धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा सामाजिक अभियन्ता हर्क साम्पाङ (हर्कराज राई) निर्वाचित भएपछि अहिले देशव्यापी रूपमा उनको चर्चा छ ।

सामाजिक सञ्जालदेखि आमसञ्चारका माध्यमसम्म उनी छाएका छन् । विदेशमा रहेका धरानेहरूमा उनीप्रति अझ धेरै चासो छ । विदेशमा रहेका एक जना साथीले सोधे, ‘चुनाव त जिते, तर काम गर्न सक्लान् के ?’ विदेशबाटै अर्का साथीले पनि त्यस्तै प्रश्न गरे, ‘अरू पार्टीका मान्छेले काम गर्न देलान् र ?’

निर्वाचनअघिसम्म काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जसरी देशव्यापी चर्चा थियो, निर्वाचनपछि भने साम्पाङको देशव्यापी रूपमा त्यस्तै चर्चा परिचर्चा छ । त्यससँगै आफूले गरेका वाचाअनुसार काम गर्न सक्लान् कि नसक्लान् भन्ने चिन्ता पनि धेरैमा छ । चुनौती नै चुनौतीको पहाडमाथि उभिएका साम्पाङलाई काम गर्न सहज भने पक्कै छैन ।

लामो समयदेखि कम्युनिष्टहरूले ‘लालकिल्ला’ दाबी गर्दै आएको र दुई वर्षअघि मात्र नेपाली काङ्ग्रेसले जितेको धरानमा यसपटक स्वतन्त्र उम्मेदवार साम्पाङले जितेका छन् । वर्षौंदेखि सक्रिय भएर वडा र टोलसम्म सङ्गठन विस्तार गरेका र राष्ट्रियस्तरसम्म पहुँच भएका राजनीतिक दलहरूलाई पाखा लगाएर विकृति विरुद्ध सडक आन्दोलन गर्दै गरेका सामान्य मान्छे उपमहानगर प्रमुख पदमा पुग्नु असामान्य घटना हो । महेन्द्र बहुमुखी क्याम्पस धरानको राजनीतिशास्त्र विभागका प्रमुख, उप–प्राध्यापक विष्णुकुमार भट्टराईको भनाइमा मूलधारका राजनीतिक दलहरू ठीक नभएपछि मतदाताले परिवर्तन खोजेका हुन् ।

साम्पाङले धरानको खानेपानी, सडक विस्तार, स्वास्थ्यजस्ता आम नागरिकका समस्याविरुद्ध आवाज उठाए । राजनीतिक दलका नेताहरू धरानवासीलाई पुग्ने खानेपानी व्यवस्थापन गर्नुभन्दा खानेपानी बोर्डमा आफन्त र कार्यकर्ता भर्तीमा व्यस्त बनेका बेला साम्पाङ भने पानी नपाएर छट्पाइरहेका नागरिकहरू माझ पुगेर उनीहरूका पीडा सम्बन्धित निकायसम्म पुर्याउने प्रयास गरिरहेका थिए । सुरुमा धनकुटे रोड विस्तारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका उनी त्यसपछि धरानका विविध समस्याहरूका विषयमा आन्दोलन गर्न थाले ।

धरान उपमहानगरपालिकाका पूर्व उपमेयर कृष्णनारायण पलिखेको भ्रष्टाचार विरोधी अभियानसँग जोडिएपछि उनी चर्चामा आए । तर, पलिखेको आन्दोलनशैली सौम्य थियो भने साम्पाङको बढी आक्रामक । उनको त्यही शैलीका कारण पनि कतिपयले आलोचना गर्ने गरेका थिए । आन्दोलनका क्रममा उनी पक्राउ परे, मुद्दा खेपे । धरानको विकासप्रतिको उनको त्यही लगावले पनि उनलाई मतदाताले भोट दिए । यसपटकको निर्वाचनमा एमाले र गठबन्धनका उम्मेदवारहरू पहिलादेखि नै विवादित थिए । आफ्नै पार्टीभित्र पनि अलोकप्रिय उमेदवार भएका कारण दुवै पक्षका असन्तुष्ट कार्यकर्ताहरूले पनि साम्पाङलाई मत दिए । मतपत्रहरूमा वडामा आफ्नै पार्टीका उम्मेदवारलाई र मेयरमा साम्पाङलाई मत दिएको देखिन्थ्यो । यसर्थ अन्य उम्मेदवारलाई दिइएको ‘नो भोट’ पनि उनका लागि ‘एस भोट’ बन्यो । जे जसरी मत आए पनि साम्पाङले जिते, त्यो नै महत्वपूर्ण कुरा हो ।

उनले जितेपछि आम नागरिकको उनीमाथि अपेक्षा र भरोसा धेरै देखिएको छ । सबैभन्दा मुख्य रूपमा उनले आन्दोलनका क्रममा र निर्वाचनअघि प्रमुख मुद्दा बनाएको खानेपानी समस्या कहिले समाधान होला भन्ने चासो देखिन्छ । उनले चुनावअघिदेखि नै सप्तकोसीबाट पानी ल्याउने भन्दै आएका छन् । यो सजिलो काम होइन तर, असम्भव पनि छैन । यसका लागि समय लाग्छ नै । मेयर जितेसँगै उनी खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष पनि बनेका छन् ।

त्यसैले हिजोका दिनमा बोर्डमा भ्रष्टाचार भएको आरोप लगाएका उनी आफै अध्यक्ष बनेपछि छानबिन गर्लान् कि नगर्लान् ? भन्ने प्रश्न पनि खडा भएको छ ।  उनले खानेपानीलाई प्रमुख मुद्दा बनाएकाले मेयर बनेपछिको पहिलो निर्णय पनि खानेपानीसम्बन्धी नै गर्लान् भन्ने धेरैको सोच थियो तर, उनले करको विषयमा निर्णय गरे । कानूनले करको विषयमा निर्णय गर्ने अधिकार उपमेयरलाई दिएको छ । यो निर्णयमा उनलाई कर्मचारीहरूले घुमाएको बजारमा चर्चा छ । यद्यपि कर पनि उनका लागि चुनौतीको विषय भने हो । अघिल्लो वर्ष उपमहानगरपालिकाले २७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएपछि लक्ष्यअनुसार आम्दानी गर्न सकेन । यसर्थ करको दर बढाउनेभन्दा दायरा बढाउनु आवश्यक छ ।

शिक्षाजस्तो आधारभूत विषय स्थानीय तहको मातहत आएको पाँच वर्ष बित्यो तर, अहिलेसम्म उपमहानगरपालिकाले एउटा स्थानीय पाठ्यक्रमसमेत लागू गर्न सकेको छैन । निजी विद्यालयहरूको मनोमानी रोक्ने नीति ल्याउनुको साटो उनीहरूलाई प्रोत्साहन गरिरहेको छ । अघिल्लो वर्ष अभिभावकहरू आन्दोलनमा उत्रिनु परेको जगजाहेर छ । सामुदायिक विद्यालयलाई समेत स्थानीय सरकारको हैसियतले गर्नु पर्ने सहयोग नगर्दा अभिभावकहरूसँग शुल्क उठाइरहेका छन् । जुन संविधानको मर्म विपरीत हो । यस्ता समस्याको समाधान गर्न नयाँ मेयरले कस्तो नीति ल्याउँछन् ? चासोको विषय हो । देशकै ठूलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ । त्यहाँभित्र भइरहेका विकृतिहरू सार्वजनिक भइरहेका छन् । मेयर प्रतिष्ठानको सिनेट सदस्यसमेत हुने व्यवस्था छ । पहिलादेखि नै बीपीका विकृतिविरुद्ध आन्दोलन गर्दै आएका साम्पाङ अब कसरी अघि बढ्लान् ? भन्ने आशा मिश्रित प्रश्नहरू बजारभरि छन् ।

हिजो आन्दोलनकारीका रूपमा हेरिएका साम्पाङलाई उपमहानगरपालिकाको गेटभित्र छिर्नबाट रोक्ने कर्मचारीहरू मेयर बनेपछि उनलाई स्वागत गर्न त्यही प्रवेशद्वारमा फूलमाला लिएर उभिएको दृश्यले एकैपटक धेरै कुरा व्यक्त गरेको छ । उनले आफै पनि भनेका छन्, ‘हिजो पो आन्दोलनकारी थिएँ, अहिले मेयर भएको छु । मेरो काम गर्ने तरिका अब फरक हुनेछ ।’ उनले फरक तरिकाले सोचे पनि उपमहानगरपालिकाका कर्मचारीले उनलाई कतिको सहयोग गर्छन् ? भन्ने हेर्न बाँकी नै छ । यस्तो आशङ्का गरिनुको कारण के हो भने उपमहानगरपालिकाको कर्मचारीतन्त्र राजनीतिकरणले अस्तव्यस्त छ । अघिल्ला कार्यकालमा पार्टीका धेरै कार्यकर्ता भर्ती भएका छन् । सक्षम मान्छेलाई पन्छाएर अनावश्यक कार्यकर्ता भर्ना गरिएका छन् । आवश्यक कर्मचारी मात्र राखेर अनावश्यक खर्च घटाउनु आवश्यक छ । साम्पाङका लागि यो ठूलै चुनौतीको विषय हो ।

लामो समय उपमहानगर चलाएका कारण विशेषतः यहाँ एमालेका कार्यकर्ता हाबी छन् । कर्मचारीहरू राजनीतिमा संलग्न हुनु कानून विपरीत भए पनि यहाँका कर्मचारीलाई अहिलेसम्म कसैले कारबाही गर्न सकेको छैन । दलका कार्यकर्ता भएको नाताले भर्ना भएका कर्मचारीले फरक दलका मान्छेलाई सहयोग गर्दैनन् । मेयरको पहिलो निर्णयमा पनि भएको त्यही हो । यो घटना उनलाई असफल बनाउन त्यहाँभित्रैका कर्मचारी र बाहिर राजनीतिक दलका नेता कार्यकर्ता लाग्ने सङ्केत पनि हो । यदि साम्पाङ सफल भएमा आगामी दिनमा राजनीतिक दलका नेता, कार्यकर्ताको शिर ठाडो पारेर हिँड्ने आँट हुँदैन । फेरि पनि अरू स्वतन्त्रहरू आउन सक्छन् । त्यसैले उनलाई असफल बनाएर उम्किएको सत्ता हातमा ल्याउन उनीहरू लागिपर्नेछन् ।

अब कार्यपालिकामा हुने निर्णयमा यसको छनक अझ प्रष्ट देखिन्छ । किनभने कार्यपालिकामा उनी अल्पमतमा पर्नेछन् । मेयर साम्पाङले धरानको हितमा ल्याउन खोजेका योजनाहरू पनि कार्यपालिका सदस्यहरूले अल्झाउन सक्छन् । तर, यसका लागि साम्पाङले आफ्ना नीति निर्णयहरूलाई पारदर्शी बनाउनु आवश्यक छ । उनले सूचनाको हकको पक्षमा आवाज उठाउँदै आएका छन् । उनले नगरवासीलाई आवश्यक सूचना पारदर्शी बनाउने कार्य गरेमा पनि यस्ता समस्या धेरै हदसम्म कम हुनेछन् । मेयर साम्पाङका अगाडि धेरै चुनौतीहरू छन् । तर, कानूनी रूपमा उनले काम गर्न नसक्ने अवस्था भने रहँदैन । त्रिभुवन विश्व विद्यालयको राजनीतिक शास्त्र विभागका सह–प्राध्यापक डा.अमृतकुमार श्रेष्ठ स्वतन्त्र रूपमा जितेकाले पनि काम गर्न सक्ने बताउँछन् । ‘दलबाट आएका वा स्वतन्त्र उही नियम कानूनअनुसार चल्ने हो’ डा.श्रेष्ठ भन्छन्, ‘नियमित रूपमा आउने निश्चित बजेट आइहाल्छ, नियम कानून एउटै हुन् । स्थानीय कर र स्रोतहरू भइहाल्छन् । उनीहरूले भ्रष्टाचारलाई मात्र नियन्त्रण गर्नसके भने पनि स्थानीयस्तरमा धेरै काम गर्न सक्छन् ।’

मेयर बनेलगत्तै उनी महँगो गाडी नचढ्ने भन्दै टेम्पो चढेका दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनलाई कहिल्यै नखोजेका मिडियाहरू पनि अहिले उनको अन्तरवार्ता लिन तँछाड मछाड गरिरहेका छन् । सामाजिक सञ्जालकै भाषामा उनी ‘भाइरल मेयर’ बनेका छन् । यतिबेला उनलाई एकातिर फुक्र्याउने र उचाल्नेहरू धेरै हुन सक्छन् भने अर्कातिर खसाल्न खोज्नेहरू पनि उत्तिकै । हिजो तिलक राई मेयर बन्दा पनि यस्तै झुण्डहरू अघिपछि थिए । अन्ततः उनी आफ्नै वाचामा असफल बने र उल्टो विवादमा परे । यी दुवै अतितको बीचमा रहेर नगरवासीको हितमा निर्णय गर्दै अघि बढ्नु आवश्यक छ । सडक आन्दोलनबाट आएको मान्छेले आफूले गरेका वाचा पूरा गर्लान् भन्ने आशा गर्न सकिन्छ । सच्चा मनले नगरवासीको हितमा काम गर्नेलाई अवश्य नगरवासीले साथ दिनेछन् । अन्यथा मतदाता फेरि विकल्पको खोजीमा लाग्नेछन् ।