विजयपुर । निर्वाचन नजिएसँगै राजनीतिक दलका नेताहरूले अवसरका लागि दल परिवर्तन गर्ने लहर चलेको छ । निर्वाचनमा टिकट नपाएपछि नेताहरू एउटा दल परित्याग गर्दै अर्को दल प्रवेश गर्दै उम्मेदवार बन्ने लहर देशैभरि बढेको हो । यसले विचार, सिद्धान्त, आस्थाभन्दा पनि अवसरका लागि राजनीति गर्ने पुष्टि गर्दछ ।
केही समयअघि धरान–४ का एमालेबाट निर्वाचित वडाध्यक्ष मानबहादुर राई (एमाले) ले टिकट नदिने भएपछि दल परिवर्तन गर्दै नेकपा (एकीकृत) समाजवादी प्रवेश गरे । उनले एकीकृत समाजवादीबाट वडाध्यक्षको टिकट पाउने भएपछि एमाले परित्याग गरेका थिए । उक्त समयमा गठबन्धनमा वडा नं. ४ एकीकृत समाजवादीको भागमा परेको थियो ।
काङ्ग्रेसबाट निर्वाचित धरान–१४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले नेपाली काङ्ग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । उनलाई काङ्ग्रेसले वडाध्यक्ष पदका लागि टिकट नदिएपछि राप्रपा प्रवेश गरेका हुन् । उनले राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै धरान–१ का निर्वाचित वडाध्यक्ष रोशन अधिकारीले पनि काङ्ग्रेसले टिकट नदिएपछि दल परित्याग गरी राप्रपाबाट वडाध्यक्षको उम्मेदवारी दर्ता गरेका छन् । झापा कन्काई नगरपालिकाको प्रमुख पदको टिकट नपाएपछि एमालेका नेता श्याम ओलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी पनि मेयरको आकाङ्क्षी थिए । अर्कैलाई टिकट दिएपछि फेसबुकमा दल परित्याग गरेको घोषणा गरेका हुन् ।

यी प्रतिनिधिमूलक पात्रहरूमात्रै हुन् । अहिले नेपालभर नै एउटा राजनीतिक दल परित्याग गरी अर्को दलबाट उम्मेदवार बन्ने लहर चलेको छ । यसले विचार, सिद्धान्त आस्थाभन्दा पनि अवसरका, पद र प्रतिष्ठाका लागि राजनीति गरिन्छ भन्ने कुराको पुष्टि गरेको छ । बुद्धिजीवी डा. राजेन्द्र शर्माले सिंहदरबारको अधिकार वडामा आएकाले अधिकारबाट बञ्चित हुन नचाहेको बताए । उनले भने, ‘आर्थिकलगायतका सबै अधिकार आएकाले जसरी पनि पदमा रहनुपर्छ भन्ने हो ।’
उनले राजनीति सेवा नभई पेशा भएको पुष्टि गरेको बताए । उनले भने, ‘स्थानीय तहमा धनको चलखेल धेरै हुँदोरहेछ । पारदर्शी काम हुँदैन भन्ने कुराको पुष्टि हो ।’ उनले राजनीतिमा विचार र सिद्धान्त मर्दै गएको बताउँदै भने, ‘व्यवसाय बन्यो । जहाँ फाइदा हुन्छ, त्यहाँ जान्छन् ।’ उनले राजनीतिमा लाभको उद्देश्य मात्रै भएको बताए ।
त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्रका सह–प्राध्यापक डा. अमृत श्रेष्ठले राजनीतिक दल परिवर्तनले आस्था र विचार सकिँदै गएको देखाएको बताए । उनले राजनीतिक दलका नेताको दल परिवर्तनको असर पार्टीमा पर्ने बताए । उनले भने, ‘दल परिवर्तनले अस्थिरता हुन्छ, यसको असर राष्ट्रमा पर्छ ।’ उनले जुनसुकै बाटोबाट पनि शक्तिमा पुग्नुपर्ने देखिएको बताए । उनले नेतामा विचलन आएको बताए । उनले दबावमा उम्मेदवार फेरिएको बताउँदै भने, ‘पदमा जाँदा नाम, दाम र इतिहास भयो ।’
उनले पदमा पुग्नेले दायित्व पूरा नगरेकाले केही गर्न नपर्ने भएर पदमा जानकै लागि दल परिवर्तन गरेको बताए । उनले भने, ‘निर्वाचन खरिदार मुखियाको जागिर खुलेको जस्तो भयो ।’ उनले अन्य मुलुकमा दल परिवर्तन गर्ने प्रचलन भए पनि नेपालमाजस्तो विकृत नभएको बताए ।