हामी ठूला मान्छे अभिभावकहरू कुनै औपचारिक कार्यक्रममा गयौं भने न हामी त्यो कार्यक्रमको समयभरि बस्छौं, न त त्यो कार्यक्रमका वक्ताहरूले बोलेका कुराहरू ध्यानपूर्वक नै सुन्छौं । कति त बस्न पनि नजानेर बेञ्चमा बनुपर्ने, डेस्कमाथि बस्छौं । दर्शक, श्रोता दीर्घामा बस्नुपर्नेमा कार्यक्रम गर्नुपर्ने मञ्चमा बस्छौं ।

दर्शक श्रोता बस्ने ठाउँमा बसे तापनि छेउछाउमा गफ गर्ने, पछाडिको दर्शक श्रोतालाई छेकिदिने गर्दछौं । हामी आफैलाई दैनिक एक किताब पढ्नै पर्छ  र एक पाना कापीमा लेख्नै पर्छ भनेर गृहकार्य (होमवर्क) दियो भने सायद हामी दश प्रतिशतले पनि त्यो गृहकार्य नियमित रूपले गर्दैनौं होला । हामीले पढेको, लेखेको बाहेक जापानी, चाइनिज भाषाका लिपि अक्षरहरू लेख्न सिक्नुपर्यो भने हामीले निरन्तर साधना गरेर पनि हप्ता, पन्ध्र दिन एउटा लिपि लेख्न सिक्नका लागि  लाग्न सक्छ होला ।

अब हामी हाम्रा साना बालबालिका छोराछोरीको बारेमा चाहिँ हामी के चाहन्छौं भने दुई वर्षदेखि दश वर्षसम्मको बालक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमा भलाद्मी भएर तोकेको ठाउँमा बसिरहोस्, शिक्षकले पढाएको भनेको कुरा सबै ध्यानपूर्वक सुनेर बुझिहालोस्, पढ्न, लेख्न जान्ने भइहालोस् भन्ने ठान्छौं । विद्यालयमा साना बालबालिकाहरूलाई शिक्षकहरूले सबै विषयको गृहकार्य (होमवर्क) दिउन् अनि ट्युसन पढाउने शिक्षकले पनि होमवर्क दिउन् भन्ने चाहन्छौं । हामी कतिपय अभिभावकहरूले आप्mनो बच्चा अरूको भन्दा सर्वश्रेष्ठ जान्ने होस् भनेर शिशु कक्षादेखि साना कक्षाहरूमा पढ्ने  बालबालिकाहरूलाई बिहानै ट्युसन, बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयको कक्षा कोठामा, विद्यालय ४ बजे छुट्टी हुने बित्तिकै ट्युसन अनि राति ९ बजेसम्म घरमा होमवर्क गराएको पनि पाइन्छ ।

कतिपय अभिभावकहरूले आफ्ना छोराछोरी बिग्रन्छन् भनेर छरछिमेकका अरू बालबालिकाहरूसँग भेटघाट हुन र सँगै खेल्नसमेत नदिने गरेको पाइन्छ । विशेषगरी जात, धर्म र सम्पत्तिको वर्ग नमिल्दा हाम्रो समाजका अहङ्कारी पाखण्डीहरूले त्यसो गर्ने गरेको पाइन्छ । कतिपय अभिभावकहरूले बालबालिकाहरूलाई थुप्रो पुस्तक किनेर बोकाइदिँदा, महँगो शुल्क तिर्दा, विद्यालयमा हुने साना–साना अतिरिक्त क्रियाकलापको शुल्कसमेत विद्यालयले असुल गर्दा, अनि बालबालिकाहरूलाई विद्यालयका शिक्षकहरूले प्रत्येक दिन सबै विषयको गृहकार्य (होमवर्क) दिएमा पढाइ राम्रो भएको विद्यालय भन्ने भ्रम पालेको पाइन्छ ।

कतिपय अभिभावहरूले बालबालिकाहरूलाई आज्ञाकारी र अनुशासित बनाउन कडा सजाय वा कुटपिट गर्नुपर्ने अर्ति उपदेशसमेत शिक्षकहरूलाई दिने गरेको पाइन्छ । अहिले निजी तथा सामुदायिक विद्यालयहरूले होमवर्क डायरी प्रयोगमा ल्याएका छन् तर, साना कक्षाका बालबालिकाहरूले विषय शिक्षकले दिएको गृहकार्य टिपोट गर्न सक्दैनन् । शिक्षकले बोर्डमा लेखिदिन्छन्, घरमा गएर डायरी हेर्दा गृहकार्य बुझिँदैन, जसले गर्दा सही गृहकार्य त हुँदैन नै, उल्टै गृहकार्य राम्ररी टिपोट नगरेको भनेर बालबालिकाहरूलाई कतिपय अभिभावकहरूले गाली मात्र होइन, कुट्नेसमेत गरेको पाइन्छ ।

सबै सरकारी सामुदायिक तथा निजी विद्यालयका अभिभावकहरूले बालबालिकाहरूलाई प्रत्येक दिन सबै विषयको गृहकार्य दिन शिक्षकलाई दबाव मात्र दिँदैनन्, धेरै अभिभावकहरूले सामुदायिक विद्यालयले कम गृहकार्य दिने गरेको भन्दै आफ्ना बालबालिकाहरूलाई निजी विद्यालयतिर लैजाने वा विद्यालय परिवर्तन गर्नेसमेत गरेको पाइन्छ तर, प्रत्येक विषयको प्रत्येक दिन गृहकार्य हुँदैन ।

पहिलो दिन पाठ सुरु गर्दा घण्टीमा पाठको विषयवस्तु बारे छलफल सन्दर्भ शैक्षिक सामग्री प्रदर्शन पाठसँग सम्बन्धित कथा जोड्ने वा चित्र छलफल गरिन्छ । दोस्रो दिन पाठको विषयवस्तु वारे पढाइन्छ कक्षा कार्य अभ्यास गराइन्छ र त्यस पाठको तेस्रो दिन गृहकार्य दिइन्छ । गणित विषयमा बाहेक अन्य विषयमा प्रत्येक दिन लेखन अभ्यासको गृहकार्य दिन सम्भव नै हुँदैन । पाठ अध्ययनको गृहकार्य दिए पनि साना कक्षाका विद्यार्थीले सबै विषयको पाठ अध्ययन र याद गर्न सक्दैनन् ।

यसरी दैनिक सबै विषयको गृहकार्य प्राथमिक तहका बालबालिकाहरूलाई दिने हो भने अहिले सामुदायिक विद्यालयमा ५ वटा, निजी विद्यालयमा ७ वटा विषयहरू पढाउने गरिन्छ । अब के बिहान ९ वजे विद्यालय गएर दिनभरि विद्यालयमा थाकेर आएको बालबालिकाहरूले बेलुका ४–५ बजे विद्यालय छुट्टी भएर घर आएको बच्चाले फेरि ५ वटा वा सातवटा विषयको गृहकार्य गरेर फेरी भोलीपल्ट विहान ९ वजे विद्यालय जान तयारी हुन सक्लान् ?

बालबालिकामाथि हुने यस्तो गृहकार्यको बोझले उनीहरूको सिकाइमा सहजता ल्याउँदैन । यो गृहकार्य आतू्क मात्र हुन्छ । अहिले धेरै विद्यालयमा पढ्ने साना कक्षाका बालबालिकाहरूलाई पढाउने विषय शिक्षकले होइन अभिभावकहरूले गृहकार्य दिन थालेको पाइन्छ । यसरी उल्टो हिँड्ने हो भने बालबालिकाहरूको सिकाइ झनै भद्रगोल हुन्छ ।

बालबालिकाहरूको उमेर र कक्षागत, तहअनुसार पठन–पाठन गर्नका लागि पाठ्यक्रम पाठ्यपुस्तकको निर्धारण गरिएको छ कुन कक्षा पुग्दा अर्थात कुन तहमा पुग्दा कति सिकाइ गर्ने भन्ने कुरा पाठ्यक्रम पाठ्यपुस्तकले निर्धारण गरेको हुन्छ । आजकल धेरै निजी विद्यालयहरूले स्तरीय पठन–पाठन गरेको देखाउन साना कक्षामै माथिल्लो कक्षामा पढाउनुपर्ने स्तरका विषय र पाठ्यपुस्तकसमेत लगाएको पाइन्छ ।

आजकल धेरै अभिभावकहरूलाई बच्चालाई अनुशासित बनाउने, पढाइ तृष्णा जान्ने बनाउने भन्दै घरपरिवारमा अङ्ग्रेजी मात्र बोल्ने ‘क’ अक्षर नचिनाई अङ्ग्रेजी  वर्णमालाको ‘ए’ चिनाउने नातागोताको सम्बोधान सम्बन्ध अङ्ग्रेजीबाट मात्र गराउने, बच्चाको बानी बिग्रन्छ भन्दै छरछिमेकका बच्चाहरूसँग भेट्न बोल्न खेल्न नदिने बिहान ट्युसन, दिनभरि विद्यालय, फेरि विद्यालय छुट्टी भएपछि ट्युुसन कक्षामा लगाएर व्यस्त राखेको समेत बताउने गरेको पाइन्छ । यो सिकाइको नाममा बालबालिकामाथि बोझ र शोषण हो । पढाइमा मात्र व्यस्त राख्दा बालबालिकाहरुले हामीले चाहे जति सिकिहाल्ने होइन, अरूसँग घुलमिल हुन दिँदा बच्चा बिग्रिहाल्ने होइन, यो हाम्रो भ्रम मात्र हो ।