विराटनगर । शैक्षिक क्षेत्रको ‘हब’ को रूपमा विकास भइरहेको विराटनगरमा दर्ता विनाको ‘एजुकेसन कन्सल्टेन्सीहरू’ छ्यापछ्याप्ती रहेको पाइएको छ ।

स्वदेश तथा विदेशस्थित शिक्षण संस्थामा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि खोलिएका कन्सल्टेन्सीहरू विराटनगरमा दर्ताविनै सञ्चालनमा रहेको पाइएको हो ।

शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले विराटनगरमा गरेको अनुगमनको क्रममा ४२ वटा एजुकेसन कन्सल्टेन्सी रहेकोमा ९ वटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको छ । शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाकी अधिकृत लक्ष्मी भण्डारी एजुकेसन कन्सल्टेन्सीहरूको अनुगमन गर्न विराटनगर आएकी छन् । अनुगमनको क्रममा ९ वटा कन्सल्टेन्सीमात्र मन्त्रालयमा स्वीकृति लिएर सञ्चालनमा रहेको पाइएको उनले बताइन् । उनले केही कन्सल्टेन्सीहरू स्वीकृतिको लागि प्रक्रियामा रहेको जानकारी दिइन् ।

‘विराटनगरमा धेरै एजुकेसन कन्सल्टेन्सीहरू रहेछन् । त्यसमध्ये ९ वटा मात्र स्वीकृति लिएर सञ्चालनमा रहेको पाइयो । त्यसमध्ये पनि तीनवटा कन्सल्टेन्सी बन्द भएका रहेछन् ।’ बेन्चमार्क, लिङ्कन र ग्रेजुयट कोच एकजुकेसन कन्सल्टेन्सी बन्द भएको पाइएको उनले बताइन् । ‘स्वीकृति लिएर सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाको अनुगमन गरेपछि उनीहरूको अवस्था र वस्तुस्थिति बुझेका छौं’ उनले भनिन्, ‘अनुगमन गरिसकेपछि प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउनेछौं ।’

दर्ता प्रक्रियामा रहेका शैक्षिक परामर्शको अभिलेखीकरण गर्नेदेखि दर्ता प्रक्रियामा सामेल नभएका शैक्षिक परामर्श संस्थालाई कारबाहीको लागि सिफारिस गर्ने उनले बताइन् । कतिपय शैक्षिक परामर्श संस्था झोलामा रहेको पाइएको छ । उनीहरूको संस्थाको नाम हुन्छ, तर कार्यालय नभएको पाइएको छ । यस्ता कन्सल्टेन्सीहरूबाट अभिभावक र विद्यार्थीहरू ठगीमा पर्ने गरेका छन् । ‘स्वीकृतिको प्रक्रियामा नरहेका शैक्षिक परामर्श संस्थाहरूको अनुगमन गरेपछि कारबाहीको लागि सिफारिस गरिनेछ’ उनले भनिन्, ‘अहिले दर्ता प्रक्रियामा सहभागी नभएका एजुकेसन कन्सल्टेन्सीहरूको नाम सङ्कलन पनि गरिरहेका छौं ।’

स्वीकृति पाएर विराटनगरमा सञ्चालनमा रहेका अपूर्व(अल्फाबिटा), एडुमार्क, गुरुकुल, एनआइसी, डाइनामिक, एचीभर्स एकजुकेसन कन्सल्टेन्सी सञ्चालनमा रहेका छन् ।

ठूलो धनराशि खर्चिएर अभिभावकले वैदेशिक शिक्षा हासिल गर्न पठाउने क्रममा स्वीकृति नलिएका शैक्षिक परामर्श संस्थाहरूबाट आफूलाई जोगाउनुपर्ने अवस्था रहेको छ । यस्ता स्वीकृत नभएका संस्थालाई कानूनी दायरामा ल्याउन प्रदेश, स्थानीय सरकार र प्रशासन लागिपर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।स्वीकृत नभएकामध्ये भारत पठाउने शैक्षिक परामर्श संस्थाहरू विराटनगरमा बढी रहेका छन् ।

जसमध्ये शिक्षा मन्त्रालयको स्वीकृतिविना विराटनगरमा सञ्चालित शिक्षा फाउण्डेसन, विराट मिथिला, रोय इन्टरनेसनल, साइरस, पार्थ आश्रम, विराट आइओइ (गामा), कान्तिपुर, विराट डब्लुआरसी, रनकिट, प्रजल, बिआइएमसी, विराट एजुकेसन, इनलाइट एजुकेसन कन्सल्टेन्सी रहेका छन् । यी कन्सल्टेन्सीले सम्पर्कमा आएका विद्यार्थीहरूबाट मोटो रकम लिएर विदेश पठाउने गरेका छन् । दर्ताविनाका कतिपय कन्सल्टेन्सीहरूले विद्यार्थीसँग अग्रिम नगद भुक्तानी लिने र विद्यार्थीलाई बिचल्लीमा पार्ने गरेको गुनासो अभिभावकहरूले गरेका छन् ।

दर्ताविना सञ्चालन गर्नेलाई ठगीमा कारबाही हुन्छ: प्रजिअ
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शिक्षा मन्त्रालयको स्वीकृतिविना शैक्षिक परामर्श सङ्घ–संस्थाहरू सञ्चालन गर्न नपाइने बताएका छन् ।

शिक्षा मन्त्रालयबाट स्वीकृति नलिई सञ्चालन गरेको पाइएमा त्यस्ता संस्थालाई ठगी मुद्दामा कारबाहीको प्रक्रियाअगाडि बढाउने उनले बताए । ‘यसरी स्वीकृतिविना सञ्चालन गरेको पाइएको खण्डमा प्रशासनमा कसैले उजुरी दिए, हामी त्यस्ता संस्थालाई ठगी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौं’–प्रजिअ दाहालले भने ।