धरान । विद्रोही र असन्तुष्ट जनताको प्रतिनिधि पात्र हुँदै अभियन्ता बनेका हर्कराज साम्पाङ राई यतिबेला धरान उपमहानगरपालिकाको शक्तिशाली र सर्वोच्च पदमा पुगेका छन् । अर्थात् ‘नगरपिता’ बन्न पुगेका छन् । नगरपिता बनेसँगै उनी पछिल्लो दुईसाता यता सामाजिक सञ्जालमा ‘भाइरल मेयर’ बनेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहपछि नेपालमा उनकै बढी चर्चा छ सामाजिक सञ्जालमा ।
यो सामाजिक सञ्जाल भनेको राम्रो भइन्जेल सबैले राम्रो देख्ने हो, नराम्रो भएको बेला वा भीडले नराम्रो लेवल लगाइदिनासाथ प्रयोगकर्ताले इन्जोय गरेकै अवस्थामा तत्काल ‘रिप’ र गाली दिएर हुर्मत लिने थलो पनि हो । सामाजिक सञ्जालले रातारात मान्छेलाई शिखरमा पु¥याउने काममात्र गर्दैन; देवत्वकरण पनि गरिदिन्छ । प्रयोगकर्ताले चाहे जस्तो भएन भने धरानका प्रमुख हर्कराज साम्पाङ भनेर सोच्दैनन्, उल्टै राक्षसीकरण गरेर पातालमा झार्न कत्तिबेर पनि लाउँदैनन् । भीड त्यसैको पछि लाग्छ । भर्चुअल सामाजिक सञ्जाल सदुपयोग गर्नेभन्दा दुरुपयोग गर्नेको सङ्ख्या दोब्बर–तेब्बर हुने भएकाले त्यतातिर रमाउनेभन्दा अबको जिम्मेवारी, दायित्व र भूमिकालाई गम्भीरताका साथ संवेदनशील भएर अगाडि बढ्नुको विकल्प छैन ।
स्थानीय तहको चुनावमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेससहितको लोकतान्त्रिक बाम गठनबन्धन दलका उम्मेदवारहरूलाई हराउँदै उनी नगरपिताको पगरी गुथ्न सफल भएका छन् । एमाले र गठबन्धन दल तथा धरानले उनलाई स्वीकारिसकेको छ । अस्वीकार गर्ने कुनै गुन्जाइस नै छैन । उनले सपथ ग्रहण गरेर पदभार सम्हालेको करिब एकसाता बित्यो । यो एकसातामै उनले के गरे वा के गर्न सकेनन् भन्ने यो टिप्पणीको उद्धेश्य भने होइन । उनले गरेको वा नगरेको कामको समीक्षा गर्ने बेला पनि भएको छैन ।
तर, उनको उपमहानगरपालिमा ‘इन्ट्री’ को प्रारम्भिक परिदृश्यलाई सूक्ष्मरूपमा नियाल्दा धरानमा नगरपिता हर्कराज साम्पाङ हतार–हतार स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै एक्लै कुदेको मात्र देखिएको छ । जबकि उनीबाहेक उपप्रमुखसहित १ सय १ जना त जनप्रतिनिधि नै छन्, उनको मातहत परिचालित हुने जनप्रतिनिधिहरू । उनी पनि जनमत पाएर नगरपिता भएका हुन् र अरू जनप्रतिनिधिहरू पनि जनमत पाएरै उपप्रमुख, वडाध्यक्ष र वडासदस्य, कार्यपालिका सदस्य बनेका हुन् । उपमहानगरपालिकाभित्रै अधिकृत तहका कर्मचारीले सम्हाल्दै आएका अनेक महाशाखा, शाखा, इकाईहरू छन् । तीन सय बढी कर्मचारी नै छन् ।

‘फिल्ड भिजिट’ गरेपछि समस्या बुझिन्छ । त्यसपछि रणनीति बनाएर अन्य जनप्रतिनिधि र सम्बन्धित शाखा वा महाशाखाका कर्मचारी परिचालन गरे हुनेमा उनी कसैलाई नभनी, कुनै कर्मचारी वा जनप्रतिनिधिलाई साथ नलगी एक्लै कुदिरहेका छन् । एक्लै कुदेर उपमहानगरको अनेक समस्या समाधान गर्न पनि सकिन्न । उनी एक्लै कुदिरहने हो भने अन्य जनप्रतिनिधि र कर्मचारीको के काम ? के भूमिका ? नगरपिताबाहेक सबै घरमै आराम गरे भइहाल्यो नि । चुनावअघि उनले ‘धराने जनतालाई पानी खुवाउँछ’ भनेका थिए । ‘धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत् वितरण भइरहेको पानीले नपुगे कोसीको पानी ल्याएर भए पनि खानेपानी आपूर्ति सहज बनाउँछु’ भनेका थिए । नगरपिता हुनासाथ जादुको छडी घुमाएर हुने काम होइन, खानेपानीको समस्या । समय लाग्छ । काकाकुल धरानमा खानेपानीजस्तो विषय रातारात परिवर्तन हुँदैन र गर्न पनि सकिन्न ।
उनको एजेण्डा नै खानेपानी हो । नगरपिता भएसँगै उनी धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष पनि स्वतः भएका छन् । तर, आजको मितिसम्म अध्यक्ष साम्पाङले बोर्डको अवस्था र कर्मचारीको अवस्था बारे चासो लिएर कसरी धराने उपभोक्तालाई खानेपानी सहजरूपमा आपूर्ति गर्ने भनेर राय सल्लाह गरेका छैनन् । कुनै पनि मिटिङ बैठक गरेका छैनन् । हो, उनी एकलरूपमा खर्दु मुहान पुगे, केही गर्न सकिन्छ कि भनेर एकछिन गमे पनि । चारकोसेमा रहेको तत्कालीन धरान खानेपानी संस्थानको पुरानो पम्प निरीक्षण गर्न पुगे । बिग्रेको पम्प तत्काल मर्मत गरेर प्रयोग गर्न निर्देशन पनि दिए । समग्र प्रणाली, समस्या, सम्भावनाबारे अझै गाँठी कुरो बुझ्न त बोर्ड सदस्य, कर्मचारी, प्लम्बर, प्राविधिकहरू बसेर छलफल गर्नुपर्ने थियो ।
बोर्ड अध्यक्ष भएपछि बोर्डलाई चलायमान बनाएर खानेपानी वितरणमा देखिएको समस्यालाई समाधान गर्दै जानु पर्ने हो, बोर्डमा एमाले र काङ्ग्रेसका राजनीतिक दलको भागबण्डामा परेका प्रतिनिधि सदस्यमात्र छन् । उद्योग वाणिज्य सङ्घ सुनसरी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीका प्रतिनिधि छन् । खानेपानीविज्ञ भनेर संस्थानकै पूर्व कर्मचारी एकजना छन् । तर, संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण भइसकेकाले सर्दु–खर्दुको सतहको पानी र चारकोसे जङ्गलमा ११ डिप ट्युवेलबाट उत्पादन हुने भूमिगत पानीलाई एकीकृत रूपमा सङ्कलन गरेर धरानभरि कसरी वितरण गर्ने भनेर जान्ने हाइड्रोलोजिस्ट अर्थात् जल विज्ञानी एकजना पनि छैन ।
२८ हजार धारामा पानी झार्ने धरानको बोर्डमा एकजना पनि पानीविज्ञ नहुँदा नै यो समस्या आएको हो । साम्पाङको पहिलो काम बोर्डमा साँच्चैको पानीविज्ञ नियुक्त गर्ने हो, जसले धरानमा खानेपानीको समस्या समाधान गर्न र कोसी वा तमोरबाट पानी ल्याउनका लागि सही सल्लाह र सुझाव दिन सकोस् । उनी आफै नै पानीविज्ञ झैं बनेर एक्लै दौडिएर त उपभोक्ताको धारामा पानी आउनेवाला छैन ।
आफू मातहतका सबै जनप्रतिनिधि र कर्मचारीलाई दौडाउनु अब उनको जिम्मेवारी, दायित्व र भूमिका हो । किनकी धरानमा धेरै समस्या छन् । अधुरा अपूरा योजनाहरू लथालिङ्ग छन् । पूर्ववर्ती जनप्रतिनिधिहरूले स्वीकृत गरेका विभिन्न ठूला–साना विकास निर्माणका योजनाहरू छन् । तिनको रकममात्र पनि करिब ६० करोड रुपैयाँको हाराहारीमा छ । त्यो रकमको स्रोत खोज्ने जिम्मा र दायित्व पनि नगर प्रमुख साम्पाङको हो । उनले अब बोर्डमा आफूले तत्काल गर्न सक्ने कामको लिस्ट तयार गरेर कार्यपालिकामार्फत् अगाडि बढ्नु जरुरी छ ।
प्रमुख साम्पाङसँग प्रशस्त इच्छाशक्ति छ । युवा जोस र जाँगर छ । तिनै इच्छशक्ति, जोस र जाँगरलाई सदुपयोग गर्दै उनले आफ्नो सल्लाहकार टिम बनाउनु जरुरी छ । एमाले र काङ्ग्रेस वा अन्य दलमा पनि उनलाई सही सुझाव दिनसक्ने धरानको बारेमा राम्ररी बुझेका जानकार र विज्ञहरू छन् । उनलाई जिताउने जनमतले प्रमुखको कुर्सी थमाए । तिनले योजना बनाउन सक्दैनन् । तर, तिनै जनमतभित्र विज्ञहरू हुन सक्छन् ।
छानेर धरानको दीर्घकालीन र अल्पकालीन विकास निर्माणका योजनाका खाका तयार गर्न सक्ने व्यक्तिहरू, अर्थविद्, शिक्षाविद्, खेलकुदविद्, जनस्वास्थ्यविद्, पर्यटनविद्, वातावरणविद्, कला–सङ्गीत, संस्कृति र साहित्यका जानकार, सहरी योजनाविद्, कृषिविद्, सञ्चारविद्, डिजिटल र अनलाइन प्राविधिज्ञ, व्यवस्थापकलगायतको सानो टिम तत्काल बनाएर निर्वाचित सबै जनप्रतिनिधिमार्फत् अनुमोदन गरी त्यो टिमसँग दौडनु उपयुक्त हुनेछ । साथै खाद्यपदार्थमा मिसावट, महँगी, विनालेवलका सामान बिक्री, अखाद्य मिसावट, निजी स्कुलमा अचाक्ली शुल्क वृद्धि, घरबहालकरमा छली, जनसहभागिताका नाममा ठेकेदारलाई निर्माणको जिम्मा दिने कुप्रवृत्ति, ट्राफिक व्यवस्थापनजस्ता क्षेत्रमा पनि उत्तिकै जनगुनासाहरू छन् । तिनको अनुगमन गर्न छुट्टाछुट्टै समिति बनाएर परिचालन गर्ने उनको अबको काम हो ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले पहिलो कार्यपालिका बैठकलाई आमजनतामा प्रत्यक्ष प्रसारण गरेजस्तै धरानमा पनि उनले हरेक बैठकलाई प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्नुपर्छ । धरानलाई सबैभन्दा पहिले चाहिएको खानेपानी हो । त्यसपछि चुस्त दुरुस्त सेवा हो । अनि पालो आउँछ विकास निर्माणको । धरानको आन्तरिक आयस्रोत वार्षिक २० देखि २५ करोड रुपैयाँ मात्र हो । तर, जनअपेक्षा धेरै हुन्छन् । एउटा अपेक्षा पूरा गर्दा नगर्दै अर्को अपेक्षा पलाउँछ ।
जनअपेक्षा पूरा नहुँदा नगरपिता साम्पाङले अहिले पाएको लोकप्रियता गुम्न सक्छ । टिममा राखेका विज्ञहरूको सल्लाह र सुझावअनुसार धरानलाई पर्यटकीय गन्तव्यस्थल बनाउन सक्छन् । लगानीकर्ता भिœयाएर केवलकारदेखि रोलरकोस्टर चलाउन सकिन्छ, फनपार्कदेखि साहसिक खेलहरूमार्फत् पर्यटक आकर्षित गर्नसके त्यो नै आन्तरिक स्रोत हुनसक्छ । धरानको छोटीमोरङमा बिग थाउजेण्ड बुद्धको प्रतिमा राख्न पूर्ववर्ती सरकारले जमिनसमेत दिइसकेकाले त्यहाँ पर्यटकीय बिग बुद्धको प्रतिमा बनाएर दैनिक हजारौं पर्यटक आकर्षित गरे करोडौं आम्दानी धरान उपमहानगरले गर्न सक्छ । तर, त्यसका लागि नगरपिता र अन्य जनप्रतिनिधिको नियत सफा हुनुप¥यो । धरानको सुन्दर भविष्य सम्झेर निःस्वार्थ भावले काम गरे सबैले साथ दिनेछन् ।
धरानका प्रमुख बीपी प्रतिष्ठानका सिनेटर (सञ्चालक परिषद् सदस्य) स्वतः हुने भएकाले त्यहाँभित्र हुने गरेका तमाम बेथिति, आर्थिक अनियमितता, कामचोर प्रवृत्ति, अस्पताल सेवामा ढिलासुस्ती, मेडिकल उपकरणमा कमिसनलाई नियन्त्रण गर्नु पनि साम्पाङको जिम्मेवारी र दायित्व हो । आन्दोलनकारीको पक्षमा होइन, बीपी प्रतिष्ठान सञ्चालन गर्नेमध्येको विशेष जिम्मेवार सदस्यको भूमिका खेल्नुप¥यो, जुन भूमिकाले प्रतिष्ठानमा सुधार होस् ।
प्रमुख साम्पाङले ‘म नगरपालिकाको गाडी चढ्दिनँ । आफ्नै मोटरसाइकल चढेर धरानभरि घुम्छु’ भनेका छन् । यस्तो गैर जिम्मेवार बोलीकै कारण भोलि उनी पतन हुन सक्छन् । सवारीसाधन नै नभएको भए ठीकै छ, अरूको पनि सवारी साधन छैन भनेर चित्त बुझाउने ठाउँ छ । हुन त ०५४ को चुनावमा निर्वाचित भएर आएका उपप्रमुख कृष्णनारायण पलिखेले पनि नरपालिकाको गाडी पनि प्रयोग गर्दिनँ, नगरपालिकाको खर्चमा कार्यालयमा चिया पनि खान्न भनेर गाडी चढेनन् । चिया खाजा घरबाटै ल्याएर खाए । करिब २ लाख जनसङ्ख्या भएको धरान उपमहानगरपालिकाको नगरपिता हुन् साम्पाङ । नगरपालिकाका आधा काम त यात्रा गर्दागर्दै पनि गर्नुपर्छ ।