धनकुटा । धनकुटाको पाख्रीबासमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको आङ्गिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज स्थापनाका लागि स्थानीयले उपलब्ध गराएको जग्गाको अझै मुआब्जा नपाएको उनीहरूले गुनासो गरेका छन् ।
बिहीबार पाख्रीबासमा पत्रकार सम्मेलन गरेर पाख्रीबासका स्थानीयले आफ्नो गाउँमा कृषि क्याम्पस स्थापना गराउन खुसी भएर केही निःशुल्क र केही थोरै मूल्य लिएर जग्गा उपलब्ध गराएको तर, पाँच वर्ष बित्न लाग्दासमेत सम्झौता बमोजिमको मुआब्जा नपाएको गुनासो गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पाख्रीबास नगरपालिका वडानम्बर ३ का टायलबहादुर बस्नेतले आफ्नो गाउँमा कृषि क्याम्पस स्थापना हुने भनेपछि केही निःशुल्क र २१ रोपनीको मुआब्जा पाउने शर्तमा २०७४ साल माघमा कृषि क्याम्पसका लागि जग्गा पास गरिदिएको बताए । उनले कृषि क्याम्पसलाई जग्गा पास गरिदिएको ५ वर्ष बित्न लाग्यो तर, मुआब्जा नपाएको गुनासो पत्रकार सम्मेलनमा पोखे ।
टायलबहादुर बस्नेत मात्र हैन, कृषि क्याम्पसका लागि जग्गा उपलब्ध गराउने कसैले पनि मुआब्जा पाएका छैनन् । पटक–पटक नगरपालिका धाउँदा पनि बेवास्ता गरिएको उनीहरूको गुनासो छ ।
कृषि क्याम्पस स्थापनाका लागि आवश्यक सय रोपनीभन्दा बढी जग्गा स्थानीय राजनीतिक दल, बुद्धिजीवी र सामाजिक अगुवाको पहलमा स्थानीय नागरिकले उपलब्ध गराएका थिए । उनीहरूले जग्गा दिएकै कारण क्याम्पस पनि स्थापना भयो । तर, स्थानीयलाई दिने भनिएको झण्डै ८५ लाख रुपैयाँ अझै उनीहरूले पाएका छैनन् ।
नगरले पटक–पटक बजेट विनियोजन गरे पनि कृष्णबहादुर कटुवालको संयोजकत्वमा रहेको तत्कालीन क्याम्पस व्यवस्थापन समितिले कुनै चासो नदेखाएको कारण यो समस्या आएकोे नगरप्रमुख वृषबहादुर राईको आरोप छ ।
पाख्रीबासमा स्थापना भएको कृषि क्याम्पसलाई राजनीतिक दलले आफ्नो चुनावी एजेण्डा पनि बनाए । तर, क्याम्पस स्थापनामा महत्वपूर्ण योगदान दिएका जग्गादाताहरूको समस्यालाई भने कसैले सम्बोधन गरेनन् ।
यसरी जग्गाको मुआब्जा नपाउनेहरूमा जितबहादुर राईको ५ रोपनी, कृष्ण मोक्तान ७ रोपनी, मीना पौडेल १ रोपनी, गणेश पौडेल १ रोपनी, पवन चोङ्वाङ डेढ रोपनी, टायलबहादुर बस्नेत २४ रोपनी, उमा कट्वाल १ रोपनी र गणेश बस्नेतको २ रोपनी गरी जम्मा ४० रोपनी जग्गाको मुआब्जा नपाएको बताएका छन् ।