विजयपुर । धरानको पर्यटन प्रवद्र्धनका लागि विगतदेखि नै रात्रिकालीन बजार लगाउनुपर्ने आवाज उठ्दै आएको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा रात्रिकालीन बजार चुनावी मुद्दा नै बन्यो । तर, धरान बजारमा रात्रिकालीन बजारका  लागि आवश्यक न्यूनतम् मापदण्ड नै पुरा हुने अवश्था  पाइदैन ।

चुनावका बेला धरान–१० को वडाध्यक्षका उमेदवार विवेक राईले १० नम्बर वडाको पुतली लाइनलाई रात्रिकालिन बजारको रुपमा विकास गर्ने घोषणा गरेका थिए । राई वडाअध्यक्षमा निर्वाचित भएपछि हाल रात्रिकालीन बजार लगाउने तयारी भइरहेको प्रतिक्रिया दिएका छन् । उनले व्यवसायीको मागका आधारमा घोषणा–पत्रमा उल्लेख गरे पनि रात्रिकालीन बजारका लागि आवश्यक मापदण्डका विषयमा ध्यान दिएका छैनन् ।

हाल रात्रिकालीन बजार सञ्चालन गरेपछि पर्यटक पनि आउने उनकोे भनाइ छ । तर, रात्रिकालीन बजारका लागि यति मात्रै भएर नपुग्ने उनी बताउँछन् ।

यस्तै धरान–१८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले पनि निर्वाचनमा रात्रिकालीन बजारको पहल गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राईले रात्रिकालिन बजारका लागि ड्राफ्ट गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘स्रोत व्यवस्थापन र ड्राफ्टको काम भइरहेको छ ।’ उनले रात्रिकालीन बजारका लागि मुख्य चुनौती शान्ति सुरक्षा रहेको बताए । सुरक्षाको प्रबन्ध मिलाएर नै रात्रिकालीन बजार लगाउने उनको भनाइ छ ।

सुनसरीका सहायक प्रमुख  जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार रात्रिकालीन बजार हचुवाका भरमा लगाउन मिल्दैन । त्यसका लागि विभिन्न मापदण्डहरू पूरा गर्नुपर्दछ । मापदण्ड पूरा गरे पनि सुरक्षाका दृष्टिकोणले रात्रिकालीन बजार लगाउन चुनौती रहेको उनले बताए ।

रात्रिकालीन बजारका लागि पेशाकर्मीको सुरक्षा र व्यवस्थापन गर्ने जिम्मेवारी व्यवसायीले लिनुपर्ने हुन्छ । कामदारलाई पदअनुसारको पोसाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको व्यवस्था अनिवार्य गर्नु पर्दछ । ग्राहकहरूले पनि घरसम्म पु¥याउन अनुरोध गरेमा पु¥याउने व्यवस्था मिलाउनु पर्ने व्यवस्था रहेको छ ।

कुनै पनि आपराधिक कार्य गरेर भाग्न नपाउने किसिमको कम्पाउण्ड लगाउनु पर्ने व्यवस्था, सिसी क्यामेराको व्यवस्था, लाइट र नेपाल सरकारले तोकेको पारिश्रमिक दिनु पर्ने व्यवस्था गर्नु पर्दछ । डान्स बार तथा नृत्य मनोरञ्जन हुने स्थानमा अश्लीलता प्रदर्शन नहुने गरी नृत्य गर्न सकिने पनि व्यवस्था रहेको छ । नगद भुक्तानीभन्दा विद्युतीय प्रणाली वा कार्डद्वारा गरिने भुक्तानीलाई प्राथमिकता दिनु पर्नेछ । साथै १८ वर्ष उमेर नपुगेका ग्राहकहरूलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था रहेको छ ।

त्यस्तै डान्स रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउण्ज बार, पब, क्लब र डिस्कोथेक जस्ता व्यवसायमा १८ वर्ष मुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश दिन पनि नपाइने व्यवस्था रहेको छ । व्यवसायीहरूले निर्धारित मूल्य सूचीभन्दा बढी मूल्य लिन नपाउने व्यवस्था रहेको छ । ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि व्यवसायीले अनिवार्य रूपमा साउन्ड कन्ट्रोल सिस्टम व्यवस्था गर्नु पर्दछ । व्यवसायको परिसरभित्र अनि आगमन र प्रस्थान हुँदाको नजिकको क्षेत्रसम्म बत्तीको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको छ ।

सुरक्षाका लागि सीसीटीभीबाट निगरानी गर्ने र कम्तीमा ३० दिनको रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने हुन्छ । तर धरानमा यी मापदण्ड अनुसार व्यवसायीहरुले व्यवस्था गरेका छैनन् । व्यवस्था नभएपछि रात्रिकालीन बजार सञ्चालनमा चुनौती थपिने जानकारहरू बताउँछन् ।  व्यवसायीहरू पनि रात्रिकालीन बजार लगाउनका लागि आवश्यक मापदण्ड नभएको स्वीकार गर्दै व्यवस्थापन गर्न सकिने बताउँछन् ।

धरान–१० मा पे्रmण्ड्स ग्रार्डेन होटल सञ्चालक सुमन श्रेष्ठले रात्रिकालीन बजारका लागि आवश्यक मापदण्ड नभए पनि होटल व्यवसायीले पूरा गर्न सक्ने बताए । उनले भने, ‘प्रायः होटल तथा बजारमा रात्रिकालीन बजारका लागि आवश्यक मापदण्ड छैन तर, पूरा गर्न सकिन्छ ।’ आँगन होटल एण्ड लजका सञ्चालक सुसान तुलाधारले पनि रात्रिकालीन बजारको मापदण्ड पूर्ण नभएको बताए । उनले भने, ‘धरानमा रात्रिकालीन बजार लागे व्यापार वृद्धि हुन्छ । सबै व्यवसायीले मापदण्ड पूरा गर्छन् ।’

पर्यटन व्यवसायी वासु बराल पनि धरानको पर्यटन व्यवसायका लागि रात्रिकालीन बजार अनिवार्य भएको बताउँछन् । उनले वडाध्यक्षहरूको रात्रिकालीन बजार राम्रो अवधारणा भएको बताए । उनले भने, पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन बजार अनिवार्य हो ।’ उनले टाढाबाट आउने पर्यटकहरू काठमाडौँ, पोखराजस्तै सम्झेर आउने बताए । राधिकालीन बजार नहुँदा समस्यामा पर्छन् । उनले भने, ‘दिनभर गाडी चलाएर आउँछ, १०–१२ बजेसम्म रमाउँछ, खान्छ, खरिद गर्छ ।’

उनले धरान आसपासबाहेकबाट आउने पर्यटकहरू समस्यामा पर्ने गरेको बताए । उनले भने, ‘सौराहाबाट राति आए । १० बजे प्रहरीले धरान बजार बन्द गरायो । उनीहरू समस्यामा परे ।’ उनले रात्रिकालीन बजार लाग्दा स्थानीयलाई समस्या हुने बताउँदै भने, ‘समाजलाई सम्झाउनु पर्छ ।’

धरानको आन्तरिक आम्दानी वृद्धि गर्नका लागि भानुचोकमा सन्ध्याकालीन बजार लगाउन कार्यपालिका बैठकमा नै माग पनि भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी माझी सबै मापदण्ड पूरा भएमा पनि सुरक्षाका कारणले सञ्चालन गर्न नसकिने बताउँछन् । ‘स्थानीय तहको धारणा आएपछि सुरक्षा दिन सक्ने नसक्ने विषयमा छलफल गर्छौं’ उनले भने, ‘क्षमताअनुसार सबै मापदण्ड पूरा गरेपछि नगरले निर्णय गर्नुपर्छ । वडाले मात्रै चाहेर रात्रिकालीन बजार  हुँदैन ।’