बिर्तामोड । बिर्तामोडका अधिकांश सामाजिक क्षेत्रमा पकड बनाएको नेपाली काङ्ग्रेसले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मुख्य पद गुमायो । निर्वाचनमा चारवटा वडाको नेतृत्व काङ्ग्रेसले लिन सफल भयो । एक राप्रपा र पाँचवटा वडा नेकपा (एमाले)ले जितेको थियो ।
खासगरी सबै राजनीतिक दलको जिल्ला कार्यालय रहेको बिर्तामोडको निर्वाचनलाई महŒवका साथ हेर्ने गरिन्छ । झापाको मुख्य राजनीतिक केन्द्र र नेताको प्रतिष्ठा बन्ने बिर्तामोडमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मुख्य ५ पार्टीका दुई दर्जन नेताले बिर्तामोड नगरको मेयर हुने आकाङ्क्षा राखेका छन् ।
आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा २०७४ सालको भन्दा पकड राख्ने योजनामा एमाले छ । एमालेले चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गरिरहेको छ । एमालेबाट उम्मेदवारी पाउनका लागि आफू निकटका राजनीतिक नेतासँग उनीहरूले लविङ सुरु गरेका छन् । एमालेबाट मेयरमा आधा दर्जन नेताहरूले आकाङ्क्षा व्यक्त गरिरहेको चर्चा हुन थालेको छ ।
हालका मेयर ध्रुवकुमार शिवाकोटी ‘फेरि एकपटक’ भन्दै काठमाडौं दौडमा छन् । बितेका पाँच वर्षमा आफ्नो नेतृत्वमा धेरै काम भएको बताउँदै मेयर शिवाकोटीले आफ्नै नेतृत्वमा बाँकी कामहरू सक्नुपर्ने जिकिर गरेका छन् । उनी भन्छन्, ‘बिर्तामोडमा विकासको लहर ल्याएको छु, मेरै नेतृत्वमा समृद्ध एवम् स्मार्ट नगर बनाउने दायित्व छ । त्यसैले मेरो उम्मेदवारी दोहो¥याउन उचित ठानेको छु ।’

गत निर्वाचनमा एमालेबाटै निर्वाचित उपमेयर पवित्रा महतरा मेयरको कडा दाबेदारको रूपमा देखिएकी छन् । उनले आसन्न निर्वाचनमा नगरको मेयर पदमा उम्मेदवार बन्न पाउनुपर्ने माग गरेकी हुन् । पार्टीभित्र र नगर क्षेत्रमा विवादरहित कार्यकाल पूरा गर्ने महतराले मेयरमा महिलाको नेतृत्व हुनुपर्ने विषयलाई केन्द्र तहसम्म पु¥याएकी छन् । उनले आफ्नो संयोजकत्वमा रहेको न्यायिक समितिलाई लगातार प्रदेशमा उत्कृष्ट बनाउन सफल भएकी थिइन् ।
बिर्तामोडमा लोकप्रिय रहेका प्रदेश सांसद् एकराज कार्की पनि मेयरमा उठ्ने तयारीमा छन् । लामो समयदेखि मेयरको उम्मेदवार बन्ने गरी काममा लागेका कार्कीले प्रदेश छोडेर स्थानीय पालिकामा काम गर्ने इच्छा देखाएका छन् ।
मेयर पदका लागि अवकाशप्राप्त कर्मचारी देवराज कार्की पनि चर्चामा छन् । एमाले निकट कर्मचारी सङ्गठनको प्रदेश नेतृत्वसमेत गरेका उनी लामो समयदेखि पार्टीको जनसङ्गठनमा क्रियाशील थिए । नेकपा (एमाले) बिर्तामोडका इञ्चार्जसमेत रहेका कार्की नगरपालिकाको कर्मचारीबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।
यस्तै मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओली अर्का आकाङ्क्षी हुन् । ओली नेकपा (एमाले)को हालै सम्पन्न अधिवेशनमा नगर अध्यक्षमा पराजित भएका थिए । बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौला पनि मेयर पदका आकाङ्क्षी रहेका छन् । विपक्षीमाथि खरो शैलीमा प्रस्तुत हुने सङ्ग्रौलाले हालसालै ‘झापाका माछा पोखरीमा मानव सिनो हाल्ने गरिएको’ भन्ने अभिव्यक्ति दिएपछि विवादित बनेका थिए । पछि उनले त्यो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका थिए ।
नेपाली काङ्ग्रेसबाट पनि आधा दर्जनबढी नेता कार्यकर्ताले बिर्तामोडको मेयर पदमा दाबी गर्न थालेका छन् । पार्टीले उम्मेदवारी टुङ्गो लगाउन छलफल सुरु नगरी मेयर पदका आकाङ्क्षी नेताहरूले मत माग्न सुरु गरेका छन् । यद्यपि काङ्ग्रेसले आफूखुसी उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ । काङ्ग्रेसलाई यसअघिको चुनावमा गुमेको साख फर्काउनै पर्ने दबाव बिर्तामोडमा छ ।
आउँदो निर्वाचनमा मेयर पदका लागि जलकुमार गुरुङ, बिर्तामोड–३ का हालका वडाध्यक्ष एवम् पार्टीका बिर्तामोड नगर सभापति भोजराज सिटौला, काङ्ग्रेस झापाका सचिव नवीन विमली, पुराना नेता हर्कलाल गिरी, युवा नेताहरू उमा शिवाकोटी र युवराज प्रसाईंको नाम चर्चामा छ ।
काङ्ग्रेसमा गुरुङ र सिटौलाको मेयरमा उठ्ने सम्भावना बढी रहेको बुझिएको छ । वडाध्यक्ष सिटौला अनारमनी गाविसको दुई पटक र बिर्तामोड नगरपालिका बनेपछि १ पटक वडाध्यक्ष भएका व्यक्ति हुन् । गुरुङ पार्टीमा धेरै वर्षदेखिको सक्रियतासँगै खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । मतदाताका लागि गुरुङ र सिटौला दुवै लोकप्रिय मानिन्छन् भने अन्य उम्मेदवारका आकाङ्क्षीहरू पनि पार्टीभित्र प्रभावशाली छन् ।
तीन कार्यकाल जनप्रतिनिधिको अनुभव बटुलेका सिटौला बिर्तामोडमा प्रभावशाली व्यक्तिका रूपमा परिचित छन् । सबै समुदायसँग सम्बन्ध कायम राख्न सफल सिटौलाले यसपटक मेयरमा उम्मेदवारी पाउने लगभग पक्काजस्तै रहेको चर्चा छ ।
२०७४ सालको निर्वाचनमा अन्तिम समयमा मेयरको दौड छोडेर वडाध्यक्ष उठेका सिटौलाले जित हासिल गरेका थिए । पार्टी सभापति आफू भएकाले मेयर पदको उम्मेद्वार पनि आफू नै हुनुपर्ने उनको तर्क छ । गतवर्षको त्यागको यो वर्ष मूल्याङ्कन हुने तर्क सिटौलाको छ ।
मेयर पद्का आकाङ्क्षी गुरुङ पार्टीले उम्मेदवारीमा विवेक पु¥याउने बताउँछन् । विगतमा पराजय व्यहोरेको सद्भाव पार्टीले राख्ने भन्दै गुरुङले सामाजिक जीवनबाट पार्टीलाई महत्वपूर्ण योगदान दिएको दाबी गर्छन् । बिर्तामोड खानेपानीमा लामो समयदेखि नेतृत्व गरिरहेका गुरुङ नेपाली फुटबलका क्षेत्रमा प्रभावकारी काम गर्दै आएका व्यक्ति हुन् । इमान्दार व्यक्तित्वको पहिचान बनाएका गुरुङ आफूले टिकट पाउनेमा ढुक्क देखिन्छन् ।
यस्तै, बिर्तामोडका पुराना बासिन्दा एवम् तत्कालीन अनारमनी गाविसका अध्यक्ष हर्कलाल गिरीले मेयर पदमा दाबी गर्दै आएका छन् । सामाजिक क्षेत्रमा महŒवपूर्ण योगदान दिएको हुँदा मेयर भएर काम गर्न इच्छा व्यक्त गर्नु स्वभाविक हुने उनको धारणा छ । उनी भन्छन्,‘मेरो आवश्यकता बिर्तामोडलाई छ, साथीहरूले मूल्याङ्कन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
काङ्ग्रेसका अर्का आकाङ्क्षी हुन् व्यवसायी युवराज प्रसाईं । बिर्तामोडमा स्थापित व्यवसायीको पहिचान बनाएका प्रसाईं लामो समयदेखि नेपाली काङ्ग्रेसमा सक्रिय छन् । आफू बलियो उम्मेदवार भएको उनको भनाइ छ । उनले मेयर पदका लागि इच्छा व्यक्त गरेका छन् । राजनीतिसँगै सामाजिक रूपमा योगदान गरेकै कारण मेयर पदमा आकाङ्क्षा राखेको उनको भनाइ छ । उनले मेयर निर्वाचित भएर आम नागरिक र विकासको काम गर्ने भएकोले त्यसका लागि सक्षम पात्रको रूपमा आफूलाई दाबी गरेका छन् ।
युवामाझ लोकप्रिय काङ्ग्रेस झापाका सचिव नवीन विमली पनि मेयर पदका लागि आकाङ्क्षी भएको पार्टीमा चर्चा छ । त्यस्तै काङ्ग्रेस नेतृ उमा शिवाकोटीले पनि आकाङ्क्षा व्यक्त गरिरहेको काङ्ग्रेसमा चर्चा छ । उनी यसअघि पनि मेयरको दाबेदार थिइन् ।
बिर्तामोडमा राप्रपाले ठूला दललाई चुनौती दिने रणनीतिका साथ निर्वाचनमा होमिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राप्रपाभित्र उम्मेदवारहरूको चर्चा पनि चुलिएको छ । अघिल्लो निर्वाचनमा बिर्तामोडको मेयरमा राप्रपाबाट भक्ति सिटौला उम्मेदवार बनेका थिए । सिटौलाले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
आगामी निर्वाचनमा पुनः भक्तिप्रसाद सिटौला राप्रपाबाट मेयरको बलियो दाबेदार हुन् । सिटौला पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्तासमेत हुन् । लामो समय नेपाली काङ्ग्रेसको राजनीति गरेका सिटौलाले गत स्थानीय तहको निर्वाचनभन्दा केही अघि राप्रपा प्रवेश गरेका थिए ।
झापाका राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष निर्वाचित भएपछि जिल्लाका कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने उत्साहका साथ चुनावी कार्यक्रम सुरु गरेका छन् ।
राप्रपाको तर्फबाट भक्ति सिटौला, राजकुमार पोखरेल, पार्टीको वर्तमान नगर अध्यक्ष रञ्जु प्याकुरेल र जिल्ला उपाध्यक्ष धु्रव उप्रेती मेयर पदका दाबेदार हुन् । उप्रेती संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका थिए ।
माओवादी बिर्तामोड भने ‘पर्ख र निर्णय गर’ भन्ने रणनीतिमा छ । माओवादीका कोही नेताले पनि हालसम्म नगर प्रमुख पदमा उठ्ने आकाङ्क्षा सार्वजनिक गरेका छैनन् । उनीहरू ‘गठबन्धनको भर’ परेका हुनाले एक्लै भिड्न तयार नभएको बुझिएको छ । गत निर्वाचनमा मेयरका उम्मेदवार सिपी कडरिया, कुवेर श्रेष्ठ, युवराज दहाल र नगर कमिटीका अध्यक्ष मोहन सुब्बा बिर्तामोडको मेयर पदका दाबेदार छन् ।
यद्यपि उनीहरूलाई पार्टीले उम्मेदवारीको आकाङ्क्षा सार्वजनिक नगर्न सुझाएको छ । माओवादी झापाका संयोजक राजु आचार्यले व्यक्तिगत महŒवाकाङ्क्षा बढ्ने र पार्टीको शक्ति सन्तुलनमा असर पुग्न सक्ने भएको हुनाले अहिले नै उम्मेदवारीका विषयमा सार्वजनिक अभिव्यक्ति नदिन सुझाव दिएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला मेयरको आकाङ्क्षी छन् । उनले बिर्तामोड नगरका १० वटा वडामा बलियो सङ्गठन निर्माण गरिसकेको र अहिले टोल कमिटी गठन गर्नमा व्यस्त रहेको भन्दै आफ्नो नेतृत्वमा नगरका १० वटै वडामा उम्मेदवारी दिने तयारी रहेको बताए ।
यस्तै सो पार्टीबाट पत्रकार तीर्थ सिग्देलले समेत मेयरमा उम्मेदवारी दिने इच्छा देखाएका छन् । पार्टीको प्रचार विभागका केन्द्रीय सदस्य तथा झापा प्रचार विभागका प्रमुख सिग्देलले नेकपा समाजवादीको झापा जिल्ला कमिटी निर्माण गर्न सक्रियता देखाएका थिए ।
०७४ को निर्वाचनमा एमालेका उम्मेद्वार ध्रुवकुमार शिवाकोटीले काङ्ग्रेसका जलकुमार गुरुङलाई मेयर पदमा ८ सय ९५ मतले हराएका थिए । गुरुङले ८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । राप्रपाबाट उम्मेदवार बनेका भक्ति सिटौलाले ६ हजार १ सय ७० मत ल्याए । यस्तै माओवादीेका चन्द्रप्रसाद कडरियाले ३ हजार ७ सय ९७ मत प्राप्त गरेका थिए ।
अहिले एमाले विभाजन भएर नेकपा (समाजवादी) बनेको हुनाले एमालेले गतवर्षको मत सुरक्षित गर्नु मुख्य चुनौती बनेको जानकारहरू बताउँछन् । तर, एमालेका नेताहरू भने समाजवादीमा गएको जनमत माओवादीबाट पूर्ति गरिसकेको हुनाले कुनै समस्या नरहने दाबी गर्छन् ।