भद्रपुर । झापाको चन्द्रगढीस्थित महेन्द्र पार्कमा पूर्व राजा महेन्द्र शाहको सालिक पुनस्र्थापना गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले विना अनुमति अनधिकृतरूपमा सो स्थानमा पूर्व राजा महेन्द्रको सालिक पुनस्र्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगरक्षेत्रमा रहेका सार्वजनिकस्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गरी सो को उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने, नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रूपमा संरचना निर्माण, रङरोगन, सालिक निर्माण, अतिक्रमणजस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको हो ।
स्वतन्त्र युवा समूह नामक संस्थाले जीर्ण बन्दै गएको महेन्द्र पार्कलाई रङरोगन गरी सालिक भत्काइएको ठाउँमा महेन्द्रको अर्को सालिक पुनस्र्थापना गर्न खोजेको थियो । जेठ २१ गते सालिक राख्ने कार्यक्रम तय भएको थियो । बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेका पनि थिए । महेन्द्रको सालिक भत्काइएको ठाउँमा आ–आफ्ना पार्टीका नेताहरूको सालिक राख्नुपर्ने पार्टी प्रतिनिधिहरूले सर्वदलीय बैठकमा जोड दिएका थिए ।
गणतन्त्र ल्याउनका लागि ०६२/६३ मा गरिएको १९ दिने आन्दोलनका क्रममा महेन्द्र पार्कमा रहेको महेन्द्रको सालिक तोडफोड गरेका थिए । त्यसपछि सो पार्क संरक्षणविहीन बनेको छ । महेन्द्र पार्क वि.सं २०२८ सालमा निर्माण भएको थियो । तत्कालीन अञ्चलाधीश छिरिङ तेञ्जिङ लामाको पहलमा सदरमुकामको मध्यभागमा पार्क निर्माण गरिएको थियो । पार्कको बीचमा करिब ३० फिट अग्लो कलात्मक स्मारक बनाएर सबैभन्दा माथि पूर्ण कदको राजा महेन्द्रको मूर्ति राखिएको थियो । दक्षिणतर्फ विभिन्न कलाकृति कुँदेर मूल प्रवेशद्वार बनाइएको थियो ।

मूलढोकाको सिरानमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने सन्देश बोकेका राजा महेन्द्रकै वाणी ठूला अक्षरमा कुँदिएको अहिले पनि देख्न सकिन्छ । चारै दिशामा ढोका भएको पार्कको उत्तरतर्फ सानो भवन छ, जसलाई भण्डार कोठाको रूपमा प्रयोग गरिँदै आएको छ । पूर्वतर्फ जिल्ला प्रहरी कार्यालय पर्ने भएकाले त्यहाँबाट सर्वसाधारणले आउजाउ गर्न पाउँदैनन् ।
पार्कको मुख्य स्तम्भमा रहेको राजा महेन्द्रको सालिक भत्काइएपछि अहिले भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषको फेदीमा सिंह, हात्ती, घोडा, माछा, मयुरको कलात्मक मूर्ति कुँदिएका छन् । पार्कमा केही प्रजातिका फूल फुलेका छन्, जसमा दुर्लभ मानिने क्यामेलिया र डल्ले सल्लोको बोन्साई पनि रहेको छ । बीच भागको स्तम्भलाई जोड्ने गरी चारैतिर पानीको फोहोरा निस्कने पक्की नालीको पूर्वाधारसमेत पार्कभित्र रहेको छ तर, यहाँ २०४६ सालयता पानीको फोहोरा सञ्चालनमा ल्याइएको छैन । महेन्द्रको सालिक लडाएको १५ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ बन्न सकेको छैन ।
पार्कको स्वामित्व बोकेको भद्रपुर नगरपालिकाले नयाँ व्यवस्थापन र जीर्णोद्धार गर्ने विषयमा नयाँ सोच बनाइरहेको छ । भद्रपुर नगरका प्रमुख गणेश पोखरेलले झापाकै सबैभन्दा पुरानो पार्क भएको हुँदा यसलाई नयाँ ढङ्गले सञ्चालनमा ल्याउने बताए । अघिल्लो कार्यपालिकाबाट सो स्थानलाई बाल उद्यानको परिकल्पना गरिने भन्नेबारे निर्णय नै भइसकेकोले अब सोही अनुरूप अगाडि बढ्ने उनले जनाए । भद्रपुरका जनप्रतिनिधिहरूलाई समेत जानकारी नदिई सालिक राख्न खोज्दा सर्वदलीय बैठकमार्फत् निर्णय गरी रोक्नुपरेको उनको भनाइ छ । विधि र प्रक्रियाबाट आउनु पर्ने उनको भनाइ थियो । ‘जसलाई मन लाग्यो, उसैले सालिक राख्ने हो भने के होला ?–उनले प्रतिप्रश्न गरे ।
फूलको बगैंचा हुर्काउन, हेरचाह गर्न र बाल उद्यानको रुपमा विकास गर्न नगरपालिकाले लाखौं रुपैयाँ खर्च गरिसकेको पाइएको छ । लोकतन्त्र प्राप्तिको निम्ति ०६२/६३ मा दुई जना व्यक्तिले साहादत प्राप्त गरेको हुँदा सो पार्कलाई लोकतान्त्रिक स्मृति पार्क नामकरण गर्न उचित हुने जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेलले बताए । तत्कालीन दलहरूबीच नामकरणबारे सहमति भए पनि कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । पार्क भद्रपुर नगरपालिकाको स्वामित्वमा भएकोले नगरले नै टुङ्गो लगाउनु पर्ने उनको धारणा थियो ।
भद्रपुर नगरपालिका वडा नं. ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिबाट पूर्व, मेची रङ्गशालादेखि उत्तर, जिल्ला प्रहरी कार्यालयबाट पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई का दश धुर जग्गामा फैलिएको महेन्द्र पार्क वि.सं २०४६ साल अघिसम्म झापाकै सबैभन्दा धेरै पर्यटक आउने पार्कको रूपमा चिनिन्थ्यो । तर, २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई बन्द गरियो । वि.सं.२०६२ सालको दोस्रो जनआन्दोलनमा पार्क भौतिक रूपमै राजनीतिक द्वन्द्वको निशाना बन्यो । आन्दोलनकारीहरूले पार्कको मध्यभागमा ठडिएको राजा महेन्द्रको मूर्ति तोडफोड गरे । मूर्ति मात्र होइन, त्यहाँ राखिएका सबै शिलालेख भत्काइदिए ।
वि.सं. २०४६ मा पञ्चायतको अन्त्य भएपछि यो पार्कलाई सहिद पार्क बनाउनु पर्ने आवाज उठेको थियो । त्यसबेला झापाका सहिद राम थापाको सालिक राखेर सहिद पार्क बनाइने चर्चा चलेको थियो तर, नामकरण गर्नेतर्फ कसैले कदम चालेन भने पार्कको तालासमेत कसैले खोलेन ।
वि.सं. २०६२/६३ को जनआन्दोलनका क्रममा झापाबाट सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरे । उनीहरूको सालिक राखेर सहिद पार्क नामकरण गरिनु पर्ने फेरि आवाज उठ्यो । वि.सं २०६३ मा संयुक्त जनआन्दोलन समिति झापाले सहिद पार्क नामकरण गरी विश्वास र गिरीको सालिक राख्ने निर्णय गरेको थियो । राजा महेन्द्रको मूर्ति र शिलालेखका सबै अक्षर नष्ट गरिएकाले अब यो ‘महेन्द्र पार्क’ जस्तो पनि रहेन । सहीदको स्मरण गराउने कुनै निशानी पनि राखिएको छैन । पार्कमा बालबालिकाले खेल्ने चारवटा चिप्लेटी, पाँच वटा पिङ, चारवटा चाकाचुली, आठ वटा फलैँचा र दुई वटा पानीबाट ओतिने पक्की टहरा नगरपालिकाले निर्माण गरेको छ । हरेक बिहान साढे ६ बजे खुल्ने यो पार्क १० बजे बन्द हुन्छ र दिउँसो २ बजे फेरि खुलेर साँझ साढे ७ बजे बन्द हुने गरेको छ ।