धरान । नेपालको अर्थतन्त्र श्रीलङ्का उन्मुख भइरहेको भनी अर्थविज्ञहरूले टिप्पणी गरिरहेका बेला एउटा भन्सार कार्यालयको आयातलाई मात्रै हेर्ने भने पनि अर्थतन्त्र दबावमा परेको बुझ्न अप्ठ्यारो पर्दैन ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसीले दिएको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कबाटै अर्थतन्त्र दबावमा परेको बुझ्न सकिन्छ । यो आठ महिनामा चार अर्ब ५४ करोड ८२ लाख १४ हजार रुपैयाँ बराबरको आयात भएको छ । जब कि निर्यात शून्य छ । यसले पनि नेपालको परनिर्भरता चुलिँदै गएको सङ्केत गर्दछ । कुनै समय नेपालले गलैंचा, धान, सनपाटजस्ता सामग्री निर्यात गर्दथ्यो । अहिले त्यो लगभग ठप्प छ ।

उल्टो त्यस्ता वस्तु आयात गरिरहेको अवस्था छ । नेपालले पछिल्ला दिनमा अलैंची, अदुवा साथै मसलाजन्य सामग्री निर्यात गरिरहेको छ । धरानको कृषिउपज बजारस्थलमा मात्रै वार्षिक १ अर्बभन्दा बढीको आलु, प्याज, टमाटर, हरियो तरकारी र फलफूल भित्रिने गरेको छ । बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्ब ९ करोड रुपैयाँको तरकारी तथा फलफूल आएको छ । सोही आर्थिक वर्षमा कृषि बजारबाट मसलाजन्य ८६ करोड २४ लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको अवस्था छ ।

अर्थशास्त्री डा. राजेन्द्र शर्मा मसलाजन्य सामग्रीको निर्यात पनि हरेक वर्ष खुम्चिँदो रहेको बताउँछन् । उनका अनुसार सेवामुखी व्यवसाय पनि कोरोना महामारीका कारण दुई वर्ष ठप्प रह्यो । ‘पर्यटन व्यवसाय बर्बाद भयो’ –उनले भने । सेतुबन्ध भन्सारको तथ्याङ्कलाई केलाउँदा धान, चामल, भुस, प्याज, कागतीजस्ता सामग्री आयात गरेको देखिन्छ । जुन चाहेको खण्डमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाहरू प्रशस्त छन् । यी सामग्रीको मूल्य पनि दोहोरो अङ्कभन्दा बढीले महँगिएको अवस्था छ ।

सर्वसाधारणले खाद्यान्न नै खरिद गर्न नसक्ने अवस्था छ । अर्थशास्त्री पोषराज पाण्डेले बीबीसी नेपाली सेवामा भनेका छन्, ‘हाम्रो व्यापार घाटा पछिल्लो आठ महिनामा एक हजार अर्बमा पुगेको छ, वैदेशिक मुद्रा सञ्चिति दुई अर्ब अमेरिकी डलरले घटेको छ ।’ निर्यात शून्य हुनु, आयात चाहिँ चुलिनुले पनि नेपालको अर्थतन्त्रमा दबाव परिरहेको सङ्केत गर्दछ । यही बीचमा नेपाल राष्ट्र बैङ्कले विलासिताका वस्तुहरू खरिद गर्दा प्रतीत पत्र (एलसी) जारी नगर्न बैङ्कहरूलाई निर्देशन दिएको थियो । बैङ्कले सरकारलाई विलासिताका वस्तु आयातमा कटौती गर्नसम्म सुझाव दिएको थियो ।

आयातको अवस्था बढ्दा नागरिकले महँगो मूल्य चुकाउनु परिरहेको छ । खाद्यान्नमा पनि बढ्दो परनिर्भरताले थप आर्थिक दबाव बढिरहेको हो । ‘उत्पादनमूलक ठाउँहरू घट्दै गए, जसले अर्थतन्त्रलाई नकारात्मक असर ग¥यो’ अर्थशास्त्री डा. शर्मा भन्छन्, ‘हाम्रो उत्पादनमा आधारित मुलुक हुँदै होइन । निर्वाहका लागि सुर्तीजन्यदेखि, मदिरा, लक्जरियस चिजहरू ल्याइरहेका छौं । यसले पनि अर्थतन्त्रमाथि दबाव पारिरहेको छ ।’

केही अर्थविज्ञहरूले १६ खर्बको वार्षिक बजेट हुने देशमा पछिल्लो सात महिनामै व्यापार घाटा चाहिँ साढे ११ खर्ब भएको बताए । यो हुनुलाई खतराको घण्टी मान्छन्; अर्थशास्त्रीहरू । गत असार मसान्तसम्म ११.७५ अर्ब डलर विदेशी मुद्रा सञ्चिति भएकोमा माघ मसान्तमा आइपुग्दा ९.७५ अर्ब डलरमा सीमित हुनु पक्कै पनि राम्रो सङ्केत नभएको अर्थविज्ञहरूको ठहर छ । विगत वर्षहरूभन्दा अहिले आयात दर आकासिएको छ ।

अर्थशास्त्री डा. शर्मा भन्छन्, ‘आयात धेरै हुनु भनेको विदेशी मुद्रा धेरै भुक्तानी गर्नु हो ।’ आयात बढ्दै जाँदा सरकारले तीन सयभन्दा बढी सामग्री आयातमा कटौती गर्ने निर्णय पनि गरेको थियो तर, कार्यान्वयन तहमै समस्या हुँदा आयात रोकिन सकेको छैन । राष्ट्र बैङ्कले बैङ्कहरूलाई प्रतीत पत्र नखोल्न भने पनि वाणिज्य विभागले चासो नदिएसम्म प्रतीत पत्रको समस्या समाधान नहुने अर्थविज्ञहरूको बुझाइ छ ।

यही बीचमा  विश्व बैङ्ककी नेपाल मामिला अर्थविद् एलिस ब्रोक्सले विदेशी मुद्रा सञ्चितिलाई लिएर मात्रै नेपाल सङ्कटमा रहेको अनुमान लगाउन नहुने टिप्पणी गरेकी छन् । उनले त्यसमा आधा मात्रै सत्य हुने टिप्पणी गरिन् । नेपालको सार्वजनिक ऋण अन्य देशको तुलनामा कम रहेकाले श्रीलङ्का उन्मुख अर्थतन्त्र भनी अर्थविज्ञहरूले गरेको टिप्पणीमाथि आलोचनात्मक ढङ्गले व्याख्या गरेकी छन् । तर, आयातलाई लिएर गम्भीर हुनुपर्नेमा उनको सुझाव छ ।