विजयपुर । नेपाल मेडिकल काउन्सिलको काम कारबाही र निर्णयप्रति असन्तुष्टि जनाउँदै काउन्सिलका सदस्य डा. हरिहर वस्तीले राजीनामा दिएका छन् ।
शुक्रबार डा. वस्तीले काउन्सिलका अध्यक्षमार्फत् नेपाल सरकारलाई राजीनामा पत्र बुझाएको जानकारी दिए । उनले अध्यक्षमार्फत् स्वास्थ्य मन्त्रालय जानुपर्ने कानूनी व्यवस्था रहेकाले काउन्सिलमा दर्ता गराएको बताए । डा. वस्ती काउन्सिलका आचार–संहिता तथा स्वास्थ्य समिति संयोजकसमेत रहेका थिए । डा. वस्तीले काउन्सिलको काम कारबाही र निर्णयप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छानबिनपश्चात् असन्तुष्टि जनाउँदै आएका डा. वस्तीको राजीनामा प्रतिष्ठानसँग जोडिएको छ । तर, डा. वस्तीले राजीनामा गर्नुको कारण बीपीको घटना मात्रै नभएको प्रतिक्रिया दिए । उनले भने, ‘धरानको विवाद मात्रै नभएर मैले काउन्सिलबाट राजीनामा दिनुमा अन्य धेरै कारण छन् ।’ मेडिकल काउन्सिलले आफ्नो अधिकार प्रयोग गर्न नसकेको उनले बताए ।
२०७८ पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने भन्ने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । उक्त घटनाको विषयमा प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशङ्कर साहले काउन्सिललाई निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्दै पत्र पठाएका थिए ।

उक्त घटनाको छानबिन गर्न मेडिकल काउन्सिलले गठन गरेको समितिमा डा. वस्ती संयोजक थिए । डा. कलवारको विषयमा डा. वस्ती संयोजकत्वको छानबिन समितिले निष्पक्ष छानबिन गरी डा. कलवारले शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम् मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै २ वर्ष कारबाही गर्न सिफारिस गरेको थियो ।
तर, काउन्सिलले निर्वाचित सदस्यहरूको दबावका कारणले निलम्बन नगरी उन्मुक्ति दिँदै २०७८ चैत ७ मा विभागीय प्रमुखको मातहतमा १ महिना काम गर्नुपर्ने निर्णय गरेको थियो । यस विषयमा डा. वस्तीले भने, चिकित्सक सधैँभरि विभागीय प्रमुखको मातहतमा नै हुन्छ । ‘कारबाही नगर भनेको हो’–उनले भने ।
आफूले निष्पक्ष छानबिन गरी डा. कलवारलाई लागेको आरोप पुष्टि गरेको उनले बताए । डा. वस्तीले भने, ‘कोसी सर्जिमेन्टबाट दिनैपिच्छे समान ल्याउने, निःशुल्क आएको साइन नेलको पार्टीबाट रकम असुल्ने, झगडा गरेपछि फिर्ता गर्नेसम्मको प्रमाण थियो ।’ तर, डा. कलवारलाई दबाव र प्रभावमा परी काउन्सिलले उन्मुक्ति दिएपछि बस्न मन नभएर राजीनामा दर्ता गरेको बताए ।
उनले निष्पक्ष रूपमा छानबिन गरी सप्रमाण गल्तीको पुष्टि हुँदा पनि चिकित्सकलाई उन्मुक्ति दिने काउन्सिलमा बस्नुको औचित्य नभएको बताउँदै भने, ‘काउन्सिल एसोसिएसन होइन । नियामक निकायले नियन्त्रण गर्नुपर्छ । तर, सक्छ जस्तो लागेन ।’ उनले आफूले पनि चिकित्सकलाई जेल चलान गर्नुपर्ने धारणा नराखेको बताए ।
उनले भने, ‘जेल पठाउनू भनेको थिइनँ, त्यो मान्छेलाई करेक्सन गर्नुपर्छ भन्ने थियो ।’ उनले कुनै पनि आफ्नो शत्रु र मित्र केही पनि नभएको बताउँदै भने, ‘सत्य कुरा बोल्ने मेरो नेचर हो । काउन्सिलको निर्णयमा चित्त बुझेन ।’
डा. वस्तीका अनुसार डा. कलवारले मेडिकल काउन्सिलले मात्रै कारबाही गरेर नपुग्ने गल्ती गरेका थिए । उनले भने, ‘काउन्सिलले ३ महिना निलम्बन गरेर सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्नुपर्ने थियो ।’
डा. कलवारलाई उन्मुक्ति दिनुमा एसोसिएसनका निर्वाचित चिकित्सकहरूको बाहुल्यताको प्रमुख कारण भएको बताए । डा. वस्ती प्रतिष्ठानका निर्देशक साहप्रति पनि असन्तुष्ट रहेका छन् । डा. वस्तीले भने, ‘निर्देशकले छानबिन गर्दिनू भनेर चिठी लेखे । त्यो छानबिन गरी क्लिन चिट देऊ भनेको रहेछ ।’ उनले थपे, ‘निलम्बन गर्न सिफारिस गरेपछि कारबाही नगर्नू भनेर अर्को पत्र लेखे ।’
उनले निर्देशक साह जस्ता व्यक्तिले नेतृत्व गरेको संस्था सुधार नहुने सङ्केत गरे । उनले भने, ‘काउन्सिल पब्लिक इन्ट्रेस हेर्ने संस्था हो । यसको अर्थ चिकित्सकको हेर्दैन भन्ने होइन ।’ यस्तो दबाव, प्रभावमा परेर निर्णय गरेपछि अन्यायमा परेकाले न्याय नपाउने र दोषीले उन्मुक्ति पाउने उनले बताए । उनले काउन्सिलका अन्य केही सदस्य पनि असन्तुष्ट रहेको बताउँदै भने, ‘खुल्नु नखुल्नु उनीहरूको कुरा हो ।’ डा. वस्ती २०७६ पुस ७ गते काउन्सिलको सदस्यमा नियुक्त भएका थिए ।