी ल्याउँदा नियन्त्रणमा लिएर दुःख दिने तर, दैनिक लाखौं रुपैयाँको तस्करी गर्ने तस्करहरूलाई प्रश्रय दिने गरेको गुनासो सुनाए ।
उनले सुरक्षाकर्मीहरूले नै तस्करलाई प्रश्रय दिएको आरोप लगाउँदै भने, ‘मासिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोटो रकम तस्करहरूबाट लिएर तस्करी गराउँदै आएका छन् । ठूला तस्करहरूसँग मिलेर सुरक्षाकर्मीले तस्करी गराउने र जीविका चलाउन गरिबहरूले ल्याएको सामान भने बरामद गरेर अनावश्यक दुःख दिने काम मात्र भएको छ । महिनावारी दिनेलाई छाड्ने र नदिएमा सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएर मातहतका अधिकृतबाट प्रशंसा पाउने षड्यन्त्र सीमावर्ती क्षेत्रका इन्चार्जहरूले गरिरहेका छन् ।’
तस्करी गर्नेलाई संरक्षण
जिल्लाको भण्टाबारी नाकाबाट ठूलो परिमाणमा गाँजासमेत तस्करी भइरहे पनि दोषीलाई कारबाही गर्ने निकाय मुकदर्शक बनेको पाइएको छ ।
एक महिनाअघि कोसी गाउँपालिका–८ भण्टाबारीस्थित तीनकुने नाका र सशस्त्र प्रहरी बल (बिओपी) भण्टाबारीबीच रहेको खोलाको बाटो हुँदै लगिएको १ सय १० केजी गाँजा भारतीय एसएसबीले २०६ नम्बरको सीमास्तम्भ नजिकबाट बरामद गरेको थियो । जसबाट नेपालबाट भारततर्फ सीमामा तैनाथ सुरक्षाकर्मीकै संरक्षणमा गाँजा तस्करी भइरहेको आरोपमा बल पुगेको देखिन्छ ।
सीमामा तैनाथ भण्टाबारीका सुरक्षाकर्मीलाई केजीको एक हजार रुपैयाँका दरले कमिसन दिएर नेपालबाट गाँजा तस्करी गराउने गिरोह सक्रिय रहेको स्रोतले आरोप लगाएको थियो । सिमानामा रहेका प्रहरी के गर्दैछन् ? के तिनीहरूले तस्करी भएको हेर्दैनन् ? हेरे भने तत्कालै किन समातिएन ? दोषी को ? जस्ता प्रश्न मातहतका प्रहरी प्रमुखहरूले सीमाक्षेत्रका प्रहरी इन्चार्जहरूसँग सोध्नुपर्नेमा तिनीहरूलाई संरक्षण गर्ने काम मात्र गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
सीमा क्षेत्रबाट भारतीय एसएसबीले गाँजा बरामद गरेको पुष्टि गरे पनि उक्त परिमाणको गाँजा कुन नाकाबाट भारतमा छिराइएको हो भन्ने यकिन नभएको भन्दै सीमा सुरक्षा बल सुनसरीका प्रमुख एसपी विक्रम हुमागाईं पन्छिए । उनले भारतीय एसएसबीले गाँजा बरामद गरेपछि आफूहरूले आन्तरिक रूपमा गरेको छानबिनबारे सञ्चारमाध्यममा भन्न नमिल्ने बताए । एसपी हुमागाईंले भने, ‘यही नाकाबाट गाँजा आएको हो भन्ने सम्बन्धमा एसएसबीले हामीलाई पत्र काटेको छैन । आन्तरिक छानबिनबारे तपाईंलाई भन्न मिल्दैन ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खुला सीमानाका भएका कारण पूर्णरूपमा तस्करी नियन्त्रण गर्न सम्भव नभएको बताउँदै मिलेमतोमा तस्करी भएको पाइएमा क्षम्य नहुने प्रतिक्रिया दिए । उनले भने, ‘भारतसँग हाम्रो ६२ किलोमिटर भन्दा बढी खुला सीमा छ । त्यसैले पूर्णरूपमा तस्करी नियन्त्रण गर्न सम्भव छैन । यद्यपि सीमामा तैनाथ कुनै सुरक्षाकर्मीको मिलेमतोमा राजस्व चुहावट भइरहेको पाइएको अवस्थामा त्यस्तालाई कानून बमोजिम कारबाही गर्छौं ।’