भद्रपुर । झापाका विभिन्न नाकाबाट तस्करी हुँदै आइरहेको छ । जिल्ला तथा इलाका सुरक्षाकर्मीलाई खुसी पारेर दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको अवैध तरिकाबाट सामान आयात–निर्यात हुँदै आएको हो ।
चोरी–पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य आपराधिक क्रियाकलाप निस्तेज पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगैै सङ्गठनका सादा पोसाकमा प्रहरी परिचालन गरे पनि नियन्त्रण हुन सकेको छैन ।
नेपाल–भारतबीच रहेका खुला नाकाका कारण झापाको केचना हुँदै जलथल, ज्ञाने चोक झोलुङ्गे पुल, डाँगीबारी–४ स्थित धरधरिया बाँसझ्याङ, भक्सरभिट्टा, भद्रपुरको मेची पुल, नरसिंह चिया बगान, ज्यामिरगढीको बाटोबाट सामान नेपाल आउने गरेको छ ।
त्यसैगरी भद्रपुरबाट नेपाल लिभरका सामान, चुरोट, हजमोला भारत पठाउँदै आइरहेका छन् । तस्करीमा संलग्न भद्रपुर, डाँगीबारीका कारोबारीले स्थानीय सुरक्षाकर्मीले खटाएका सादा पोसाकका कर्मचारीमार्फत् लाइन मिलाएको एक कारोबारीले दाबी गरे । उता काँकडभिट्टाको मेची भन्सारदेखि केही दक्षिणमा रहेको चिया बगानबाट सुपारी, मरिच र छोगडा भारत पठाउने गरेको पाइएको छ भने सोही क्षेत्रको तिरिङ, नकलबन्दा नाकासमेत प्रयोग हुँदै आएको छ ।
सो नाकाबाट व्यापारीको सामान आउने गरेको छ । भद्रपुर भन्सारमा कडाइ भएपछि भद्रपुरका कारोबारीले झापाका सीमा नाकाबाट कपडा, हार्डवेयर, किरानालगायतका सामग्री नेपाल भिœयाइरहेका छन् । भद्रपुर आसपासको क्षेत्रबाट विष्णु र प्रदीप नाम गरेका कारोबारीले समय मिलेमा दिउँसो नै र केही गड्बडी भएमा राति ११ देखि बिहान ३ बजेसम्म गतिविधि गर्दै आइरहेका छन् ।
कामदारमार्फत् साना–साना पोकामा राखेर मेची खोला तार्ने र घरमा ल्याएर जम्मा गरी विभिन्न प्रकारका सवारी साधनमार्फत् बजारमा पुर्याउने गरेको पाइएको छ । सो क्षेत्रमा अन्य कारोबारीले ओसार–पसार गरेमा प्रहरीलाई सुराकी दिने गरेको सो नाकामा काम गर्न गएका कारोबारीले गुनासो गरे ।
घुमुवालाई रकम दिन नसक्दा सामान बरामद हुने गरेको उनको आरोप थियो । प्रहरीलाई लाइन दिएको सामान बरामद नगर्ने तर सोही नाकाबाट सँगै आएको सामान पटक–पटक बरामद हुने गरेको उनीहरूको गुनासो छ । सामान भारतीय नाकामा राख्ने गरेको र भारतीय प्रहरी खाना खान गएको समयमा दिउँसै मेची नदी तार्ने गरेको अन्य कारोबारीले बताए ।
यता केही दिन भएको घटनाअनुसार भारतबाट भन्सार छलेर मेचीपुलमार्फत् आउँदै गरेको सामान भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीलाई तस्करले हानेको ढुङ्गाबाट भारतीय प्रहरी घाइते बनेको एक प्रहरी कर्मचारीले बताए । उता दक्षिणी क्षेत्र बनियानी, पाठामारी, केचना, घेराबारी, कुटीलगायतको क्षेत्रबाट अरुण, धर्मेन्द्र, रञ्जीत, जवर नाम गरेका कारोबारीले किराना, कपडा, युरिया मल, इलेक्ट्रोनिक्स, हार्डवेयरका सामान नेपाल भित्र्याउँदै आएका छन् ।
स्थानीय सुरक्षाकर्मीलाई लाइन मिलाएर केही दिनअघि घेराबारी नाकाबाट भित्र्याइएको सामान हल्दीबारीस्थित अधिकारी चोकबाट गण नम्बर २ बाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । कामको अवस्था र परिमाण हेरेर रकम दिने गरेको उनीहरूले नाम उल्लेख नगर्ने शर्तमा बताए । समाचार आएपछि केही दिन काम रोकिए पनि पुनः सुचारु हुने उनीहरू बताउँछन् ।
त्यसैगरी सामान मात्र नभएर भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकामा प्रहरीकै मिलेमतोमा अवैध बाटो प्रयोग गरी भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको छ । सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको हो । भारतबाट यस्ता वस्तु नेपाल भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ ।
मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७ र १ नम्बरको सीमास्तम्भ, भद्रपुर–५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमास्तम्भ, भद्रपुर–५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमास्तम्भ र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमास्तम्भ भएका ठाउँबाट भन्सार छलेर साइकलमा फलफूल, तरकारी र माछा भित्रिरहेको स्थानीयवासी बताउँछन् ।
व्यापारीहरूले भारतबाट साइकलमा फलफूल, तरकारी र माछा सीमा नाकासम्म ल्याउने र त्यहाँबाट अटोरिक्सा र टेम्पोमा हालेर भद्रपुर र चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म पुर्याउने गर्छन् । उनीहरूले सोमबार, बुधबार, शुक्रबार र शनिबार फलफूल, तरकारी र माछा भित्र्याउने गरेको स्थानीय बताउँछन् ।
कालिका बगानमा सशस्त्र प्रहरीको बिओपी ज्यामिरगढीको टोली, घोडामारा प्रहरी चौकीको टोली, भद्रपुरको देवीबस्ती नजिकै सशस्त्रको पोष्ट, झोलुङ्गे पुल नजिकै सशस्त्रको बिओपी मेचीपारि, मेचीपारि प्रहरी चौकी र महेशपुर प्रहरी चौकी पर्छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले भन्सार छलेर सामान ओसार–पसारको विषयमा केही दिनमा परिमाण थाहा हुने बताए । खुला सीमा भएकोले यस्ता कुरालाई सामान्य लिनु पर्ने उनको भनाइ थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले झापामा १ सय ४४ किलोमीटर खुला सीमा भएकोले दैनिक उपभोगका लागि थोरै परिमाणमा सामान आउनुलाई तस्करी भन्न नमिल्ने बताए । ठूलो परिमाणमा तस्करी नभएको उनले दाबी गरे । तस्करी हुन नदिन मातहतका प्रहरी इन्चार्जलाई निर्देशन दिइसकेको उनले बताए ।