सङ्खुवासभा । सङ्खुवासभाको अरुण तेस्रोमा कार्यरत कैलालीका मजदुरको मृत्युको विषयमा परिवारलाई अत्तोपत्तो नदिएपछि पीडित परिवार नै निर्माणाधीन क्षेत्रमा आइपुगेका छन् ।

चार दिनअगाडि नै मृत्यु भएको भए पनि जानकारी नदिएपछि पतिको खोजीमा पत्नी सङ्खुवासभाको निर्माणाधीन क्षेत्र मकालु गाउँपालिकामा आइपुगेकी हुन् । अरुण तेस्रोको ड्याम साइट मकालु–५ फ्याक्सिन्दामा कामदारको चार दिनअघि शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो शव फेला परेको हो । शव हालसम्म परिवारले बुझेका छैनन् ।

परिवारले मृत्युलाई लिएर छानबिनको माग गरेका छन् । कैलालीको लक्कीचुवा नगरपालिका–३ चिसापानीकी कमला महतरा पतिको खोजीमा आफन्तसहित सङ्खुवासभा आइपुगेकी छन् । आफन्तलाई जानकारी नदिई शव उठाएकोले घटना रहस्यमय भएको उनको भनाइ छ । गत जेठ १२ गते काम गर्नका लागि ५० वर्षीय अमरबहादुर महतरा अरुण तेस्रोको ड्यामसाइटमा आइपुगेका थिए । उनी जेठ २८ गते मृत अवस्थामा भेटिएका थिए । हाल उनको शव अस्पतालमा राखिएको छ ।

निर्माण पक्षले माग गरे अनुरूपको क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतकका भाइ दिलबहादुर महतराले बताए । उनले श्रमिकको मृत्यु हुँदासम्म कम्पनी जिम्मेवार नभएको  बताए । कम्पनीका तर्फबाट क्षतिपूर्ति नदिने भनिएपछि शव अस्पतालमै राखिएको हो ।

कम्पनीले बिदाको समयमा कार्य क्षेत्रभन्दा बाहिर भएको घटना भन्दै पन्छिएको उनीहरूको दाबी छ । पत्नी कमलासहित पीडित परिवारले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा क्षतिपूर्तिको माग गर्दै लिखित निवेदन दिई घटनाबारे छानबिनको माग गरेका छन् । अरुण तेस्रो निर्माण पक्षले आलटाल गरेर शव बुझ्न दबाव दिने गरेको उनीहरूले सञ्चारकर्मीलाई बताए ।

फोन गरेर शव लैजान भन्दै पटक–पटक दबाव दिएको उनीहरूको भनाइ छ । उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने भन्दै पीडित परिवार प्रहरी प्रशासन धाउन थालेको छ । घरैबाट कामदारको रूपमा निर्माण कम्पनीले ल्याएको उनकी श्रीमतीले बताइन् । जबरजस्ती तरिकाले गाडीभाडासमेत लगाएर ठेकेदार कम्पनीका बालेन्द्र शाही नामका व्यक्तिले ल्याएको उनको दाबी छ । मृतकको एक छोरा छन् ।

यता निर्माण पक्षको तर्फबाट मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । सो आयोजनाका कामदार बिदाको समयमा कार्यक्षेत्रभन्दा बाहिर भएकोले बिमा बापतको रकम नभए पनि उचित क्षतिपूर्ति दिलाउन प्रयास गर्ने प्रजिअ खतिवडाको भनाइ छ । अरुण तेस्रोमा समय समयमा हुने दुर्घटनाबाट ज्यान गुमाएकाहरूको क्षतिपूर्तिका लागि भन्दै पटक–पटक आन्दोलन हुने गरेको छ ।

निर्माण पक्षले कामदारको मृत्युमा सहजरूपमा क्षतिपूर्ति नदिने गरेकोले आन्दोलन हुने गरेको हो । आन्दोलनका कारण विगतमा करोडौंको क्षतिसमेत भइसकेको छ । गतवर्षकै जेठमा सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना  घाइते भएका थिए ।

पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनियरिङ लिमिटेडले उक्त समयमा उचित क्षतिपूर्ति नदिएको भन्दै आन्दोलन र तोडफोडसमेत भएको थियो । उक्त समयमा मृतकका परिवारलाई आयोजनाले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।

कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाले २०२२ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।